Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३१ हजार नाघे कोरोना संक्रमित

३१ हजार नाघे कोरोना संक्रमित


काठमाडौं, भदौ ७
शनिबारबाट नेपालको कोरोना संक्रमितको संख्या ३१ हजार नाघेको छ । संक्रमितमध्ये एक सय ४६ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म ३१ हजार एक सय १७ जनामा कोरोना देखिएको छ । तीमध्ये शनिबार काठमाडौं उपत्यकामा मात्रै दुई सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा एक सय ८२ जना कोरोना संक्रमित थपिएका थिए । थपिएकामध्ये काठमाडौँका एक सय ४२, ललितपुरका २५ र भक्तपुरका १५ जना थिए । बिहीबार भने उपत्यकामा एक सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कुल संक्रमितमध्ये १२ हजार छ सय २१ जना उपचार गराइरहेका छन् । बाँकी १८ हजार तीन सय ५० जना निको भएर घर फर्किएका छन् । एक सय ४६ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा छ सय ३४ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार पाँच सय १९ जनाको परीक्षण गर्न उक्त संख्या देखिएको हो । काठमाडौंमा देखिएका एक सय १६ जना संक्रमितमध्ये काठमाडौंमा एक सय ६० जना, ललितपुरमा छ जनार भक्तपुरमा ५० जनामा कोरोना पुष्टि भएको हो ।

शनिबारेको रिपोर्टअनुसार पर्सामा ५९ जना, मोरङमा ५२ जना, सिराहामा ३५ जना, मकवानपुरमा ३२ जना, सुनसरीमा ३१ जना, बाँकेकमा २८ जना, चितवनमा २७ जना, रुपन्देहीका २३ जना, झापाका १७ जना, कास्कीका १६ जना, कपिलवस्तुका १५ जना, कैलालीका १४ जना, बाराका १० जना, बर्दियाका सात जना, सल्यानका छ जना, दोलखाका चार जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर, नवलपरासीका तीन/तीन जनामा कोरोना देखिएको छ । त्यस्तै, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका दुई/दुई जनामा कोरोना देखिएको छ । त्यस्तै, इलाम, संखुवासभा, महोत्तरी, सर्लाली, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना रोकथाम र उपचारमा १२ अर्ब खर्च : कोभिड–१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी १२ अर्ब रुपैयाँ खर्च भएको छ । मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै गत साउन मसान्तसम्म तीनै तहबाट ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको जानकारी दिएका हुन् ।

उक्त खर्चअन्तर्गत औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन र अन्य शीर्षकमा चार अर्ब ८१ करोड नौ लाख ९८ हजार खर्च भएको छ । सङ्घीय सञ्चित कोषबाट विभिन्न मन्त्रालयबाट हालसम्म पाँच अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारका तर्फबाट एक अर्ब ४९ करोड ७० लाख ४५ हजार र स्थानीय तहबाट एक अर्ब ३५ करोड २० लाख ५९ हजार स्रोत व्यवस्थापन भएको छ । केन्द्र सरकारको कोरोना रोकथाम र उपचार कोषमा हालसम्म दुई अर्ब ७५ करोड जम्मा भएको छ ।

कोरोनाको उपचार नगर्ने निजी अस्पताललाई कारबाही : कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालनमा असहयोग र बाधा विरोध गर्ने निजी अस्पताललाई सरकारले कारबाही गर्ने भएको छ । निजी क्षेत्रका अस्पतालहरूले आफूलाई सुविधा हुने उपचार र सेवा दिने र असुविधा हुने सेवा दिन्न भन्दै विरोध गरिरहेकै बेला विहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपचार गर्दिन भनेर विरोध गर्ने र असहयोग गर्ने सबैलाई कारबाही गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को उक्त दिनको बैठक कोरोना रोकथाम र उपचारका मात्रै केन्द्रित थियो ।

सरकारले लक्षण नभएका वा सामान्य लक्षण भई आफ्नै घरमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य मापदण्ड पालनाको सुनिश्चित गराई होम आइसोलेशनमा बस्न अनुमति दिने र बस्ने अवस्था नरहेमा त्यस्ता व्यक्तिलाई आइसोशलेन सेन्टरमा राख्ने निर्णय गरेको छ । लक्षण भएका व्यक्तिलाई मात्र कोभिड –१९ को डेडिकेटेड अस्पतालमा उपचारको व्यवस्था मिलाउने र उपचारका लागि आवश्यक भेन्टिलेटर, आइसियु, अक्सिजन, औषधिलगायत स्वास्थ्य उपकरण, सामग्री वा जनशक्तिको आवश्यक प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्ने निर्णयमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकतानुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा छ हजार शय्याको आइसोलेशन स्थल प्रबन्ध गर्ने र यसलाई आवश्यकतानुसार थप्दै काठमाडौँ उपत्यकाबाहेक अन्य जिल्लामा प्रदेश सरकारले प्रबन्ध गरिने जनाएकोछ । आइसोलेशन स्थलको सुरक्षा नेपाली सेनाले गर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x