Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचार क्षेत्रमा सहयोग गर्न विश्व बैंकलाई नेपालको आग्रह

चार क्षेत्रमा सहयोग गर्न विश्व बैंकलाई नेपालको आग्रह


काठमाडौं, भदौ ७
नेपालले विश्व बैंकसमक्ष चारवटा क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ । विश्व बैंकका उपाध्यक्ष हार्टबिग सेफरसँग भएको छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त आग्रह गरेका हुन् । शुक्रबार अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकका उपाध्यक्ष सेफरसँग वर्तमान आर्थिक अवस्था र कोभिड–१९ ले पारेको प्रभावका विषयमा श्रव्यदृश्य (भर्चुअल) छलफल गरेका थिए ।

नेपालले विश्व बैंकसमक्ष स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यावसायिक निरन्तरता एवम रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा थप सहयोग चाहिएको बताएको हो । ती चार क्षेत्रमा पर्याप्त लगानी भएमा मात्र कोभिड–१९ को थिलोथिलो बनेको नेपालको अर्थतन्त्र उकास्न सकिनेछ । ती चारवटा क्षेत्रमा आवश्यक स्रोत व्यवस्थापन नेपालको लागि सबैभन्दा ठूलो चुनौती रहेको नेपालको ठहर छ ।

अर्थमन्त्रीले विषम परिस्थितिमा पनि विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनामा प्रगति राम्रो रहेको र नेपालको कार्यसम्पादन उत्कृष्ट हुनुले द्विपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । वित्तीय दबाबका बाबजुद नेपालले विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैंक समूहबीच लामो समयदेखि रहेको सम्बन्धलाई जीवन्त राखेको छ ।

अर्थमन्त्रीले स्वास्थ्य र आर्थिक पुनरुत्थान सँगसँगै लैजानुपर्नेमा जोड दिँदै नगद कोष व्यवस्थापनमा विश्व बैंकको बजेट सहायताले समेत सघाउ पु-याएको र नीतिगत सुधारमा समेत विश्व बैंकको अनुभव र ज्ञान लाभदायी भएको जानकारी गराएका थिए । अर्थमन्त्रीले विश्व बैंकसँग हालै सम्झौता भएको रणनीतिक सडक आयोजना हालसम्मकै ठूलो एकल आयोजना रहेको र गत वर्ष सो लगायत अन्य महत्वपूर्ण आयोजना सम्झौता भई करिब १ अर्ब डलर थप प्रतिबद्धता प्राप्त भएको छ ।

विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्वनिर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एसियाली क्षेत्रमै उत्कृष्ट भएकामा धन्यवाद दिएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उपाध्यक्ष सेफरले नेपालको सार्वजनिक ऋण व्यवस्थापनको साथै समष्टिगत आर्थिक अवस्था पनि राम्रो रहेकोले कोभिड–१९ को प्रभाव कम हुनेबित्तिकै नेपालको अर्थतन्त्र आफ्नो लयमा फर्किने विश्वास व्यक्त गरेका थिए । छलफलमा विश्व बैंकका देशीय निर्देशक फारिश हदाद जेरभोस, अप्रेसन म्यानेजर लाडा स्ट्रोलकोभालगायतका अन्य अधिकारी पनि थिए ।

छलफलमा अर्थमन्त्री खतिवडाले कोभिड–१९ को प्रतिकूलताका बाबजुद मुद्रास्फीति छ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलरमा एक दशमलव छ अर्बभन्दा बढी रहेको र सरकारको सञ्चित खाता घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेकाले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको बताएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x