Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैैकिङ क्षेत्रमा अन्तरबैंक कारोबार घट्यो

बैैकिङ क्षेत्रमा अन्तरबैंक कारोबार घट्यो


काठमाडौं, भदौ ८
बैकिङ क्षेत्रमा पछिल्लो समय अन्तरबैंक कारोबार रकममा आंशिकरूपमा कमी आएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस र यसको नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनको कारण बैंकिङ क्षेत्रमा आउने सेवाग्राहीको चाप घटेसँगै अन्तरबैंक कारोबार रकममा पनि कमी आएको हो ।

सरकारले कोभिड १९ को नियन्त्रणको लागि भन्दै चैत ११ गतेदेखि देशव्यापीरूपमा एक सय २० दिन लकडाउन गरेको र अहिले पनि घोषित तथा अघोषितरूपमा त्यो कायम नै रहेको हुँदा बैंकमा सेवाग्राहीको चाप निकै नै कम रहेको छ । सोही कारण पनि बैंक तथा वित्तीय संंस्थाहरूबीच एकआपसमा हुुने पारस्परिक कारोबार अर्थात् अन्तरबैंक कारोबार रकममा कमी आएको हो ।

राष्ट्र बैंकका अनुसारबैंक तथा फाइनान्स कम्पनीहरूले गत आर्थिक वर्षको ११ महिहनामा १६ खर्ब रुपैयाँभन्दा बढीको अन्तरबैंक कारोबार गरेका छन् । आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले मात्र १४ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यस अवधिमा सञ्चालनमा रहेका क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी २१ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरूले एक खर्ब २१ अर्ब ४२ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरूले १७ खर्ब रुपैयाँभन्दा बढीको अन्तरबैंक कारोबार गरेका थिए । उक्त अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाले क्रमशः १५ खर्ब ५४ अर्ब ६५ करोड र एक खर्ब ९४ अर्ब ८५ करोडको यस्तो कारोबार गरेका थिए । सोही आधारमा २०७६ जेठमा ९१दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर पाँच दशमलव ५ प्रतिशत रहेकोमा २०७७ जेठमा दुुई दशमलव ८१ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७६ जेठको छ दशमलव ९१ प्रतिशतको तुलनामा २०७७ जेठमा दुुई दशमलव ८० प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरूको औसत आधार दर २०७६ जेठको नौ दशमलव ४८ प्रतिशतको तुलनामा २०७७ जेठमा आठ दशमलव ६६ प्रतिशत कायम भएको छ । २०७७ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव १७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १० दशमलव ४३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरू क्रमशः छ दशमलव ६४ प्रतिशत र १२ दशमलव २० प्रतिशत रहेका थिए ।

आज चार अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक : नेपाल राष्ट्र बैंकले आज सोमबार चार अर्ब २३ करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति भदौ ९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको दुुई अर्ब २३ करोड ३२ लाख र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।

सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ मंसिर नौ गते रहेको छ भने तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ भदौ आठ गते तोकिएको छ । यसअघि यही भदौ दुुई गतेपनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको दुई अर्ब रुपैयाँ समेत गरी कुल सात अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x