Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउत्तरतर्फको एकतर्फी व्यापार पहिरोले थप असहज

उत्तरतर्फको एकतर्फी व्यापार पहिरोले थप असहज


प्रवीण राउत
काठमाडौं, भदौ ८
उत्तरतर्फको छिमेकी मुलुक चीनसँगको व्यापार एकतर्फी रूपमा सञ्चालन हुँदै आएको छ अर्थात् आयातमुखी मात्र रहेको छ । कोभिडको कारण आयातमा मात्र सीमित बनेको उत्तरतर्फको व्यापार पछिल्लो समय बाढीपहिरोका कारण एकतर्फी बनेको भन्सार विभागले जनाएको छ ।
चीनबाट आयात मात्रै हुँदै आएको र नेपालबाट निर्यात नभएको हुँदा चीनसँगको व्यापार एकतर्फी बन्न पुगेको हो भने पछिल्लो समय रसुवागढी केरुङ नाका र तातोपानी नाका पहिरोका कारण सञ्चालन हुन नसक्दा थप समस्या भएको तातापानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

‘असारको अन्तिम सातादेखि नेपालतर्फ गएको बाढीपहिरोका कारण मालवाहक ट्रकलगायत अन्य सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।’ उनले भने, ‘चीनतर्फको भू–भागमा समेत पहिरोका कारण बाटो अवरुद्ध हुँदा सामान आयात गर्ने स्थिति रहेको छैन । जसले गर्दा व्यवसायीहरूले चीनबाट सामग्री आयात गर्न सकेका छैनन् । दैनिक दुई/चारवटा सामान लिई ट्रक आउने गरेकोमा बाटो अवरुद्ध भएसँगै सामान आयात ठप्प भएको हो, उनले भने, ‘करिब असार अन्तिम सातादेखि तातोपानी, बाह्रबीसेलगायत सबै ठाउँको सडकमा क्षति पुगेको छ । जसले गर्दा नाकामा भएका सामग्री समेत काठमाडौँ आउन सकेका छैनन् ।

नेपाल हिमालय सीमापार वाणिज्य संघले पनि बाढीपहिरोकै कारण चीनबाट सामान ढुवानी गर्न नसकेको बताएको छ । संघका अनुसार चिनियाँ पक्षले सामान पठाउन नसक्ने जानकारी दिएसँगै आयात बन्द हुनपुगेको बताएको छ । त्यसैगरी रसुवा नाकाबाट समेत मालवाहक ट्रक आउन नसकेको रसुवा भन्सार कार्यालय, टिमुरेले जनाएको छ । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले पहिरोको कारण रसुवागढी केरुङ नाका पूर्णरूपमा अवरुद्ध हुँदा करोडौँका सामान चिनियाँ भू–भागामा अलपत्र हुनपुगको बताए ।

यसरी निर्यात र विशेषगरी हाल आयात समेत ठप्प हुँदा राजस्व संकलनमा असर पुग्ने दुवै जना कार्यालय प्रमुखहरूले बताएका छन् । कोभिडका कारण व्यापारमा परेको असर बाढीपहिरोले थप गरेको उनीहरूको भनाइ छ । साउनमा भने लक्ष्यभन्दा बढी नै राजस्व संकलन गरेको खत्रीले बताए । हामीले संशोधितसहित तीन करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा करिब तीन करोड ६० लाख राजस्व संकलन गर्न सफल भएका छौँ, उनले भने, तर भदौ महिनमा भने लक्ष्य प्राप्त गर्नेभन्दा पनि कति राजस्व उठ्ला भन्ने प्रश्न हामीसामु रहेको छ, जसको कारण भनेको पहिरो नै हो ।

साउनको अन्तिममा मात्र समस्या भएको हो । त्यसकारण संशोधित लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको खत्रीको भनाइ रहेको छ । यसैबीच तातोपानी कार्यालयले भदौमा २० देखि २५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । सामान्य अवस्थामा व्यवसायीहरूले वीरगञ्ज नाकाबाट ल्याउने सामग्री समेत तातोपानी नाकाबाट ल्याउनेगरेकोमा हाल भने सो सम्भव नभएको उनले बताए । यसैबीच पहिरो पन्छाउने कार्य भने भइरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।

त्यसैगरी रसुवा कार्यालयले भने साउन महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । ‘संशोधित लक्ष्य ४८ करोड रुपैयाँ रहेकोमा करिब साढे २३ करोड रुपैयाँ राजस्व संकलन गरेका छौँ ।’, प्रमुख खड्काले भने, ‘कोभिड र पहिरोको कारण नै राजस्व संकलनमा कमी आएको हो ।’

रसुवाले चालू आर्थिक वर्ष २०७७/७८ मा ११ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । कोभिड, पहिरोलगायतका कारणले गर्दा भने राजस्व संकलन लक्ष्यअनुरूप हुने/नहुने विषयमा भने सबैतिर द्वविधा रहेको पाइन्छ । नेपाली पक्षको पहलमा नै चिनियाँ पक्षले चीनतर्फका नाका सञ्चालनमा ल्याएका थिए भने नेपाली नाका भने खुल्ला रहेको थियो । नेपाल र चीनका सुरक्षाकर्मीले अति आवश्यक औषधिजन्य सामग्री र खाद्यान्न ल्याउनको लागि नाका सञ्चालनमा ल्याउन यसअघि सहमति गरेका हुन् । तर व्यवसायीहरूले औषधि र खाद्यान्नभन्दा पनि स्याउ, लसुन, प्याजलगायतका सामग्री आयात गर्दै आएका छन् ।

सामान्य अवस्थामा उत्तरतर्फको नाकाबाट विशेषगरी कृषिजन्य स्याउ, लसुन, प्याजलगायतका सामग्रीहरू ठूलो परिमाणमा आयात गर्नेगरेको पाइन्छ भने पछिल्लो समय भने मास्क, स्यानिटाइजरलगायतका औषधिजन्य सामग्री व्यवसायीहरूले आयात गरेको पाइन्छ । यसरी उत्तरतर्फको दुवै नाका बन्द हुँदा व्यापारमा समेत असर पर्ने देखिन्छ । नाकामा रहेका सामग्री समेत काठामडौंलगायतका बजारमा ल्याउन सकिएको छैन भने अर्कोतर्फ मुलुकमा पुनः लकडाउन भएको हुँदा व्यापार गर्ने अवस्थासमेत रहेको पाइँदैन । यति हुँदाहुँदै पनि अत्यावश्यक सामग्रीहरूको व्यापार भने भइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x