Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन वर्षमा दर्जनौँ क्षेत्रमा परिवर्तन र विकास

तीन वर्षमा दर्जनौँ क्षेत्रमा परिवर्तन र विकास


पोसकान्त पोखरेल
बुटवल, भदौ ९
जननिर्वाचित प्रतिनिधि पाएसँगै सामान्यरूपमा रहेको रूपन्देहीको शुद्धोधन गाउँपालिकाले दर्जनौँ क्षेत्रहरूमा परिवर्तन र विकास गर्न सफल भएको छ । कर्मचारी र जनप्रतिनिधिको राम्रो सम्बन्ध रहेको गाउँपालिकाले पछिल्ला तीन वर्षमा देखिने तथा नदेखिने धेरै क्षेत्रहरूको विकासमा उलेख्य कार्यसम्पादन गर्दै समृद्ध शुद्धोधनको लागि बाटो पहिल्याउँदै गएको छ । गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीका अनुसार विभिन्न किसिमका कार्यहरू सम्पादनमा उपभोक्ताको प्रत्यक्ष संलग्नतालाई मध्यनजर गरी ७० भन्दा बढी उपभोक्ता समिति गठन गरी परिचालन गरिएको छ ।

आर्थिक पारदर्शिता र आवश्यकताअनुसारका योजनाहरू स्पष्टताको लागि बेला–बेलामा सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण गर्दै सुशासनयुक्त स्थानीय सरकार निर्माणका लागि आवश्यक गतिविधिहरू सञ्चालनमा गर्दै आएको छ । पर्यटकीय सम्भावना बोकेको दरबाह क्षेत्रको गुरुयोजना तयार गरी सोहीअनुसार पर्यटकीय विकासको लागि भौतिक संरचना निर्माण, उद्यान निर्माण, डुङ्गा सञ्चालनलगायतका कामहरू भइरहेको जानकारी गराउँदै अध्यक्ष चौधरीले व्यक्तिगत घटना विवरणहरू सबै वडा कार्यालयहरूबाट अनलाइन प्रणालीबाट दर्ता गराउने कामको सुरुवात भई निरन्तर चलिरहेको बताए । चौधरीले भने, ‘गाउँपालिकाका सबै आम्दानीहरू सफ्टवेयरमार्फत विद्युतीय माध्यमबाट राख्ने व्यवस्था मिलाएका छौँ ।’

पालिकाका सबै खर्चहरू नेपाल सरकारले तोकेको सूत्र प्रणालीबाट परिविष्ट गरेर मात्र खर्च गर्ने हुँदा आर्थिक पारदर्शिताका लागि थप मदत पुगेको उनको भनाइ छ । भवन तथा घरलाई दिगोरूपमा टिकाउने प्रबन्धको लागि मापदण्ड बनाएर भवन निर्माण आचारसंहिता लागू गरी नक्सा पास गरेर मात्र निर्माण गर्ने व्यवस्थाको सुरुवात भएको उनले बताए ।

गाउँपालिकाको प्रमुख प्रशासनिक भवन, बहुउद्देश्यीय सभाहल निर्माण, १ र ४ नम्बर सम्मका वडा कार्यालयहरूको भवन निर्माणको काम अन्तिम चरणको पुग्नुको साथै ३ नं. वडा कार्यालयको भवन निर्माण कार्य सुरु भएको छ । स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धि र प्रभावकारी सेवा प्रवाहको लागि औषधि अभाव नहुने गरी आवश्यक व्यवस्था, वडा नं. १ र ३ मा स्वास्थ्य चौकीको भवन निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी काम सुरु भइसकेको छ ।

वडा नं. ३ मा खोप केन्द्रको भवन निर्माण कार्य प्रारम्भ भएको जनाकारी दिँदै अध्यक्ष चौधरीले सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिको लागि गाउँपालिका र प्रअबीच कार्यसम्पादन करार गरिएको बताए । बसपार्क निर्माणका लागि वडा नं. ७ मा ठेक्का प्रक्रिया भइसकेको पनि उनले जानकारी दिए । चौधरीले वडा नं. २ लाई रूपन्देही जिल्लामै पहिलो बालमैत्री वडा घोषणा गरी उक्त वार्डमा बालउद्यान निर्माणको काम सुरु भएको बताए । मधेशी समुदायहरूमा बढ्दो बालबिवाह रोक्न अभियान सञ्चालन गरी योजनाबद्धरूपले लागेको बताउँदै चौधरीले उक्त अभियानअन्तर्गत वडा नं. ५ लाई बालबिवाहमुक्त वडा घोषणा गरेको बताए ।

योजना र जिन्सी प्रणालीलाई सफ्टवेयरमार्फत व्यवस्थित गरेको जानकारी गराउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीले स्थानीय विकास कोषमार्फत सञ्चालन हुने कार्यक्रम सातवटै वडाहरूमा विस्तार गरेको बताए । मरासिनीले वडा नं. ४ र ५ मा पर्ने सुखली घोला (दरबाह घोला) सरसफाइ गरी घोलाको दायाँबाँया सार्वजनिक जग्गा अतिक्रमण हटाई सडक निर्माणको रेखाङ्कन गरिसकेको बताए । कर्मचारीलाई निर्धारित समयमै उपस्थितिको गराउन विद्युतीय हाजिरी व्यवस्था र दु्रत सेवा प्रवाहको लागि सीसीटीभीबाट निगरानी गरेर सकेसम्म जनतालाई धेरैबेर बस्न नपर्ने गरी आवश्यक वातावरण सृजना गरेको पनि उनको भनाइ छ ।

व्यावसायिक कृषिमार्फत कृषि क्षेत्रको विकासको गर्र्न खेती गर्ने कृषकलाई सिँचाइको लागि डिमाण्ड चार्ज गाउँपालिकाले भुक्तानी गर्न गरेको बताउँदै मरासिनीले गाउँपालिकाका पशुपन्छीहरूलाई निःशुल्क खोपको व्यवस्था, निःशुल्क घाँसको बीउ वितरण, ५० प्रतिशत अनुदानमा गहुँ, तोरी, मसुरो र च्याउको बीउ वितरण, खोर र गोठ सुधारका कार्यक्रमहरू निरन्तरता, वडा नं. ४ मा कृषि उपजकेन्द्रको भवन निर्माण गर्नुका साथै वडा नं. १ मा कृषि बजारको लागि तरकारी संकलन केन्द्रको स्थापना गरेको जानकारी दिए । तीन वर्षमा आवश्यक २९ वटा ऐन, कानुन र कार्यविधि निर्माण गरेको उनको भनाइ छ ।

मरासिनीले गाउँपालिकाभित्र जन्मने बालबच्चाको लागि ३५ दिनभित्र जन्मदर्ता गराएमा जन्मदर्तासँगै दुई हजार रुपैयाँ नगद बालबालिका जन्म प्रोत्साहन कार्यक्रम २०७५/७६ निरन्तर दिने व्यवस्था गरिएको बताए । मरासिनीले भने, ‘गाउँपालिकाका स्वास्थ्य संस्था, वडा कार्यालयहरूमा आवश्यक कर्मचारीहरू व्यवस्थापन गरी सेवा प्रवाह भएको र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारीको दरबन्दी तथा काम, कर्तव्य र जिम्मेवारीको व्यवस्था मिलाएका छौँ ।’

सडक कालोपत्रे, नाली निर्माण, सडक ग्राभेल, सामुदायिक भवनहरू निर्माण, आवश्यकताका आधारमा विद्यालयका कक्षा कोठाहरू थप गर्ने, सार्वजनिक स्थान तथा शैक्षिक संस्थाहरूमा शौचालय निर्माण गर्नेलगायतका विकास निर्माण र परिवर्तनसम्बन्धी साना तथा ठूला देखिने र नदेखिने धेरै कामहरू भएको उनले दाबी गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x