Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहिनौं बितिसक्दा पनि हुनसकेन सेज कार्यकारी निर्देशक नियुक्ति

महिनौं बितिसक्दा पनि हुनसकेन सेज कार्यकारी निर्देशक नियुक्ति


काठमाडौं, भदौ १०
निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नका लागि स्थापना गरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) मा कार्यकारी निर्देशक नियुक्त हुनसकेको छैन । सेज कार्यकारी निर्देशक नियुक्तिको लागि सूचना आह्वान गरेको करिब एक वर्ष बित्न लाग्दा समेत पदपूर्ति हुन नसकेको उद्योग, वाण्ज्यि तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

गत कात्तिक ३० गते पहिलोपटक र पुनः मंसिर ४ गते कार्यकारी निर्देशकको पदपूर्तिको लागि मन्त्रालयले सूचना जारी गरेको थियो । पहिलोपटकको कार्यकारी निर्देशक पदका लागि पर्याप्त निवदेन नपरेसँगै मन्त्रालयले पुनः कार्यकारी निर्देशक नियुक्तिको लागि सूचना जारी गरेको थियो । पछिल्लोपटक जारी गरेको सूचनामा भने छ जनाले प्रतिस्पर्धा गरेका छन् ।

यसरी कार्यकारी निर्देशकका लागि प्रतिस्पर्धा गर्नेमा डा. चण्डिकाप्रसाद भट्ट, योगेन्द्र गौचन, कुमार दाहाल, रघुराज काफ्ले, जनार्दन गुरागाईं र दोलखाका प्रदीपकुमार मैनाली रहेका छन् । प्रतिस्पर्धीहरुमध्ये डा. भट्ट सेजका यसअघिका कार्यकारी निर्देशक हुन् भने गौचन वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका पूर्वमहानिर्देशक हुन् । छनौटमा परेका सदस्यहरुलाई भदौ ६ गतेको लागि लिखित परीक्षाका लागि बोलाएको भए पनि सो स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ । कोभिडको जोखिम बढ्सँगै स्थानीय प्रशासनबाट काठमाडौं उपत्यकामा गत बुधबारदेखि निषेधाज्ञा जारी भएकोले उक्त मितिमा हुने भनिएको परीक्षा भदौ ११ गते हुने भएको छ ।

मन्त्रालयका उपसचिव डा. नारायण प्रसाद रेग्मीले कोभिडका कारण र सरकारले योग्य कार्यकारी निर्देशक छनौटको लागि समय लिएको बताए । ‘कोभिडको कारण असहज अवस्थामा समेत प्रतिस्पर्धीलाई परिक्षा गराउने तयारीमा हामी लागेका छौँ’, उपसचिव रेग्मीले आर्थिक दैनिकसँग भने, ‘अब छिटै पदपूर्ति हुन्छ ।’

सरकारले निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने भने पनि सेजको विकास भने हुनसकेको छैन । पछिल्लो समय कार्यकारी निर्देशक नहुँदा सेज निर्माणमा केही ढिलाइ हुनपुगेको प्रवक्ता सुन्दर थापाले बताए । यसैबीच मन्त्रालयका उद्योग सचिव चन्द्रकुमार घिमिरेले कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अघि बढेको बताए । ‘हामीले सेज कार्यकारी निर्देशक पदपूर्तिका लागि प्रक्रिया अघि बढाएका छौँ । प्रक्रिया पु-याई छिटै नियुक्ति गर्छौँ’, उनले भने ।

सरकारको अन्य निकायजस्तै सेज निर्माणको काम समेत अघि बढ्नसकेको छैन । सेजको विकास नहुनमा नियमावली ढिला आउनु, कार्यकारी निर्देशक अभाव तथा कर्मचारी अभाव लगायतका विषयमा सरकारले चासो नदिनु रहेको सेजका अधिकारीहरु बताउँछन् । नाम नबताउने शर्तमा सेजमा रहेका कर्मचारीहरु सेजमा भएको ढिलासुस्तीको कारण आजित भइसकेको बताए ।

भैरहवा सेजमा सबस्टेसन निर्माण हुँदा उद्योगी/व्यवसायी समस्यामा पर्दै आएका छन् । ३३/११ केभीको सबस्टेसन निर्माणको लागि सेजले मन्त्रालयलाई गुहारेको करिब एक विर्ष बित्दासम्म सबस्टेसन निर्माण हुनसकेको छैन भने सिमरा सेजको पनि ए ब्लक अव्यवस्थित हुनपुगेको छ । ‘हामीले सबस्टेसनको लागि धेरै पहल गरौँ’, एक अधिकारीले भने, ‘तर मन्त्रालयका पदाधिकारीहरुले कुरा नै नसुन्ने प्रवृत्तिले समस्या भएको छ । सिमरा प्राधिकरणको ए ब्लकमा तयारी गार्मेन्ट प्रशोधन केन्द्र सञ्चालन गर्ने भनिए पनि उद्योगीहरु महँगो भाडादरका कारण प्रवेश गर्न सकेका छैनन् ।’

त्यसैगरी पाँचखालको भने प्रगति सन्तोषजनक रहेको प्राधिकरणले जनाएको छ । पाँचखालमा पछिल्लो समय प्रशासनिक भवन र अन्य भवनहरु निर्माण भइरहेका छन् । यसरी दशक बित्दा पनि सेजले पूर्णता प्राप्त गर्नसकेको छैन जसको असर भने देशको औद्योगिक विकासमा पर्ने निश्चित रहेको छ । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण विशेष आर्थिक क्षेत्र ऐन, २०७३ बमोजिम कार्यकारी निर्देशक नियुक्त गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x