Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगी मुरारका बचाउन बेनामे विज्ञप्ति

उद्योगी मुरारका बचाउन बेनामे विज्ञप्ति


विराटनगर, भदौ १४
विराटनगर महानगरपालिकाले पीसीआर मेसिन खरिद गरिदिएबापतको आठ लाख कमिसन लिएका स्थानीय उद्योगपति प्रदीप मुरारकाले कमिशनको रहस्य सार्वजनिक भएसँगै अन्य उद्योगी र व्यवसायीलाई समेत प्रयोग गरी बचाउको प्रयास थालेका छन् । पीसीआर मेसिन खरिद प्रक्रियाका लागि भन्दै गठन भएको कोभिड राहत कोष समितिको वैधानिकतालाई लिएर उद्योगी तथा व्यवसायीले प्रश्न उठाएपछि पीसीआर मेसिन खरिद प्रक्रिया नै विवादमा पुगेको हो ।

अहिले उक्त विवादित समितिका नामबाट सार्वजनिक बेनामे विज्ञप्ति निकाल्न लगाएर उनले खरिद प्रक्रियालाई नै गुमराहमा राख्ने प्रयास गरेका छन् । मुरारकाले प्रतिष्ठित औद्योगिक व्यावसायिक संस्था मोरङ व्यापार संघको बैठककक्षमा आफ्नाअनुकूलका व्यवसायी भेला गराएर एक बेनामे विज्ञप्तिमा हस्ताक्षर गर्न लगाई आफू चोखिने प्रयास गरेका छन् ।

व्यवसायी र सामजिक संस्थालाई उद्योगी मुरारकाले आफूअनुकूलको स्वार्थमा प्रयोग गरेकोमा समेत उद्योगी तथा व्यवसायीले आक्रोस व्यक्त गर्न थालेका छन् । पीसीआर मेसिन खरिदका लागि महानगरसँगको परामर्शमा गठन भएको भनिएको राहत कोष समितिले छिटो मेसिन उपलब्ध गराउने सर्तमा स्थानीय उद्योगी प्रदीप मुरारकासँगै राय सल्लाहमा मेसिन खरिद प्रक्रिया अगाडि बढाएको थियो । तर चन्दा उठाएर किनिएको उक्त पीसीआर मेसिनको मूल्य कम्पनीले दिने मूल्यभन्दा आठ लाख बढी देखाएर उद्योगी मुरारकाले छोरो शिशिर मुरारकाबाट मेसिन खरिद गरेको कुरा गत हप्ता मात्रै सार्वजिक भएको हो ।

काठमाडौँस्थित जेएचएस एनालाइटिक ट्रेडर्स भाटभटेनीको नामबाट काटिएको भ्याटबिलमा मेसिनको मूल्य ३१ लाख ६४ हजार उल्लेख गरेको रहस्य सार्वजनिक भएपछि उद्योगी मुरारकाको असलियत खुल्न पुगेको थियो । जर्मनीमा निर्मित उक्त पीसीआर मेसिन नेपालमा ल्याउन भारतीय बजारबाट सिधै खरिद गर्न सम्भव नै नभएको उद्योगी तथा व्यवसायीले दाबी गरेका छन । व्यवसायीका अनुसार तेस्रो मुलुकमा निर्मित मेसिन नेपाल ल्याउन पाइने भन्सार ऐनमै स्पष्ट किटान भएको हुँदा पनि मुरारकाले भारतको दिल्लीस्थित कोरलबागमा रहेको सौरभ मार्केटिङ कन्सर्नबाट खरिद गरी नेपालको भैरहवा भन्सार नाका हुँदै नेपाल आयात गरेको दाबी उद्योगीले बताएका छन् ।

जर्मनीमा निर्मित क्वायजेन कम्पनीको उक्त ‘रोटर–जेन क्यू ५ प्लेक्स एचआरएम सिस्टम’ मोडलको पीसीआर मेसिन उद्योगी मुरारकाले छोरो शिरिष मुरारकामार्फत विराटनगर महानगरपालिकालाई उपलब्ध गराएका हुन् । काठमाडौंमा रहेको जेएचएस एनालाइटिक ट्रेडर्सले दिल्लीमा रहेको आलोक नाम गरेको भारतीय एजेन्टमार्फत पीसीआर मेसिन खरिद गरेको दाबी उद्योगी व्यवसायीले गर्न थालेका छन् । अहिलेसम्म नेपालमा खरिद गरेका सो मोडेलका पीसीआर मेसिन सबै भारतीय कम्पनीबाट खरिद गरेको स्थानीय उद्योगी तथा व्यवसायीको दाबी छ ।

उक्त भारतीय कम्पनीले जेएचएस एनालाइटिक ट्रेडर्स काठमाडौँलाई मेसिन बिक्रीका क्रममा उपलब्ध गराएको बिल पनि सार्वजनिक भएको छ । यता नेपालमा कोरोना भाइरसको महामारीका कारण पीसीआर मेसिनको माग बढ्न थालेपछि जेएचएस एनालाइटिकले भैरहवा नाका हुँदै करिब १० वटा पीसीआर मेसिन नेपाल भित्र्याई सकेको उच्चस्रोतले बताएको छ । स्रोतका अनुसार उक्त मोडलको मेसिन जेएचएस एनालाइटिकसँग मात्रै भएकोले मूल्यमा सिण्डिकेट गरी व्यवसायी शिरिष मुरारकाले आफ्ना बाबु प्रदीप मुरारकामार्फत विराटनगर महानगरपालिकासँग नै चन्दा उठाएको पैसामा कमिसन खाएको दाबी गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x