Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने एक सय २५ उद्योगमाथि कारबाही, ५५ मुद्दा दायर

गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने एक सय २५ उद्योगमाथि कारबाही, ५५ मुद्दा दायर


काठमाडौं, भदौ १५
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७६/०७७ मा गुणस्तरमा ध्यान नदिने एक सय २५ वटा उद्योग तथा सम्बद्ध व्यवसायीमाथि कारबाही गरेको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले एक आवको अवधिमा विभागबाट स्थलगत निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन गरेको नपाइएका एक सय २५ वटा उद्योग एवं व्यवसायीहरुलाई उत्पादन रोक्का एवं सिलबन्दीको साथै नमूनाहरु संकलन गरी कारबाही गरेको बताए ।

त्यसैगरी उक्त अवधिमा विभाग तथा मातहतका कार्यालयहरुले गुणस्तरहीन खाद्यान्न तथा पानी र तेलजन्य वस्तु बिक्री वितरण गरेको भन्दै कारबाही गरेको छ । विभाग तथा मातहतका कार्यालयहरुमा प्राप्त प्रशोधित पिउने पानीको गुणस्तर, खाने तेलको गुणस्तर, मासुजन्य खाद्य पदार्थको गुणस्तर, होटेल रेष्टुरेन्ट, चामलको गुणस्तरलगायतका विभिन्न विषयका जम्मा चार सय ६१ उजुरीउपर तत्काल सम्बोधन टोली (-यापिड रेस्पोन्स टिम) मार्फत कारबाही गरिएको छ ।

गत आवमा विभागले खाद्य/दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटेल गरी ४ हजार चार सय ९८ पटक निरीक्षण अनुगमन गरिएको थियो भने उक्त अवधिमा पाँच सय ३९ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी एक हजार चार सय ६० उद्योग अनुज्ञापत्र नवीकरण तथा एक हजार पाँच सय ५९ नयाँ विभिन्न खाद्य उद्योग स्थापना गर्न सिफारिस समेत गरेको थियो ।

विभाग र मातहतका कार्यालयले खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा ५५ मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने दायर गरिएका मुद्दाहरुमध्ये प्रशोधित पिउने पानीका १६ वटा, दूध तथा दुग्धजन्य खाद्य पदार्थका ११ वटा, खाद्य तेलका आठवटा र बेकरी, मह, दालमोठ, तयारी चाउचाउ, मिठाइ, खुर्सानीको धूलो जस्ता विभिन्न खाद्य पदार्थका रहेका छन् ।

त्यसैगरी २३ वटा मुद्दाहरु न्यून गुणस्तरका, १६ वटा मुद्दाहरु दूषितका, १० वटा मुद्दाहरु लेबललगायतका विवरण नमिलेका तथा बाँकी तीनवटा मुद्दाहरु खाद्य ऐन नियम निर्देशिका उल्लंघनसम्बन्धी रहेका थिए । उद्योग तथा व्यवसायीहरुको अनुगमन तथा कारबाहीका साथै विभाग तथा मातहतका कार्यालयले गत आवमा बजार अनुगमन समेत गरेको थियो भने अनुगमनका क्रममा मापदण्डविपरीतका खाद्यवस्तु, पानी तथा तेलजन्य पदार्थ फेला पारेको थियो ।

विभाग तथा मातहतका कार्यालयहरुबाट बजार निरीक्षण अनुगमन गरी ऐन/नियमानुसार कुल तीन हजार एक सय ९८ नमूना संकलन भएकोमा दुई हजार तीन सय ३७ वटा नमूनाहरुको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार एक सय ५४ नमूनाहरु मापदण्डअनुसार नपाइएको बताइएको छ । जसमध्ये ४२ वटा दूध तथा दुग्धजन्य पदार्थ, २७ वटा दाना पदार्थ, २२ वटा खाद्यान्न तथा दलहन पदार्थ, १९ वटा प्रशोधित पिउने पानी, १६ वटा तेल तथा घ्यूजन्य, १२ वटा चिया, चारवटा नुन, तीनवटा फलफूल तथा सागपात पदार्थ, दुईवटा मसला पदार्थ, दुईवटा गुलियो पदार्थ र पाँचवटा अन्य खाद्य पदार्थहरु रहेका थिए ।

विभागले खाद्य ऐन २०२३ र खाद्य नियमावली, २०२७ अनुसार कारबाही गर्दै आएको छ । विभागको काठमाडौंका साथै विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगञ्ज, राजविराज, जलेश्वर, चितवन, धुलिखेल, सिन्धुली, पोखरा, तानसेन, दाङ, जुम्ला, काँकडभिटा, तातोपानी, रसुवा, कृष्णनगर, धनगढी, कञ्चनपुर गरी ८० भन्दा बढी डिभिजन कार्यालय तथा कार्यालय रहेका छन् ।

खाद्य आयातनिर्यात नियमन कार्यक्रम : यसैगरी विभागले खाद्य आयातनिर्यात नियमन कार्यक्रमलाई पनि गत आवमा निरन्तरता दिएको बताएको छ । गत आवमा विभागले कुल २१ हजार छ सय ८२ आयात अनुमति जारी गरेको तथा कागजात अपुगका कारण एक सय चारवटा खाद्य पदार्थका कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत गरेको थियो ।

उक्त अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरुमा ३५ हजार सात सय ६१ वटा नमूनाहरु प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन समेत गरिएको विभागले बताएको छ । त्यसैगरी विभागले होटल, रेष्टुरेण्ट स्तरीकरण समेत गरेको छ । गत आवमा विभाग तथा मातहतका कार्यालयहरुबाट जम्मा पाँच सय एक होटल रेष्टुरेन्ट स्तरीकरण गरिएको बताएको छ भने जसमध्ये १७ (३.५ प्रतिशत) वटा थ्रीस्टार होटलले ग्रीन स्टिकरसहित अति उत्तम, ८२ (१६. ५ प्रतिशत) वटाले उत्तम, २०१ (४० प्रतिशत) वटा वान स्टारले ग्रिन स्टिकरसहित सन्तोषजनक र २०१ (४० प्रतिशत) वटा स्टारविहीन होटेलले एल्लो (पहेँलो) स्टिकरसहित सामान्य स्तर प्राप्त गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x