Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वदेशभित्र एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा कुनै शुल्क लिन नपाइने

स्वदेशभित्र एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा कुनै शुल्क लिन नपाइने


काठमाडौं, भदौ १५
स्वदेशभित्र एउटा बैंकको एटीएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा कुुनै पनि शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी निर्देशिका २०७७ जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । यो व्यवस्थाअनुसार अब कुनै पनि बैंक तथा वित्तीय संस्थाका कार्डवाहक ग्राहकले अर्को कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम काउन्टरबाट रकम निकाल्दा कुनै पनि शुल्क तिर्नुु नपर्ने भएको छ ।

निर्देशिकाअनुसार प्रत्येक कारोबार सम्पन्न भएपछि अनिवार्यरूपमा सम्बन्धित ग्राहकलाई तत्काल बैंक तथा फाइनान्स कम्पनीहरुले सतर्कता सन्देश दिनुुपर्नेछ । साथै, ग्राहकले इमेलमार्फत सतर्कता सन्देश माग गरेमा सो समेत उपलब्ध गराउनुपर्नेछ । यो निर्देशन जारी हुनुपूर्व विद्युतीय कार्ड सेवा उपभोग गरिरहेका ग्राहकले सम्पर्क टेलिफोन नम्बर/इमेल ठेगाना उपलब्ध नगराएको वा अद्यावधिक नगराएको भएमा २०७७ पुस मसान्तभित्र सम्बन्धित बैंकले अनिवार्य रूपमा अद्यावधिक गराउनुपर्नेछ, निर्देशिकामा भनिएको छ ।

राष्ट्र बैंकका अनुसार एटीएम कार्डमार्फत हुुने सम्पूर्ण कारोबार चिप र पिनमा आधारित हुुनुपर्नेछ तर बैंक तथा फाइनान्स कम्पनीहरुले जारी गरेका एनएफसी (नियर फिल्ड कम्युनिकेसन टेक्नोलोजी) कन्ट्याक्टलेसमार्फत कारोबार गर्दा भने पिन आवश्यक नहुुन निर्देशिकामा उल्लेख छ ।

बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो एटीएम काउन्टर रहेको स्थानमा एटीएम कारोबार सम्बन्धमा तत्काल कुनै जानकारी/सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि सम्बन्धित कर्मचारीकोे नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलिफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्नुपर्नेछ ।

कार्ड हराएमा, चोरी भएमा वा कारोबारको क्रममा अन्य समस्या देखिएमा ग्राहकलाई तत्काल सहयोग गर्न चौबीसै घण्टा सञ्चालन हुने गरी सम्बन्धित संस्थाले हेल्प डेस्कको स्थापना गर्नुपर्ने निर्देशन पनि राष्ट्र बैंकले दिएको छ । कार्ड हराएमा वा चोरी भएमा सोको सूचना प्राप्त हुनासाथ तत्कालै उक्त कार्डबाट कारोबार हुन नसक्ने गरी कार्ड ब्लक गर्ने व्यवस्था गर्नुपर्नेछ । विद्युतीय भुक्तानी कार्ड जारी गर्दा यस्ता कार्डहरूमा अन्तर्राष्ट्रिय रूपमै स्वीकार्य र प्रचलनमा रहेका सुरक्षात्मक उपाय र विशेषताहरू अनिवार्य रूपमा राख्नु निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले प्रत्येक एटीएम काउन्टर रहेको स्थानमा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेराको व्यवस्था गरीे निरन्तर अनुगमनको व्यवस्था गर्नुपर्नेछ । यसअन्तर्गत सीसीटीभीको मेमोरी ब्याक अप कम्तीमा ९० दिनसम्म रहने व्यवस्था गर्नुपर्नेछ । सीसीटीभी जडान गर्दा कारोबार गर्ने व्यक्तिको मुखाकृति प्रष्टरूपमा देखिने तर ग्राहकले राखेको पिन रेकर्ड र अनुमान गर्न नसकिने गरी जडान गर्नुपर्नेछ । साथै एटीएम बुुथहरुमा कुनै व्यक्ति वा समूहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा यथाशीघ्र संस्थाले तोकेको पदाधिकारी/निकायमा तत्काल सूचित गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

‘सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइनेछैन । तर, ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिनेछैन’, निर्देशिकमा भनिएको छ । निर्देशिकाअनुसार प्रिपेड कार्डबाट प्रतिकारोबार २५ हजार, डेबिट कारोबारबाट प्रतिकारोबार २५ हजारका दरमा प्रतिदिन एक लाख र प्रतिमहिना चार लाख रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ ।

किसोक टर्मिनल्समार्फत भने प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार रुपैयाँसम्म कारोबार गर्न पाइनेछ । यसैगरी मोबाइल बैंकिङ (क्युआर कोड समेत)बाट प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ । यसैगरी इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट समेत)बाट प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख र इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर)बाट समेत प्रतिदिन १० लाख र प्रतिमहिना ५० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने निर्देशिकामा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x