Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसरकारी स्रोत-साधनले कोरोना रोकथाम असम्भव

सरकारी स्रोत-साधनले कोरोना रोकथाम असम्भव


काठमाडौं, भदौ १६
नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितहरुको बढ्दो संख्याले सरकारी स्रोत/साधनले कोरोना रोकथाम तथा नियन्त्रण गर्न असम्भव हुने संकेत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको कारण गम्भीर बिरामी परेका १६ जनालाई भेन्टिलेटरमा राखेर श्वासप्रश्वास गराइएको छ भने एक सय ३२ जनलाई आईसीयू अर्थात् सघन उपचार कक्षमा राखिएको छ । अन्य कयौँ बिरामीहरु पनि भेन्टिलेटर र आईसीयूको पर्खाइमा छन् ।

प्रदेश १ मा चार, प्रदेश २ मा ३८, वाग्मती प्रदेशमा ७०, गण्डकी प्रदेशमा तीन र प्रदेश ५ मा १७ जना सघन उपचार कक्षमा रहेका छन् । प्रदेश १ मा एक, वाग्मती प्रदेशमा १३ र प्रदेश ५ मा दुई गरी १६ सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् । विद्यमान स्रोत र साधनले कोरोना संक्रमितको उपचार सम्भव नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाका सामान्य बिरामीहरुलाई आआफ्नो घर तथा समाजमै बसेर रोग प्रतिरोधी क्षमता बढाउन आग्रह गरेका छन् । मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका छन् ।

नेपालमा १७ हजार आठ सय २३ जना कोरोनाका बिरामी देखिँदैमा सरकारले विद्यमान स्रोत र साधनले भ्याउने अवस्था नभएको बताएको हो । सरकारले केही निश्चित अस्पताललाई कोरोना उपचारको लागि तोके पनि ती अस्पताल भरिएका छन् । अहिले पनि कोरोना संक्रमित कयौं व्यक्तिहरु आआफ्नै घरमा बसेर कोरोनासँग संघर्ष गरिरहेका छन् । सरकारले विभिन्न स्वास्थ्य सामग्री तथा उपचारमा खर्च गरिरहे पनि लामो समयसम्म धेरै बिरामीलाई थेग्नसक्ने अवस्था नभएको स्वास्थ्य मन्त्रालयका अन्य अधिकारीहरु नै बताउँछन् ।

पछिल्लो समयमा नेपालमा काठमाडौं, वीरगञ्जलगायतका घनाबस्ती भएका सहरी क्षेत्रमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ । देशभरमा सोमबार कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या आठ सय ९९ जना थप भएको छ । सोमबार पाँच सय ८८ जना भने सङ्क्रमणमुक्त भएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा दुई सय ९८ सहित देशभरमा आठ सय ९९ नयाँ सङ्क्रमित थपिएका हुन् । सङ्क्रमितमध्ये पाँच सय ९६ पुरुष र तीन सय तीन जना महिला छन् ।

योसँगै देशभरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३९ हजार चार सय ६० पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा एक सय ९०, ललितपुरमा ६७ र भक्तपुरका ४१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार एक सय २९ नमूना परीक्षण भएको थियो । हालसम्म छ लाख ९३ हजार चार सय ७२ नमूना परीक्षण भइसकेको छ ।

सोमबार पाँच सय ८८ जनासहित हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार चार सय दश रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ५४ प्रतिशत हो । देशभरमा क्वारेन्टाइनमा रहनेको सङ्ख्या सात हजार तीन सय ३७ रहेको छ । देशभर जम्मा १७ हजार आठ सय २२ सक्रिय सङ्क्रमितमध्ये १० हजार सात सय एक संस्थागत आइसोलेसन र सात हजार एक सय २१ होम आइसोलेसनमा छन् ।

प्रदेशअनुसार, संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा एक हजार दुई सय ८७, प्रदेश २ मा दुई हजार ६२, वाग्मती प्रदेशमा चार हजार चार सय आठ, गण्डकी प्रदेशमा पाँच सय ३०, प्रदेश ५ मा एक हजार एक सय ७३, कर्णाली प्रदेशमा तीन सय ९६ र सुदूरपश्चिम प्रदेशमा आठ सय ४५ छन् । होम आइसोलेसनमा प्रदेश १ मा पाँच सय १०, प्रदेश २ मा चार हजार ५५, वाग्मती प्रदेशमा दुई हजार ४२, प्रदेश ४ मा १८, प्रदेश ५ मा तीन सय ५६, कर्णाली प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा एक सय २० छन् ।

पछिल्लो २४ घण्टामा देशरभका ४६ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् । प्रदेश १ मा ओखलढुङ्गा एक, खोटाङमा एक, झापा पाँच, मोरङ १९, सङ्खुवासभा नौ र सुनसरी ५३ रहेका छन् छ । प्रदेश २ मा धनुषामा ३१, पर्सा ३४, बारा २३, महोत्तरी छ, रौतहट एक, सप्तरी २२, सर्लाही एक सय तीन र सिरहा पाँच छन् ।

त्यस्तै, वाग्मती प्रदेशमा काठमाडौँमा एक सय ९०, ललितपुर ६७, भक्तपुर ४१, काभ्रेपलाञ्चोक १३, चितवन ७१, दोलखा दुई, धादिङ एक, मकवानपुर ४२, रामेछाप दुई, सिन्धुपाल्चोक एक र सिन्धुली तीन सङ्क्रमित पुष्टि भएको छ । प्रदेश ४ मा कास्की तीन, गोरखा १३, नवलपरासीपूर्व चार, लमजुङ दुई, तनहुँ २६ र वाग्लुङमा चार सङ्क्रमित फेला परेका छन् ।

प्रदेश ५ मा अर्घाखाँचीमा दुई, कपिलवस्तु एक, नवलपरासी तीन, पाल्पा एक, बर्दिया दुई, बाँके १४ र रुपन्देही ११ सङ्क्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा जुम्लामा एक र सुर्खेतमा ३८ फेला परेका छन् भने सुदूरपश्चिममा अछाम २३, कञ्चनपुरमा सात, कैलाली १६, डोटी एक, बझाङ एक र बैतडी दुई सङ्क्रमित फेला परेका छन् । सोमबारसम्म देशभरका ७७ जिल्लामध्ये १२ जिल्लामा सङ्क्रमित पाँच सय बढी छन् भने दुई जिल्लामा शून्य रहेको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, चितवान, ललितपुर, काठमाडौँ र रुपन्देही रहेका छन् । त्यस्तै, हाल सङ्क्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मुस्ताङ र हुम्ला रहेका छन् । पछिल्लो २४ घण्टामा कोभिडका कारण थप सात जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दुई सय २८ पुगेको छ ।

पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा तीन महिला र चार पुरुष छन् । मृत्यु हुनेमा महोतरीकी चार वर्षीय बालिका, गोरखाकी ६२ र रुपन्देहीकी ६८ वर्षीया महिला छन् । त्यस्तै, पुरुषमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षका छन् । यसैबीच, संघीय सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुसँग अनुरोध गरेको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सङ्क्रामक रोग ऐन, २०२० अनुसार गत साउन ४ गतेको जनस्वास्थ्य तथा सुरक्षा पालना गर्ने गरी ‘भदौ १६ गतेदेखि सेवा तथा कार्य सञ्चालन गर्ने’ निर्णय परिमार्जन गर्दै त्यसलाई ‘असोज १ गतेदेखि’ हुने निर्णय गरेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडानबारे पनि सामान्य संशोधन गर्दै दैनिक ५०० यात्री ल्याउन पाउने व्यवस्थालाई ८०० पु-याइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x