Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकैदिन १२ सय २८ जना संक्रमित

एकैदिन १२ सय २८ जना संक्रमित


काठमाडौं,भदौ १९

बिहीबार एकैदिन एक हजार दुई सय २८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । बुधबार दिउँसोदेखि बिहीबार दिउँसोसम्मको २४ घण्टाको परीक्षणमा उक्त संख्या पुगेको हो । नेपालमा एकै दिन सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको यो नै पहिलो घटना हो । बिहीबार कोरोनाबाट १२ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनहरुमा दैनिक दुई अंकको दरमा मानिसहरुको कोरोनाबाट मृत्यु भइरहेको छ । बिहीबार एक हजार दुई सय २८ जना थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ । १३ हजार चार सय १३ पीसीआर परीक्षण गरिएकोमा उक्त संख्या देखिएको हो । यसैगरी पछिल्लो समयमा नौ सय १७ जना कोरोना सङ्क्रमण मुक्त भई घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको सङ्ख्या २४ हजार दुई सय सात पुगेको छ । मुलुकभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार चार सय १३ रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मुलुकभर हाल संस्थागत आइसोलेसनमा १० हजार छ सय ७१ र होम आइसोलेसनमा सात हजार सात सय ४२ जना रहेको मन्त्रालयले जनाएको छ । यसैगरी देशभरका क्वारेन्टाइनमा छ हजार सात सय ४९ जना रहेका छन् । देशभर हाल एक सय ४१ जना कोरोना सङ्क्रमितको सघन उपचार कक्षमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ९५ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तिनमा ३० महिला र ६५ पुरुष छन् । सङ्क्रमितमा मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा छ, धनकुटा र तेह्रथुममा दुई÷दुई तथा प्रदेशबाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तीमध्ये १३ महिला र २० पुरुष छन् । मोरङको सुन्दरहरैंचामा तीन पुरुष, लेटाङमा दुई महिला र एक पुरुष, कटहरीमा दुई पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा एक पुरुष र बूढीगङ्गामा एक महिलामा सङ्क्रमण देखिएको हो ।

यस्तै सुनसरीको धरानमा चार महिला र १७ पुरुष, इटहरीमा एक महिला र दुई पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका एकएक पुरुष र देवानगञ्जमा एक महिला, झापाको कमल गाउँपालिकामा दुई महिला र चार पुरुष, बिर्तामोडमा चार महिला र एक पुरुष, अर्जुनधारामा एक पुरुष, संखुवासभाको खाँदबारीमा पाँच पुरुष र मादीमा एक पुरुष, धनकुटाको शहीदभूमिमा एक पुरुष, धनकुटा नगरपालिकामा एक महिला, तेह्रथुमको म्याङ्लुङमा एक महिला र एक पुरुष तथा प्रदेशबाहिरका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार छ सय ८० पुगेको छ । हालसम्ममा प्रदेशमा एक हजार सात सय ४७ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टाका अवधिमा एक हजार सात सय ९० जनाको पीसीआर परीक्षण भई कुल ९३ हजार दुई सय ९८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

जनजीवन सहज बनाउन सुझाव
बन्दाबन्दी र निषेधाज्ञाले कोरोना रोकथाम एवं नियन्त्रण हुन नसक्ने सञ्चारकर्मीले सुझाव दिएका छन् । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा बिहीबार यहाँ आयोजित छलफलमा सञ्चारकर्मीले जनजीवनलाई सहज एवं सरल बनाउन कोरोना भाइरसका बारेमा नागरिकलाई सचेत र सजग बनाउनु नै उत्तम उपाय हो भन्दै उद्योग, व्यापार, व्यवसाय बन्द गरेर कोरोनाको रोकथाम एवं नियन्त्रण गर्न नसकिने बताए ।

सो अवसरमा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले नागरिकले सरकारी सेवा पाउनबाट वञ्चित हुन नहुने बताउँदै बन्दाबन्दी र निषेधाज्ञाका विकल्पका बारेमा सुझाव दिन आग्रह गरे । उनले तत्काल सरकारी वा निजी विद्यालयहरु सञ्चालन नहुने जनाउँदै जनजीवन सहज एवं सरल बनाउन सरकारले आवश्यक योजना बनाउने जानकारी दिए । आन्तरिक मामिला मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले सञ्चारकर्मीलाई सार्वजनिक खरिद ऐनअनुसार नै विज्ञापन दिइएको जानकारी दिए ।

जनकपुर : प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु हुनाका साथै दुई सय ५२ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा सप्तरी जिल्लामा एक जनाको मृत्यु भएको छ । यससमेत गरी प्रदेशमा अहिलेसम्ममा ९६ जनाको मृत्यु भइसकेको छ ।

सोही अवधिमा धनुषाबाट ६३, महोत्तरीबाट १९, सर्लाहीबाट ३०, रौतहटबाट ४६, बाराबाट २५ र पर्साबाट ६९ गरी दुई सय ५२ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या १० हजार आठ सय आठ पुगेको छ । तीमध्ये बिहीबार एक सय ८३ जना उपचार गराई निको भएर घर फर्केका छन् । उपचार गराई निको भएर घर फर्किनेको सङ्ख्या पाँच हजार दुई सय ५४ पुगेको छ ।

प्रदेशमा एक सय ९६ क्वारेन्टाइन रहेकामा घटेर एक सय ७७ कायम भएको छ । सो क्वारेन्टाइनमा पाँच सय ५५ जना बसेका छन् । होम क्वारेन्टाइनमा एक हजार छ सय ६२, आइसोलेसनमा एक हजार २५ र होम आइसोलेसनमा चार हजार चार सय ३३ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

त्यस्तै पोखरा महानगरपालिकाका १० वटा वडामा बिहीबार अपराह्न थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार अपराह्न तेस्रो विज्ञप्तिमार्फत कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा महानगरका २९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पोखरा महानगरका १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० नं वडाका २१ देखि ५२ वर्ष उमेर समूहका महिला तथा पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी तनहुँ, व्यास –१ र ४ का २९ वर्षीया दुई महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय आठ पुगेको छ ।

व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह
रुपन्देहीका उद्योगी व्यवसायीले निर्बाधरुपमा व्यापारव्यवसाय सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उनीहरुले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र ध्वस्त हुनाको साथै निजी क्षेत्रको लगानीसमेत धाराशायी भएकाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी व्यापार यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ र देवदह उद्योग वाणिज्य संघले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी यही भदौ २० गतेपछि व्यवसाय सञ्चालनको वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेका छन् । यस्तै रुपन्देही उद्योग संघले पनि सुरक्षा सतर्कता अपनाएर उद्योग व्यसाय खोल्ने अनुमति दिन माग गरेको छ ।

कानुन मन्त्रालयका कर्मचारीमा संक्रमण
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी तथा एक÷एक चालक र नेपाल प्रहरीका गरी छ जनामा कोरोना संक्रमण देखिएको हो ।

सुरक्षाकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेको छ । आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले मन्त्रालयका एक कर्मचारी, निवास र मन्त्रालयका पाँच सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आफू होम आइसोलेसनमा बसेको बताए । अब मन्त्रालयका बाँकी कर्मचारीको स्वाब लिएर सामान्यावस्था भएपछि प्रवाह हुने सेवालाई नियमित गरिने उनको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले संक्रमितको कन्ट्याक्टमा रहेका अन्य कर्मचारी तथा सुरक्षाकर्मीको ट्रेसिङ भइरहेको बताइन् । मन्त्रालयका अन्य कर्मचारी पनि आइसोलेसनमा रहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x