Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराहत लिन बोलाएर सर्वसाधारणमाथि प्रहरीद्वारा लाठीचार्ज

राहत लिन बोलाएर सर्वसाधारणमाथि प्रहरीद्वारा लाठीचार्ज


सन्तोष पौडेल
काठमाडौं,भदौ १९
जिल्ला प्रहरी कार्यालय पर्साले राहत वितरणका लागि सर्वसाधारणलाई बोलाएर कुटपिट गरेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका गरिब र असहायलाई राहत प्रदान गर्ने भनेर जिल्ला प्रहरी कार्यालय परिसरमा आह्वान गरी सर्वसाधारणलाई कुटपिट गरेको हो । राहत प्रदान गर्ने भन्दै महानगरका सम्पूर्ण वडा कार्यालयहरूलाई जिल्ला प्रहरी कार्यालयले गरिब, विपन्न तथा निषेधाज्ञाका कारण प्रभावित भएकाहरूलाई पठाउन निर्देशन दिएको थियो । सोहीअनुरूप बुधबार साँझ राहत लिन पुगेका सर्वसाधारणहरूमध्ये केहीले राहत पाएका थिए भने केहीलाई राहत लिन बिहीबार बोलाइएको थियो ।

बिहीबार बिहानै राहत लिन पुगेका सर्वसाधारणलाई राहत नदिएर प्रहरीले गेटमै रोकेको थियो । प्रहरी उपरीक्षक गंगा पन्तले केहीबेरमै राहत बाँड्ने भन्दै सबैलाई लामबद्ध हुन आग्रह गर्दै कार्यालय प्रवेश गरेकी थिइन् । त्यसको केहीबेरमै प्रहरी कार्यालयभित्रबाट आएका केही प्रहरीले सर्वसाधारणलाई लखेट्ने सुरु गरेको घटनास्थलमा रहेकी महिला अधिकारकर्मी शैली चौधरीले बताइन् ।

सर्वसाधारणहरूमध्ये केहीलाई प्रहरीले कुटपिट गरेको उनको भनाइ छ । उनले भनिन्, ‘एसपी पन्त भित्र प्रवेश गरेको पाँच मिनेटमै केही प्रहरीहरू आएर सर्वसाधारणहरूसँग कुरा गर्न थाले । यतिमै एक महिला प्रहरीले सर्वसाधारणउपर लाठी बजार्दै लखेट्न थालिन् ।’ राहत लिन पुगेको सर्वसाधारणहरूका अनुसार गत दुई दिनबाट जिल्ला प्रहरी कार्यालयले राहत बाँडिरहेको थियो र त्यही क्रममा बिहीबार पनि बोलाएको थियो । तर, बिहीबार राहतका लागि बोलाएर आफुहरूलाई प्रहरीले कुटपिट गरेर लखेटेको उनीहरूको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको संयुक्त पहलमा प्रहरी कार्यालय पर्सासँग पहिलाको मौज्दात रहेको १० किलोका दरले ४२ पोका चामल र स्थानीय सरकारले उपलब्ध गराएको ७३ पोकाप्रति पोका २० किलो चामल, १ किलो नुन, ३ किलो दालमध्ये बुधबार अति गरिब र विपन्न एक सय पाँच परिवारलाई राहत वितरण गरेको थियो । बाँकी परिवारलाई बिहीबार राहत वितरण गर्ने कार्यक्रम तय भएको थियो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबार बिहान केहीलाई राहत बाँडिएको थियो । राहत वितरण गरेको थाहा पाएपछि वीरगञ्जका विभिन्न वडाका एक हजार पाँच सयको हाराहारीमा स्थानीयहरू राहत लिन जिल्ला प्रहरी कार्यालय पर्साको मुल गेटमा पुगेका थिए । जिल्ला प्रहरी कार्यालयको मुल गेटमा स्थानीयहरूले होहल्ला गर्न थालेपछि प्रहरीले भीडलाई नियन्त्रण गर्न समान्य बल प्रयोग गरेको पर्साका प्रहरी प्रवक्ता मनोजीत कुँवरले बताए । स्थानीयहरूले यस्तो महामारीको बेलामा भीडभाड गर्ने तथा भौतिक दूरी समेत कायम नगरेपछि प्रहरी व्यवस्थापन मात्र गरेको प्रवक्ता कुँवरले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x