Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेरापिकलाई निकुञ्ज वा संरक्षण क्षेत्र बनाइने

मेरापिकलाई निकुञ्ज वा संरक्षण क्षेत्र बनाइने


महेन्द्र शाही
सोलुखुम्बु, भदौ २१
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको मेरापिक क्षेत्रलाई समेटेर ‘मेरापिक राष्ट्रिय निकुञ्ज’ वा ‘मेरापिक संरक्षण क्षेत्र’ घोषणा गर्नेबारे सरकारले अध्ययन गर्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र सोलुखुम्बु प्रदेश ‘क’ का सांसद उत्तमकुमार बस्नेतको भेटमा मेरापिक राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र घोषणाका बारेमा सकारात्मक छलफल भएको हो । यस विषयमा वन मन्त्रीसँगको छलफल सकारात्मक भएको सांसद बस्नेतको भनाइ छ । मन्त्री सकारात्मक रहेकाले घोषणा हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।

हालको सो क्षेत्र मकालु बरुण राष्ट्रिय निकुञ्जको महत्वपूर्ण हिस्सा भए पनि मुख्य कार्यालय संखुवासभा जिल्लामा रहेको र फाइदा बाँडफाँडको विषयमा पनि सोलुखुम्बुवासी उपेक्षामा परेको गुनासो सोलुखुम्बुका स्थानीयले गरेपछि सांसद बस्नेतले वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको ध्यानाकर्षण गराएका हुन् ।

मेरापिकलाई राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र घोषणा गर्नमा जोड दिइएको सांसद बस्नेतले बताए । अन्य व्यवस्था नभएसम्म मेरापिक राष्ट्रिय निकुञ्जको अधिकार सम्पन्न मुख्य कार्यालय सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको बुङमा तत्काल स्थापना गर्न मन्त्री समक्ष सांसद बस्नेतले माग गरेका छन् । जुन मागमा मन्त्री बस्नेत सकारात्मक रहेको बताइएको छ ।

भेटमा वन मन्त्री बस्नतेलाई निकुञ्जसँग सम्बन्धित मुख्य तीन विकल्पका विषयमा ध्यानाकर्षण गराएको सांसद उत्तम बस्नेतले जानकारी दिए । जसमा मेरापिक राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र घोषणा, हालको मकालु बरुण राष्ट्रिय निकुञ्जको सोलुखुम्बुतर्फको भू–भागलाई सगरमाथा राष्ट्रिय निकुञ्जमा गाभ्ने र मकालु बरुण राष्ट्रिय निकुञ्जको अधिकारसहितको मुख्य कार्यालय सोलुखुम्बुको बुङमा स्थापना गर्ने रहेको बस्नेतले जानकारी दिए । जसले गर्दा सोलुखुम्बुले पनि अपनत्व महसुस गर्ने बताइएको छ ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज र यसले सोलुखुम्बुमा गरिरहेको कार्य र प्रभावका बारेमा विभिन्न चरणमा स्थानीय जनप्रतिनिधि, प्राविधिक र निकुञ्जसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेको सांसद बस्नेतको भनाइ छ । यस विषयमा आफूले सम्पूर्ण सरोकारावालसँग राय सल्लाह समेत माग गरेको सांसद बस्नेतले बताए । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सांसद बस्नेतसँगको भेटमा मेरापिक राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्र घोषणाका बारेमा छिट्टै नै मन्त्रालयका कर्मचारी तथा सरोकारवालासँग छलफल गरी कार्यान्वयन गर्ने बताएका छन् ।

२०४९ सालमा स्थापना भएको मकालु बरुण राष्ट्रिय निकुञ्ज २ हजार ३ सय ३० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । समुद्री सतहको ४ सय ३५ मिटर उचाइदेखि विश्वको पाँचौँ अग्लो हिमाल मकालु (८४६३ मिटर)सम्म फैलिएको यो राष्ट्रिय निकुञ्ज सोलुखुम्बु र संखुवासभा जिल्लामा रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x