Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट विदेशमा थप ५ सहित दुई सय नेपालीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा थप ५ सहित दुई सय नेपालीको मृत्यु


काठमाडौं, भदौ २२
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा गत साता थप ५ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार गत साता मृत्यु भएका सबै यूएईका हुन् । योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ ।

स्वास्थ्य समितिका अनुसार गत साता दक्षिण कोरियामा रहेका नेपालीहरूमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतारलगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्यरूपमा वृद्धि भएको छ । संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरूको ज्यान हो । हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार नौ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो ।

यस्तै कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार कार्य जारी रहेको छ । गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली नियोगहरूको संयुक्त पहलमा ५८ देशबाट ३ सय ५९ वटा फलाइटमार्फत हालसम्म ५६ हजार सात सय ७७ जना नेपालीलाई ३० देशबाट उद्धार गरिएको छ । यस्तै विदेशमा विभिन्न कारणले निधन भएका दुई सय ९९ जना नेपालीहरूको लास नेपाल पठाएको छ ।

महामारीमा एनआरएनएको महत्वपूर्ण भूमिका : मन्त्री ज्ञवाली
मध्यपूर्वका ४ देशमा लागू हुने आईएलओको परियोजनाको लागि गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ । मध्यपूर्वका देशहरूमा रहेका नेपालीहरूको समस्याको बारेमा केन्द्रित भर्चुअल छलफललाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड–१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उल्लेख गरे ।

विदेशबाट फर्किएका नेपालीहरूलाई नेपालमै उनीहरूको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइसक्न लागेको र कतिपय योजना समेत बनिसकेको उनको भनाइ थियो । नेपाल फर्केका नेपालीहरूको ज्ञान र सीपको तथ्यांक संकलन गर्ने कार्यमा गैरआवासीय नेपाली संघले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताए ।

छलफलमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरूले राज्य सरह संघप्रति अपेक्षा राख्ने गरेको अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताए । संघको साधन र श्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समूदायसँग सहकार्य सुरु गरिएको जानकारी समेत उनले दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले कोरोना संक्रमणपछि समस्यामा परेका नेपालीहरूको सहयोगको लागि ती देशमा आईएलओसँग सहकार्य गरेर स्वयसेवा तथा कानुनी परामर्शसहितको ५ महिने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

बैठकमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले कोभिड १९ को कहरका बीच संघको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलनको बारेमा जानकारी दिए । उनले विदेशमा स्वास्थ्य क्षेत्रमा सक्रिय नेपाली चिकित्सक एवं विज्ञहरूको सहयोग लिएर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिए । संघको सक्रियतामा गतशुक्रबार सम्पन्न बैठकमा कतार, मलेसिया, यूएई र साउदी अरबस्थित नेपाली राजदूतहरू, संघका केन्द्रीय पदाधिकारी, श्रमसहचारी, राष्ट्रिय समितिका अध्यक्षहरूलगायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x