Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार६३ लाख नेपालीसँग राहदानी सबैभन्दा धेरै हरियो रंगको

६३ लाख नेपालीसँग राहदानी सबैभन्दा धेरै हरियो रंगको


काठमाडौं, भदौ २३

राहदानी विभागले विभिन्न प्रयोजनको लागि दश आर्थिक वर्षमा ६३ लाख ७२ हजार एक सय ५३ वटा राहदानी वितरण गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुरुप १० आर्थिक वर्ष (आर्थिक वर्ष २०६७/०६८–०७६/०७७) को अवधिमा विभिन्न प्रयोजनको लागि ६३ लाख ७२ हजार एक सय ५३ वटा राहदानी वितरण गरेको बताउँदै सोमध्ये १२ लाख ५६ हजार दुई सय २७ वटा राहदानी महिला तथा ५१ लाख १५ हजार आठ सय ९३ वटा राहदानी पुरुषले लिएका हुन् भने ३३ वटा राहदानी भने अन्य तेस्रोलिंगी, समलिंगीलगायतका व्यक्तिहरुले लिएको बताएको छ ।

विभागका सूचना अधिकारी शत्रुधन पोखरेलले ६३ लाख राहदानीमध्ये राहदानी विभागबाट २४ लाख ६५ हजार ९ सय ५३ वटा, ७७ वटा जिल्ला र १९ वटा इलाका प्रशासन कार्यालयबाट ३२ लाख तीन हजार दुई सय ५८ वटा र कूटनीतिक नियोगमार्फत सात लाख दुई हजार नौ सय ४२ वटा राहदानी वितरण गरिएको बताए ।

जसमध्ये सबैभन्दा धेरै आव ०७१÷०७२ मा १३ लाख ३६ हजार आठ सय ३८ वटा र सबैभन्दा कम आव ०६७/०६८ मा एक लाख ७३ हजार सात सय ६२ वटा राहदानी वितरण गरिएको छ । यस्तै विभागले आव ०७६/०७८ मा तीन लाख ९८ हजार आठ सय ४२ वटा, आव ०७५/०७६ मा पाँच लाख १५ हजार एक सय ४६ वटा, आव ०७४/०७५ मा पाँच लाख ३१ हजार छ सय ३३ वटा, आव ०७३/०७४ मा पाँच लाख ५७ हजार एक सय ८८ वटा, आव ०७२/०७३ मा आठ लाख ७० हजार तीन सय ४६ वटा, आव ०७१/०७२ मा १३ लाख ३६ हजार आठ सय ३८ वटा, आव ०७०/०७१ मा १० लाख १२ हजार सात सय ३९ वटा, आव ०६९/०७० मा पाँच लाख ६८ हजार एक सय २७ वटा र आव ०६८÷०६९ मा चार लाख सात हजार पाँच सय ३२ वटा राहदानी वितरण गरेको छ ।

उनले दश आर्थिक वर्षमा उक्त संख्यामा राहदानी वितरण भए पनि यसमध्ये करिब ९९ प्रतिशत (६३ लाख) साधारण (हरियो) राहदानी वितरण गरेको बताए । ‘राहदानी चार प्रकारका रंगमा उपलब्ध हुन्छन् । कूटनीतिक राहदानी (रातो), विशिष्ट श्रेणीका अधिकारीका लागि (निलो), सर्वसाधारणका लागि (हरियो) र शरणार्थीका लागि (कालो) रंगमा उपलब्ध गराउने गरेका छौँ’, अधिकारीले आर्थिक दैनिकसँग भने, ‘यसरी विभिन्न प्रयोजन तथा विभिन्न व्यक्तिहरुलाई हामीले राहदानी वितरण गर्ने गरे पनि सबैभन्दा बढी राहदानी लिनेमा भने सर्वसाधारणहरु रहेका छन् ।’

हरियो रंगको राहदानी लिने व्यक्तिहरुमध्ये ठूलो संख्यामा भने वैदेशिक रोजगारीमा जाने युवाहरु रहेको आंकलन गरिएको छ । विभागले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुक पुगेका युवाहरुमध्ये धेरै संख्यामा विदेशी मुलुकमा रहेका नेपालीहरुको लागि सम्बन्धित मुलुकमा गई मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्ने समेत कार्यक्रम अघि बढाएको थियो ।

राहदानी लिनेको संख्या पछिल्लो समय भने वृद्धि हुँदै गएको छ । ‘यसो हुनुमा नेपालीहरु विभिन्न काम तथा प्रयोजनका लागि स्वदेशमा मात्र सीमित नभएर विदेशका विभिन्न मुलुकमा जानुपर्ने आवश्यकता हो भन्न सकिन्छ’, सूचना अधिकारी पोखरेलले आर्थिक दैनिकसँग भने, ‘कूटनीतिक, व्यावसायिक, वैदेशिक रोजगार, शिक्षा लिनलगायतका कामका लागि नै किन नहोस् राहदानी आवश्यक पर्छ जसले गर्दा राहदानी लिने मानिसहरु वृद्धि भएका हुन् ।’

यसरी राहदानी लिनेको संख्या दिनप्रतिदिन बढ्दै गएको विभागले जनाएको छ । विभागले २०६७ पुस ११ देखि एमआरपी जारी गर्न थालेको हो भने चालू आवमा भने विद्युतीय राहदानी लागू गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को प्रावधानअनुसार एमआरपी जारी गर्ने कार्यलाई सुव्यवस्थित गर्न २०६७ जेठ ११ देखि केन्द्रीय राहदानी कार्यालय स्थापना गरेको थियो । विभागले राहदानी ऐन, २०२४ र राहदानी नियमावली, २०७७ अनुसार राहदानी वितरण गर्दै आएको छ ।

राहदानी, यात्रा अनुमतिपत्र, सिम्यान्स अभिलेख किताबको खाली पुस्तिका छपाइ तथा आपूर्ति, व्यक्तिकरण, गुणस्तर परीक्षण, तथ्यांक व्यवस्थापन, सुरक्षित भण्डारणलगायतका काम विभागले गर्दै आएको छ । राहदानी जारी गर्ने प्रयोजनका लागि आवश्यक पर्ने बायोमेट्रिकलगायतका व्यक्तिगत विवरण संकलन, प्रशोधन, गुणस्तर परीक्षण र सुरक्षित भण्डारणलगायतका काम समेत गर्दै आएको छ ।

चालू आवमा विभागको विद्यमान स्वीकृत स्थायी पदतर्फको ४९ र अस्थायी सेवा (करार)तर्फको ५३ जनाको दरबन्दी रहेको छ । विभागले नयाँ राहदानी निर्माण तथा नवीकरणका लागि उमेर समूहअनुसार पाँच हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ तथा हराएको, बिग्रिएको, च्यातिएको हकमा वा त्रुटि भएमा भने पाँच हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म दस्तुर लिने गरेको छ । विभागले राहदानी वितरणका साथै छपाइ समेत गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x