Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतबाट तयारी टिन आयात गर्न दिन उद्योग वाणिज्य महासंघ नै लबिङमा

भारतबाट तयारी टिन आयात गर्न दिन उद्योग वाणिज्य महासंघ नै लबिङमा


शंकर लुइँटेल
विराटनगर, भदौ २४
कोभिड १९ को महामारीबाट ग्रस्त बनेका सुनसरी मोरङ औद्योगिक करिडोरदेखि वीरगञ्ज पर्सा औद्योगिक करिडोरका उद्योगलाई नै प्रभावित बनाउने गरी सरकार आफैँ उद्योग बन्द गराउने प्रयासमा लागेको पाइएको छ । आर्थिक ऐन २०७७ लाई नै प्रभावित बनाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैं तयारी वस्तु निकासी गर्ने उद्योगले नेपालमा उत्पादन नहुने प्याकिङ मेटेरियल आयात गर्दा लाग्ने भन्सार महसुल धरौटीमा राखी जाँचपास गर्ने प्रावधानलाई टेकेर स्वीदेशी उद्योगलाई धराशायी बनाउन उद्यत रहेको पाइएको हो ।

अहिले पनि सुनसरी मोरङ आद्योगिक करिडोर र वीरगञ्ज पर्सा औद्योगिक करिडोरमा जस्ताबाट बनाइने टिन उद्योगहरू करिब एक दर्जनको हाराहारीमा सञ्चालन रहेका छन् । तर ती सञ्चालनमा रहेका उद्योगलाई नै बन्द गराउने उद्देश्यबाट सरकारको आग्रहमा गत साउन १९ गते नै तयारी वस्तु पैठारीका लागि भारतमा निर्माण भएका टिन आयात गर्न उद्योगलाई अनुमति दिन मनासिव रहेको पत्रसहितको आफ्नो राय उद्योग वाणिज्य महासंघले उद्योग मन्त्रालयलाई जानकारी दिएको छ ।

उद्योग वाणिज्य तथा आपुर्ति राज्य मन्त्री मोतीलाल दुगढको निर्देशनमा उद्योग वाणिज्य महासंघले उक्त पत्रसहितको आफ्नो राय उद्योग मन्त्रालयलाई गराएको समाचारस्रोतको दाबी छ । उद्योग वाणिज्य महासंघले लेखेको पत्रका आधारमा भारतमा निर्माण भएका टिनका वस्तु नेपाल आयात गर्न छुट दिने तयारीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेको बताइन्छ । यदि ती वस्तु आयातमा छुट दिएमा स्वदेशी उद्योग नै बन्द हुने अवस्थामा पुग्ने टिन उद्योग सञ्चालन गर्दै आएका उद्योगीले बताएका छन् ।

पछिल्लो समय जेनतेन सञ्चालनमा रहेका टिन उद्योगहरू सरकारकै मन्त्रीको विवादास्पद निर्णयका कारण धरासायी हुने अवस्थामा पुग्ने उद्योगीको भनाइ छ । कोभिड १९ को महामारीका कारण करिब ६ महिनादेखि बन्द रहेका उद्योग सञ्चालनमा आएको भए पनि विभिन्न विवादास्पद निर्देशन गरेर सरकार आफैँ जेनतेन सञ्चालनमा आएका उद्योग नै बन्द गराउन सक्रिय रहेको उनीहरूको आरोप छ । सोयाबीन तेल उद्योगीहरूको प्रभावमा परेर सरकारले तयारी टिन भारतबाट आयात गर्न दिने निर्णय गर्न लागेको उनीहरूको भनाइ छ ।

हाल भारतमा सोयाबीन तेलको माग उच्च रहेको छ । चालू आर्थिक वर्षको साउन महिनामा मात्र सुनसरी मोरङ औद्योगिक करिडोरका सोयाबीन तेल उद्योगहरूले ४७ लाख ७० हजार एक सय ८७ केजी सोयाबीन तेल भारत निकासी भएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरबाहेक देशभरबाट दुई अर्ब २७ करोडको सोयाबीन प्रशोधित तेल भारततर्फ निर्यात हुनेगरेको छ । सोयाबीन तेल उद्योगहरूका उत्पादन प्याकिङ हुने टिन भारतबाट ल्याउन सरकारले अनुमति दिन लागेको हो ।

हाल उक्त टिनहरू नेपालका उद्योगहरूले निर्माण गर्दै आएको छ । स्वदेशी टिन उद्योगलाई विस्तापित गर्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगढ आफैँ सक्रिए भएर भारतबाट तयारी टिन आयात गर्न दिनुपर्ने पक्षमा लागेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरदेखि वीरगञ्ज पर्सा आद्योगिक करिडोरका पाम उद्योगीहरू नै पछिल्लो समय सोयबीन तेल भारत निकासीमा सक्रिय रहेका छन् ।

पछिल्लो समय सुनसरी मोरङ औद्योगिक करिडोर र वीरगञ्ज पर्सा औद्योगिक करिडोरमा कोरोना संक्रमणका कारण पहिले जति उद्योग सञ्चालनमा छैनन् । तर पनि सञ्चालित उद्योगमा पनि सोयाबीन तेलको उत्पादन एक्कासी बढेर गएको छ । उद्योगीहरूका अनुसार भारतमा सोयाबीन तेलको माग बढिरहेकाले पाम तेलको विकल्पका रूपमा व्यवसायीहरूले सोयबीन तेलको उत्पादन बढाउन थालेका हुन् ।

औद्योगिक करिडोरका उद्योगीहरूले मुख्यरूपमा कच्चा सोयाबीन तेल अर्जेन्टिना, ब्राजिल, पारागुवे, इन्डोनेसिया तथा युक्रेनबाट आयात गर्ने गरेका छन् । सबैभन्दा बढी कच्चा सोयाबीन तेल अर्जेन्टिनाबाट आयात हुने गरेको छ । चालू आवको साउन महिनामा मात्र दुई अर्ब ५६ करोड रुपैयाँबराबरको कच्चा सोयाबीन तेल नेपाल आयात भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x