Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचुनौतीलाई अवसरको रुपमा प्रयोग गर्न मुख्यमन्त्री राउतको आग्रह

चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्न मुख्यमन्त्री राउतको आग्रह


बटुकनाथ झा
जनकपुरधाम, भदौ २४
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् । अस्पतालहरुको वर्तमान अवस्था र आगामी दिनहरुमा गर्नुपर्ने सुधारबारे छलफल गर्न मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मेडिकल सुपरिटेन्डेन्टहरुसहितको प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री राउतले महामारीलाई अवसरमा परिणत गर्न जोड दिए ।

अस्पतालको सुधारका लागि प्रदेश सरकार स्थापनाकालदेखि नै प्रयासरत रहे पनि पछिल्लो समयमा कोरोना महामारीले थप सुधारको आवश्यकता देखाएकोले त्यसैअनुरुप प्रदेश सरकार अघि बढेको उनले बताए । गत आर्थिक वर्षमा प्रदेश सरकारले अस्पतालको सुधारका लागि पठाएको रकम सदुपयोग हुन नसकेको बताउँदै उनले चालू आवमा पठाइएको रकमको शतप्रतिशत सदुपयोग गर्न निर्देशन दिए । उनले भने, ‘हाम्रो प्रदेशमा स्वास्थ्य संस्थाहरुको अवस्था विगतदेखि नै दयनीय छ ।

हामी सुधारका प्रयासहरु थालेका छौँ, अहिलेको कोरोना महामारी चुनौतीको रुपमा रहे पनि स्वास्थ्य संस्थाहरुको सुधारको लागि यसलाई हामीले अवसरको रुपमा प्रयोग गर्नुपर्छ ।’ कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्दै उनले अग्रणी भूमिकामा रहेका स्वास्थ्यकर्मी चिकित्सकहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह समेत गरे ।

बैठकमा समाजिक विकासमन्त्री नवल किशोर साहले अस्पतालहरुको सुधारमा प्रदेश सरकार हरसम्भव लगानी गर्न तयार रहेको उल्लेख गर्दै कोरोना महामारीनियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । बैठकमा संघीय सांसद एवं विज्ञ समूहका सदस्य डा. सुरेन्द्र यादवले अस्पतालहरुमा रहेको स्रोत साधनहरुलाई अधिकतम प्रयोग गर्न सुझाव दिए ।

त्यसैगरी जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साहले प्रादेशिक ल्याबको आफ्नै भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । बैठकमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराज, भारदह अस्पताल, लहान अस्पताल, सिरहा अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम, जलेश्वर अस्पताल, बर्दिवास अस्पताल, मलंगवा अस्पताल, चन्द्रपुर अस्पताल, कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका मेडिकल सुपरिटेन्डेन्टहरुले अस्पतालको वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने सुधारहरुबारे प्रस्तुति दिएका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x