Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएडीबीको ५३औँ वार्षिक बैठक सेप्टेम्बर १७ र १८ मा एसियामा प्रविधि, लगानी, महामारी र अर्थतन्त्रबारे गहन छलफल हुने

एडीबीको ५३औँ वार्षिक बैठक सेप्टेम्बर १७ र १८ मा एसियामा प्रविधि, लगानी, महामारी र अर्थतन्त्रबारे गहन छलफल हुने


काठमाडौं, भदौ २४
एसियाली विकास बैंकको ५३औँ वार्षिक बैठक यही सेप्टेम्बर १७ र १८ तारिखमा भर्चुअल रुपमा हुने भएको छ । शृंखलाबद्ध रुपमा वेबिनारमा हुने बैठकमा मिडिया, विभिन्न देशका अर्थ र स्वास्थ्य मन्त्रीहरु, औद्योगिक क्षेत्रका विज्ञ र एडीबी व्यवस्थापन टोलीले धेरै मुद्दाहरु र चुनौतीबारे छलफल गर्ने बताइएको छ ।

उक्त बैठकमा एसिया र प्रशान्त क्षेत्रले सामना गर्ने चुनौतीसँगै कोरोनाभाइरस महामारीको बारेमा पनि छलफल हुने एडीबीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त बैठकमा सहभागी हुन इच्छुक सबैले वेबसाइट र वेबिनारमार्फत उपस्थित हुन सक्नेछन् । उक्त बैठकको लाग छुट्टै अनलाइन पृष्ठ बनाइएको छ र अगाडि नै दर्ता गर्नुपर्ने बाध्यता नरहेको एडीबीले जनाएको छ । वेबिनारमा सहभागी हुनेले ‘एड टु क्यालेन्डर’ बटन क्लिक गर्नुपर्ने बताइएको छ ।

बैठकलाई फेसबुक, इन्स्टाग्राम, लिंक्डइन र ट्विटरमार्फत निरन्तर फलो गर्न सकिनेछ । दिगो विकास लक्ष्य प्राप्तिका लागि आन्तरिक स्रोतको परिचालन र अन्तर्राष्ट्रिय कर सहकार्यलाई बलियो बनाएर राष्ट्रसंघको दिगो विकास लक्ष्य प्राप्ति गर्न सकिने सेसन सेप्टेम्बर १७ तारिखमा बिहान ९ देखि साढे १० बजेसम्म हुनेछ । दिगो विकास लक्ष्य प्राप्तिका लागि एडीबीका विकास सदस्यहरुले कर राजस्व बढाउन दबाब खेप्दै आएका छन् । एडीबीका प्रमुख मासात्सुगु असाकावाले विकास सदस्य देशहरुका प्रतिनिधिहरु र साझेदारसँग छलफल गर्नेछन् ।

त्यस्तै अर्थ र स्वास्थ्यसम्बन्धी मन्त्रीहरुले एसिया र प्रशान्त क्षेत्रमा युनिभर्सल हेल्थ कभरेजअन्तर्गत कोभिड १९ र अन्य विषयबारे सेप्टेम्बर १७ मा फिलिपिन्सको समयअनुसार बिहान ११ देखि साढे १२ सम्म छलफल गर्नेछन् । एडीबीको विज्ञप्तिमा युनिभर्सल हेल्थ कभरेजका लागि आकस्मिक रुपमा आवश्यक कदम चाल्न सदस्य देशहरुलाई आग्रह गरिएको छ । त्यस्तै एडीबी, जापान सरकार र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा सदस्य देशका अर्थ र स्वास्थ्यमन्त्रीहरुसँग संयुक्त सेमिनार आयोजना गर्नेछन् ।

त्यस्तै महामारीको बेलामा क्षेत्रीय सहकार्यसम्बन्धी सेसन सेप्टेम्बर १७ मा दिउँसो ३ देखि ५ बजेसम्म चल्नेछ । उक्त सेसनले संकटको समयमा क्षेत्रीय सहकार्यलाई कसरी बलियो बनाउने भन्ने छलफल गर्नेछ । उक्त सेसनमा कोभिडपछिको अवस्थाबारे पनि छलफल हुनेछ । भविष्यमा आउने यस्ता संकटमा मध्य एसिया क्षेत्रीय आर्थिक सहकार्यजस्ता प्लेटफर्मको भूमिकालाई बलियो बनाउनेबारे पनि छलफल हुनेछ ।

यसबाहेक प्रविधि, लगानी र दिगोपनाबारे सेप्टेम्बर १८ मा बिहान पौने ९ बजेदेखि १ घण्टासम्म अर्को सेसन हुनेछ । कोभिडपछि प्रविधिले एसियालाई सहयोग गर्न सक्छ भन्नेबारे यस सेसनमा छलफल हुनेछ । सोही दिन गभर्नरहरुको दोस्रो बिजनेस सेसन दिउँसो २ देखि २ः४५ सम्म हुनेछ । बिजनेस सेसनले मे २२ को पहिलो सेसनकै मुद्दाहरुबारे छलफल गर्नेछ ।

त्यस्तै सोही दिन साढे ३ देखि साढे ५ बजेसम्म गभर्नरहरुले कोभिडपछिको विकसित एसियाबारे छलफल गर्नेछन् । महामारीका बेला गभर्नरहरुले आवश्यक कदम चाले पनि अर्थतन्त्रलाई लयमा फर्काउन उनीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले यसबारे गहन छलफल हुनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x