Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभदौ ३१ गतेसम्मको लागि काठमाडौं खुल्ला

भदौ ३१ गतेसम्मको लागि काठमाडौं खुल्ला


काठमाडौं, भदौ २५
केन्द्र सरकारसँगको समन्वयमा अधिकांश जिल्लामा निषेधाज्ञा धमाधम हटाउन थालिएको छ । काठमाडौं उपत्यकामा एक साताको लागि निषेधाज्ञा खुकुलो गरिएको छ । भदौ २४ गते बुधबार राति १२ बजेदेखि भदौ ३१ गते बुधबार राति १२ बजेसम्मका लागि परीक्षणको रुपमा निषेधाज्ञा खुकुलो गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुधबार विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

यसअघि निषेधाज्ञा वा लकडाउन लगाउँदा मात्र मिति तोकिने र खुकुलो वा खुल्ला गर्दा मिति तोक्ने गरिएको थिएन । ‘कोरोनाले भन्दा काम गर्न नपाएर मानिस भोकभोकै मर्ने अवस्था आयो भन्ने जनगुनासो सुनियो । एक साता व्यापार÷व्यवसाय, निर्माण कार्य, निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्दा कोरोनाको संक्रमणको अवस्था कस्तो हुन्छ हेर्न त्यो हेर्न मिति तोकेर निषेधाज्ञा खुकुलो बनाइएको हो’, जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले आर्थिक दैनिकसित भने, ‘स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर क्रमिक रुपमा व्यवसाय खोल्दा संक्रमण बढेन भने थप व्यवसाय र मानिसको आवतजावतलाई सहज बनाइनेछ ।

संक्रमणको दर बढ्यो भने त्यहीअनुसार थप कडाइ गरिनेछ ।’उपत्यकाभित्रका तीनवटै जिल्लामा १६ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न सकिने जिल्ला प्रशासनको विज्ञप्तिमा जनाइएको छ । प्रशासनका अनुसार भदौ ३१ गतेसम्म माइक्रोलगायतका साना सार्वजनिक बस सञ्चालन गर्न पाइनेछैन । थोरै यात्रु क्षमताका सार्वजनिक गाडीमा मानिसको भीडभाड बढी हुने भएकाले केन्द्र सरकारसँगको समन्वयनमा जिल्ला प्रशासन कार्यालयले १६ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारीसाधन मात्र चलाउन दिनलागेको हो । सञ्चालन अनुमतिप्राप्त गाडीहरु पनि जोरविजोर प्रणालीअनुसार मात्र चलाउन पाइनेछ ।

सरकारले सवारीसाधन र व्यवसाय पनि क्रमशः खोल्ने नीति ल्याएको छ । तर, केही व्यवसाय भने भदौ ३१ गतेसम्म नै बन्द हुने प्रशासनले जनाएको छ । प्रशासनका अनुसार खुला स्थानमा मानिसको भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न पूर्ववत् रुपमै रोक लगाइएको छ । साउनमा लकडाउन खुला हुँदा पनि यस्ता कार्यमा रोक लगाइएको थियो । जात्रा, महोत्सव, भोजभतेर पनि बन्द नै हुनेछ । सरकारले धार्मिक कार्यलाई पनि रोक लगाएको छ । मठमन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका गतिविधिहरु सञ्चालन गर्न पाइनेछैन भने शैक्षिक संस्थाहरु पनि बन्द नै हुनेछ ।

बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ । यस्तै चाडपर्वलगायत धार्मिक तथा साँस्कृतिक कार्यक्रममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, ब्युटी पार्लर सैलुन, स्पा, स्विमिङ पुल जिमखाना, समूहमा खोलिने खेल, पुस्तकालय चिडियाखाना तथा सङ्ग्रहालय सञ्चालनमा रोक लगाइएको पुरानै व्यवस्थालाई कायम गरिएको छ । व्यापार व्यवसायमा स्वास्थ्य मापदण्डविपरीत मजदुरहरुलाई ओसारपसारमा समेत रोक लगाइएको छ ।

निजी सवारीसाधन (मोटरसाइकल स्कुटर समेत) स्वास्थ्य मापदण्ड पालना गरी भौतिक दूरी कायम गरेर सञ्चालन गर्न सकिनेछ । यात्रुवाहक सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनुरुप सामाजिक दूरी कायम हुने गरी एक लहरमा एक जना (कुल क्षमताको आधाबाट नबढ्ने गरी) बस्ने व्यवस्था मिलाउनुपर्नेछ ।

यसरी सवारीसाधन सञ्चालन गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ । सवारीसाधनको ढोकामै स्यानिटाइजरको व्यवस्था हुुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने तथा सवारीसाधन दैनिक निस्सङ्क्रमण गराएको हुनुपर्नेछ । सवारीसाधन भने जोरविजोर प्रणालीअनुसार सञ्चालन गर्नुपर्नेछ तर मालवाहक सवारीको हकमा भने जोरविजोर लागू हुनेछैन । सार्वजनिक सूचनाअनुसार औषधि र पानीजन्य व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाउने पुरानै व्यवस्थालाई कायम राखिएको छ ।

अन्य खाद्यवस्तु, दूध, तरकारी फलफूल, माछामासुका व्यवसाय बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउनेछन् । यसअघि उक्त व्यवसाय साँझमा रोक लगाइएको थियो । तोकिएको मापदण्ड प्रयोग गर्दै विकास निर्माणसम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारीसाधन मध्याह्न १२ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सहकारी संस्थाहरु ११ देखि ३ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइनेछ । भाँडा, भान्साजन्य र सोही प्रकृतिका अन्य पसल आइतबार, मंगलबार र शुक्रबार सञ्चालन हुनेछन् । फर्निचर र अटो मोबाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्रै खोल्न पाइनेछ ।

फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी, इलेट्रिकल्स, इलेक्ट्रोनिक्स, डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ । सवारीसाधनसम्बन्धी वर्कसप बिहान ८ देखि राति ८ सम्म सञ्चालन हुनेछ । टेक–अवे सेवा तथा होमडेलिभरी सेवा भने दिउँसो १२ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । उद्योग कलकारखाना सञ्चालन गर्दा कामदार र कर्मचारीलाई आयोजनास्थलमै बस्ने, खाने व्यवस्था मिलाउन भनिएको छ । यस्तै स्वास्थ्य मापदण्ड पालना गरी अनलाइन कक्षा र त्यस्ता सेवासँग मिल्ने सेवाहरु सञ्चालन गर्न सकिनेछ । विदेश जाने व्यक्तिलाई आवागमनमा सहजीकरण गरिनेछ ।

स्वाब परीक्षण गराएका व्यक्तिहरु रिपोर्ट नआउञ्जेल क्वारेन्टाइनमा बस्नुपर्नेछ । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिसमेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टाइनमा बस्नुपर्नेछ । अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ । बैंक वित्तीय संस्था नेपाल राष्ट्र बैंकको मापदण्डअनुसारसञ्चालन हुने जनाइएको छ ।

उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरिएको थियो ।जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुलाउने निर्णय गरेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय तनहुँले त्यहाँका १० पालिकामध्ये भानु नगरपालिकाबाहेक अन्य सबै पालिकामा लगाइएको निषेधाज्ञा हटाइएको छ । भानु नगरपालिकाको १३ वटै वडामा भदौ २४ देखि भदौ मसान्तसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । अन्य जिल्लाहरुमा क्रमशः निषेधाज्ञा खुला भइरहेको विभिन्न जिल्लाबाट प्राप्त समाचारमा जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x