Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना

प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना


खोटाड., भदौ २५
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापनाको काम सम्पन्न भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, सोल्मा, बाम्राङ, नेर्पालगायत आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको हो ।

१५ वडा रहेको नगरपालिकालाई प्राङ्गारिक क्षेत्र बनाउन अर्थ मन्त्रालयको विशेष अनुदानवापतको तीन करोड ३२ लाख रुपैयाँको लागतमा एकैठाउँमा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘ल्याब परीक्षण, जनशक्ति व्यवस्थापनबाहेक भौतिक संरचनाको काम सम्पन्न भएको छ’, उनले भने, ‘भ्यालिडिटीका लागि ल्याब टेष्ट गराउने र आवश्यक जनशक्ति व्यवस्था गरेर केही दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’

नगरपालिकाका अनुसार मेसिन तथा औजार खरिदमा एक करोड १७ लाख रुपैयाँ र ट्रस भवनलगायतका संरचना निर्माणमा ३९ लाख रुपैयाँ खर्च भएको छ । वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री संकलन गरेर प्रशोधन गर्दै प्रतिघण्टा एक हजार केजी प्राङ्गारिक मल उत्पादन गर्न सकिने नगरपालिकाका कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताए । प्राङ्गारिक मल उद्योग तथा बायोग्याँस प्लान्ट स्थापना गर्न कार्यपालिका सदस्य विश्वकर्माले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । प्राङ्गारिक मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकेजी डेढदेखि दुई रुपैयाँका दरले खरिद गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा थोक बिक्रेतामार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ । उद्योगबाट उत्पादित प्राङ्गारिक मल पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । उद्योगबाट उत्पादित प्राङ्गारिक मल मलिलो र राम्रो हुने नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कोलनीले बताए ।

प्राविधिकका अनुसार ‘टर्नर’मा काटेर ‘थुम’मा हालेर क्रसर चलाएपछि धूलो बनेको मलको कच्चा पदार्थ स्क्रिनिङ मेसिनमा पुग्दा तयारी भएर बोरामा प्याक भएर मलका रूपमा बाहिर निस्कन्छ । प्राङ्गारिक मल उद्योगसँगै बनाइएको बायोग्याँस प्लान्टमा मानव मलमूत्र तथा गाईभैँसीको गोबर हालेर ग्याँस उत्पादनको तयारी गरिएको छ । तीन हजार पाँच सय घनमिटर क्षमताको ‘अण्डरग्राउण्ड डुम’ (ट्यांकी)मा कच्चा पदार्थ हालेर गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्याँसकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्न मिल्ने जनाइएको छ ।

दिक्तेल बजारका शौचालयको ट्यांकीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी छ । आवश्यक गोबर र स्याउलाका लागि प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसी पालन गरिएको छ । गोठको स्याउलालाई भने प्राङ्गारिक मल उत्पादनमा उपयोग गरिने छ । ग्यास उत्पादन भएपछि निकास हुने लेदोलाई ड्रायरमा सुकाएर प्याक गरेर मलकै रूपमा वितरण गरिने नगरपालिकाले जनाएको छ । उद्योगमा स्थानीय चार युवाले पूर्णकालीन तथा २५ जनाले अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x