Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना निको हुनेको दर ७० प्रतिशत नाघ्यो, एकैदिन १४ जनाको मृत्यु

कोरोना निको हुनेको दर ७० प्रतिशत नाघ्यो, एकैदिन १४ जनाको मृत्यु


काठमाडौं, भदौ २८
नेपालमा पछिल्लो समय कोरोना संक्रमण हुने र निको हुनेको दर बढेको छ । दैनिक एक हजार बढीमा कोरोना संक्रमण देखा परे पनि ७० दशमलव छ प्रतिशत संक्रमित कोरोना निको भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यका दैनिक तीन सयभन्दा बढीमा कोरोना देखिए पनि सर्वसाधारणको सडक र बजारमा चहलपहल बढेको छ । सुरुका दिनमा एक जनामा कोरोना देखियो भने टोल नै त्रसित हुने अवस्था थियो । अहिले एउटै टोलमा दर्जनौँमा कोरोना देखिए पनि आम नागरिक आफ्नो व्यवसाय सञ्चालन गरेर बसेका छन् । काठमाडौैंकै कतिपय ठाउँमा कोरोना क्षेत्र भनेर ब्यानर राखे पनि त्यो क्षेत्रमा सबैजसो पसल सरकारी नियमअनुसार नै सञ्चालन भइरहेकै छन् ।

शनिबार पनि नेपालका एक हजार दुई सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय एक जनामा कोरोना देखिँदा आठ सय ५२ जना कोरोनालाई जित्न सफल भएका छन् । शनिबारको यो तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार एक सय २० पुगेको छ । निको हुनेको संख्या ३७ हजार पाँच सय २४ पुगेको छ ।

शनिबार काठमाडौँ उपत्यकामा थप चार सय ३१ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये काठमाडौँमा तनी सय ७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा कोरोना पुष्टि भएको हो । शनिबारसम्म सात जिल्लामा सङ्क्रमित छ सयभन्दा बढी छन् भने सात जिल्ला शून्य छन् । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौँ र रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, ग्यादी र हुम्ला छन् ।

मन्त्रालयका अनुसार हाल देशभर १५ हजार दुई सय ६० जना आइसोलेसनमा रहेका छन् र छ हजार तीन सय ५४ जना क्वारेन्टाइनमा रहेका छन् । तीमध्ये होम आइसोलेसनमा छ हजार एक सय ५३ जना रहेका छन् । शनिबारसम्म एक सय ६० जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा छन् । भेन्टिलेटरमा रहेकामध्ये पनि २१ जना त वाग्मती प्रदेशका मात्र छन् । यसले वाग्मती प्रदेश कोरोनाको उच्च जोखिममा रहेको पुष्टि गरेको छ । सुरुका महिनामा अन्य जिल्लामा कोरोका बढी देखिए पनि साउनमा लकडाउन खोलेसँगै वाग्मती र खासगरी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढी देखिएको हो । अहिले काठमाडौं उपत्यकामा प्रवेशमा कडाइ गरिए पनि काठमाडौंमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ ।

पहिला नै संक्रमितहरुले नयाँ–नयाँ बिरामी थप गरेको अनुमान गरिएको छ । व्यापार/व्यवसाय सुरु भएको कारण कोरोनाको संक्रमण बढ्दै गएको हो । एउटै पसलमा सयौं व्यक्तिहरु पुग्ने हुँदा कोरोना संक्रमणले तीव्रता लिएको हो । तर, कोरोना बढे पनि परीक्षण गरेर बस्ने तर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग उद्योगी/व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमै बताइसकेका छन् । त्यही भएर कोरोना संक्रमितको संख्या बढे पनि सडक र बजारमा सर्वसाधारणको चहल पहल बढेको हो ।

काठमाडौं महानगरपालिकाले फुटपाथका पसल बन्द गर्नुपर्ने माग गरे पनि काठमाडौंमा फुटपाथमा पसल सञ्चालन भइरहेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वको टोलीले त काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेट गरेर फुटपाथ र ठेगागाडामा हुने व्यवसाय बन्द नै गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको छ ।

शनिबार नेपालमा १४ जनाको कोरोनाबाट ज्यान गएको छ । कोरोनाबाट मृत्यु हुनेमा सुनसरीका एक पुरुष, पर्साका एक महिला, काठमाडौंका दुई पुरुष र एक महिला, भुक्तपुरका दुई पुरुष, चितवनका एक पुरुष, तनहुँका एक महिला, स्याङ्जाका एक पुरुष, गोरखाका एक पुरुष, कास्कीका एक पुरुष, रुपन्देहीका दुई पुरुष रहेका छन् । उनीहरु ३८ देखि ८५ वर्षभित्रका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x