Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचितुवाको छाला र हड्डीसहित पक्राउ परेकालाई अनुसन्धान नगरी छोडियो

चितुवाको छाला र हड्डीसहित पक्राउ परेकालाई अनुसन्धान नगरी छोडियो


आशिष बहादुर सिंह
बझाड., भदौ ३०
चितुवाको दुईवटा छाला र हड्डीसहित प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिलाई अनुसन्धान पूरा नगरेरै जमानतमा छोडिएको छ । चितुवाको छाला र हड्डीसहित पक्राउ परेका बुङगल नगरपालिका, ६ का २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय वीरेन्द्र बोहरालाई वडा अध्यक्षको जिम्मा लगाएर छोडिएको हो । पक्राउ परेका व्यक्तिहरूलाई बुङगल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धनबहादुर सिंहको जिम्मामा छोडिएको छ ।

पक्राउ परेका मानिसहरूको अनुसन्धान पूरा नभएको भए पनि हड्डी र छालाको विधि विज्ञान परीक्षणको लागि काठमाडौं पठाउनुपर्ने र लकडाउनका कारण तत्काल त्यो सम्भव नभएकाले आवश्यक पर्दा हाजिर हुनेगरी वडा अध्यक्षको जिम्मा लगाई छोडिएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘उहाँहरू अनुसन्धानकै क्रममा हुनुहुन्छ’ छाला र हड्डी पक्राउ परेको यो मुद्दा हेरिरहेका सहायक वन अधिकृत मनोज ढकालले भने, ‘कोरोनाका कारण तत्काल बरामद वस्तुको परीक्षण सम्भव नभएकोले सरकारी वकिल कार्यालयको रायअनुसार हामीले जमानतमा छोडेका हौँ ।’ उनले पक्राउ परेका व्यक्तिहरूले चितुवा आफैँले मारेको र अर्काे एक जना मानिस पनि यसमा संलग्न रहेको समेत स्वीकार गरेको बताए ।

चितुवाको छाला र हड्डी बोकेर धनगढीतर्फ जाँदै गरेका उनीहरूलाई प्रहरीले बागथलाबाट नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट दुई थान चितुवाको छाला र नौ किलो हड्डी बरामद भएको थियो । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएलगतै सदरमुकाम आएका बुङगल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धनबहादुर सिंहले उनीहरूलाई छुटाउनको लागि प्रहरी, सरकारी वकिल र डिभिजन वन कार्यालयका अधिकारीहरूसँग लबिङ सुरु गरेका थिए । स्रोतका अनुसार उनले सदरमुकामस्थित एक होटलमा प्रहरी इन्सपेक्टरसँग एक जना कानुन व्यवसायीसहित राखेर उनीहरूलाई छुटाउन कुरामा मोलमोलाइ समेत गरेका थिए ।

सामान्यतया अनुसन्धानको क्रममा रहेका र अपराध स्वीकार गरिसकेका व्यक्तिलाई छोड्न नमिल्ने कानुनी प्रावधान रहेको भए पनि सरकारी वकिलको कार्यालयले परीक्षणको प्रतिवेदन नआउँदासम्म हाजिरी जमानीमा छोड्ने राय दिएको र वडा अध्यक्षले नै जमानतमा बस्न तयार भएकोले अभियुक्तलाई छोडिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख कर्णबहादुर खातीले बताए । ‘उनीहरू फरार भए पनि हामी वडा अध्यक्षलाई पक्राउ गर्छाैँ’, खातीले भने ‘कोरोनाका कारण अहिलेको परिस्थिति असामान्य भएकोले पनि उनीहरूलाई हाजिरी जमानीमा छोडिएको हो ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार ध्वासे चितुवा मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिनेदिने आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजायको प्रावधान छ । सामान्य चितुवाको हकमा २० हजार रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । बरामत भएको छाला र हड्डी कुन चितुवाको हो भनेर प्रयोगशालामा परीक्षण गरेपछि मात्रै थाहा हुने डिभिजन वन कार्यालयले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया