Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘नेसनल आईसीटी स्कलरसिप’को आवेदन खुल्ला

‘नेसनल आईसीटी स्कलरसिप’को आवेदन खुल्ला


काठमाडौं, असोज १
कम्प्युटर एसोसिएसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत दुई वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप–२०७७’को लागि आवेदन खुल्ला गरेको छ । क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

क्यानका अनुसार यो छात्रवृत्ति काठमाडौंको मैतीदेवीमा रहेको सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सुरु गरिएको हो । यो छात्रवृत्तिमार्फत यस वर्ष नौ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

‘नेसनल आईसीटी स्कलरसिप–२०७७’मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट एक जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने क्यानले जनाएको छ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पु-याउनमा यस कार्यले टेवा पु-याउँदै आएको छ ।

विगत दुई वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत हालसम्म २८ जना विद्यार्थीहरु अध्ययनरत छन् । यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

क्यान महासंघ र कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ९६ लाख ४२ हजार पाँच सय रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनमा स्नातक तहअन्तर्गत बीएससी आईटीको अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सोसरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिनसक्ने क्यान महासंघले जनाएको छ ।

छात्रवृत्तिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् । छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रीयस्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत २०२० सेप्टेम्बर २५ तारिखभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १२ उत्तीर्ण गरिसकेकाहरुले कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि तथा कक्षा १२ को परीक्षा नभइसकेकाहरुले, कक्षा १२ मा अध्ययनरत रहेको प्रमाणका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।

यस छात्रवृत्तिमार्फत कोभिड महामारी बाबजुद पनि विपन्न वर्गका विद्यार्थीहरुलाई आफ्नो करियर बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए । यो छात्रवृत्तिका निम्ति क्यान महासंघसँगको सहकार्यले डिजिटल–डिभाइड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा सार्वजनिक–निजी साझेदारीको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष इ. पंकज जालानले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया