Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसवारी खुलेपछि बढ्यो चहलपहल

सवारी खुलेपछि बढ्यो चहलपहल


सुबास बस्नेत
दोलखा, असोज १
कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञाले लामो समयदेखि सुनसान बनेको चरीकोट बजारमा सवारी खुलेसँगै चहलपहल बढेको छ । दोलखामा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले लकडाउन हटाए पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

लकडाउन खुलेपछि असारमा जिल्लाभित्र केही समय चलेका सवारी स्थानीय प्रशासनले साउनदेखि निषेधाज्ञा जारी गरेपछि फेरि बन्द भएका थिए । जिल्ला प्रशासन र जिल्ला संकट व्यवस्थापन समितिले भदौ २६ गतेदेखि निषेधाज्ञा खोलेर बजारसँगै जिल्लाभित्र सवारी खोल्ने निर्णय गरेको थियोे । त्यसपछि चलेका सवारीले सदरमुकाम चरीकोटमा मानिस तथा सवारीको चाप बढेको छ । सदरमुकाम चरीकोटबाट सबै गाउँ जाने बस चल्ने तयारी गरे पनि कति स्थानमा जाने बसले यात्रु नपाएको कारण लाइनमा मात्र बस्नुपरेको बसका चालकले बताएका छन् ।

सरकारले आधा यात्रु बोक्न निर्देशन दिए पनि दोलखामा केही बसले भने सिटभरी खचाखच यात्रु राखेको पाइएको छ । रोल्वालिङ यातायात सहकारी संघ दोलखाका अध्यक्ष बालकृष्ण आचार्यले सबै ठाउँमा बस जान तयार रहे पनि यात्रु नभएकै कारण बस सदरमुकाम चरीकोटमै राख्नुपर्ने गुनासो बस चालकले गरेको बताए ।

कोरोनाको त्रासले गाडीमा ओहोरदोहोर गर्ने यात्रुको संख्या न्यून रहेको अरनिको भीमेश्वर यातायात प्रालि चरीकोटले जनाएको छ । जिल्लाका सबै क्षेत्रमा सवारी पुग्न नसकेकै कारण यात्रु पाउन मुस्किल भएको यातायात व्यवसायीहरु बताउँछन् । सवारी ओहोरदोहोर गर्न थालेपछि बजारका होटलमा फाट्टफुट्ट व्यापार हुनथालेको चरीकोटका होटल व्यवसायी कुमार श्रेष्ठले जानकारी दिए । लामो समयदेखि प्रभावित बनेको होटल क्षेत्रमा पनि विस्तारै चहलपहल बढ्नथालेको श्रेष्ठले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया