Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाकार बन्दै नेपालको रेल सपना

साकार बन्दै नेपालको रेल सपना


बटुकनाथ झा
काठमाडौं ।

नेपाली ध्वजावाहक रेल कुदाउने नेपालको सपना साकार हुने भएको छ । नेपालको आफ्नै रेल जनकपुर स्टेसनमा आज प्रवेश गर्ने भएको रेल विभागले जनाएको छ । ‘नेपालीको रेल सपना वास्तविकतामा परिणत हुँदै छ । भोलि (शुक्रबार) नेपालको आफ्नै रेल जनकपुर स्टेसनमा आउँदै छन्’, विभागका महानिर्देशक बलराम मिश्रले बिहीबार साँझ फेसबुकमा लेखेका छन्, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभागका लागि यो विशाल क्षण हो । यसलाई यथार्थमा बदल्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद !’

भारतीय कोंकण रेल्वे कर्पोरेसनले बनाएको दुईवटा नेपाली ध्वजावाहक रेल नेपाल–भारत सीमा जयनगरस्थित आफ्नै स्टेसनमा बिहीबार साँझ नै आइसकेको छ । महानिर्देशक मिश्रका अनुसार दुवै रेल शुक्रबार नेपाललाई कम्पनीले औपचारिक हस्तान्तरण गर्नेछ । जनकपुर–जयनगर चल्ने रेल शुक्रबार मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल हाल भारतको पटनास्थित हाजीपुर स्टेसनमा छ । भारतको पटनास्थित हाजीपुर स्टेसनमा राखिएको रेल जनकपुर आइपुग्न ४ घण्टा समय लाग्ने उनले बताए ।

हाललाई पहिलो चरणमा जनकपुर नजिकै कुर्थासम्मको ३५ किमि रेल ट्र्याक निर्माणसम्पन्न भइसकेको छ । उक्त रेल जयनगरदेखि कुर्थासम्म सञ्चालन हुनेछ । त्यस्तै दोस्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचना निर्माणको काम युद्धस्तरमा भइरहेको विभागले जनाएको छ ।

केही दिनअघि मात्रै विभागले नेपाली रेल सञ्चालन गर्न एक सयभन्दा बढी प्राविधिकको लागि दरखास्त मागिसकेको छ । कम्पनीले सूचना जारी गर्दै प्रशासन, सब–इन्जिनियरिङ, सहायक स्टेसन म्यानेजर, लेखापाल कम्प्युटर अपरेटर, टिकट बिक्रेता, टिकट कलेक्टर, ट्रयाक निरीक्षक, फोरम्यान, इलेक्ट्रिसियन, अमिन गार्ड, टिटिइ, हेल्पर, पोइन्टस म्यान र पुस ट्रली चालकलगायत विभिन्न पदका लागि १ सय २९ जनाको आवेदन माग गरेको थियो ।

यी कर्मचारी छ महिनाका लागि करारमा नियुक्त गर्न लागिएको हो । दुवै रेलको मूल्य करबाहेक ८६ करोड रुपैयाँ रहेको छ । वि.सं. २०७५ पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले भौतिक मन्त्रालयलाई दुईवटा रेल खरिदका लागि सैद्धान्तिक स्वीकृति दिएपछि नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट यी रेल खरिद भएका हुन् । नेपालले उक्त मूल्यको २० प्रतिशत भने सम्झौताअनुसार यसअघि नै भुक्तानी गरिसकेको छ । कोरोना महामारी नभएको भए असारमै नेपाली भूमिमा नेपालको आफ्नै रेल चलाउने सपना पूरा हुने थियो । महामारीकै कारण समय केही पछि धकेलिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया