Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधठेक्का सम्झौता भएको पाँच वर्षपछि पुल निर्माण सुरु

ठेक्का सम्झौता भएको पाँच वर्षपछि पुल निर्माण सुरु


आशिष बहादुर सिंह
बझाड. ।
भूगोलका हिसाबले नेपालको सबैभन्दा ठूलो र दुर्गम साइपाल गाउँपालिका बाटो हुँदै तिब्बत मानसरोबर जाने इङ्गलद्वार पुल निर्माणको काम ठेक्का सम्झौता भएको पाँच वर्षपछि सुरु भएको छ । हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर पुल निर्माण सुरु गरिएको हो ।

झोलुङ्गेपुल निर्माणको लागि आवश्यक पर्ने लठ्ठा, फलामे सामान, सिमेन्टलगायत सम्पूर्ण सामानहरू निर्माणस्थलमा पु-याएर काम सुरु गरिएको र आगामी वर्षको असोजभित्र पुल हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणस्थल अत्यन्तै विकट ठाउँमा भएको र सामग्री ढुवानीमा कठिनाइ भएकाले निर्माण कार्य ढिला भएको निर्माण कम्पनी हरिहरि निर्माण सेवा प्रालिले जानकारी दिएको छ ।

‘सामान ढुवानी गर्न सबै विकल्पहरूमा प्रयास गर्दागर्दै समय बित्यो । मान्छे र खच्चरमार्फत ढुवानी सम्भव नभएपछि अन्तमा हेलिकोप्टर प्रयोग गरेका हौं’, पुल निर्माणको जिम्मा लिएको हरिहरि निर्माण सेवा प्रालिका प्रमुख प्रकाशजंग शाहले भने, ‘अब सबै सामान पुगिसकेकोले धमाधम काम हुन्छ । असोज १५ सम्म पुल हस्तान्तरण हुन्छ ।’ पुल निर्माणस्थल जिल्लाको अन्तिम मानवबस्ती साइपाल गाउँपालिकाको धुली गाउँबाट झण्डै २० किलोमिटर उत्तरमा पर्छ । यो बाटो भएर साइपाल गाउँपालिकाका बासिन्दाको दैनिक कामकाज र पशुपालनका लागि ओहोरदोहोर गर्ने गरेका छन् ।

यही बाटो भएर वार्षिक हजारौँको संख्या यार्सा तथा जडीबुटी संकलकहरू र कैलास मानसरोवर जाने तिर्थयात्रीहरू हिँड्ने गरेका छन् । नदी ठूलो भएको र पारका लागि कुनै पनि विकल्प नभएका कारण स्थानीयले जोखिम मोलेर जंघार तर्ने गरेका छन् । पुल नभएका कारण यो खोला तर्ने क्रममा पाँच वर्षको अवधिमा सात जनाले ज्यान गुमाइसकेका छन् । नदी तर्ने क्रममा वर्षेनी मानिसहरूले ज्यान गुमाइरहेको बारेमा विभिन्न समाचार आएपछि २०७३ साल मंसिरमा स्थानीय विकास मन्त्रालयअन्र्तगतको डोलिडार परियोजनाले यहाँ पुल निर्माणको लागि टेन्डर आह्वान गरेको थियो ।

एक सय २० मिटर लम्बाइ भएको उक्त पुल एक करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने सम्झौता भएको थियो । ढिलै भए पनि पुल निर्माण हुने पक्का भएपछि खुशी लागेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । लामो समयसम्म पुल निर्माणको काम सुरु नगरेपछि ठेकेदार खोज्दै पटक–पटक काठमाडौंँ धाएको बताउने धामीले भने, ‘धेरै लामो प्रयासपछि अब पुल बन्ने पक्का भएको छ । यो पुल निर्माण भएपछि यहाँका आवतजावतमा सजिलो त हुन्छ नै चीनसँगको व्यापार व्यवसायमा पनि फस्टाउनेछ ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया