Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार सोलुखुम्बु आउने

लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार सोलुखुम्बु आउने


महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार नेपाल आएका छन् । खुम्बु क्षेत्रको लोबुचे हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार नासिर बिन हामिद अल खलिफा १८ जनाको टोलीसहित बुधबार नेपाल आएका हुन् । राजकुमारको टोली शेख इशा एअरबेजबाट विशेष विमानमार्फत बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १५ बहराइनी र तीन बेलायती रहेको बताइएको छ । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार बहराइन अधिराज्यबाट राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे हिमाल आरोहणका लागि मंगलबार राति नेपाल प्रस्थान गरेको थियो । नेपाल बसाइमा उनीहरूले गोरखास्थित मनास्लु हिमालसमेत आरोहण गर्ने जनाइएको छ । उनीहरू हिमाल आरोहणका लागि आउनु पर्यटन क्षेत्रका लागि निकै सुखद भएको पर्यटन बोर्डका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।

कोरोनाका कारण पछिल्लो छ महिना हिमाल आरोहण हुन सकेको छैन । यो सुखद सन्देश हो यसबाट नेपाली हिमाल आरोहणमा टेवा पुग्ने निरौलाको भनाइ छ । सगरमाथा नै चढ्ने योजनाका साथ उनीहरू आउनुले खुम्बुको पर्यटन क्षेत्रमा उत्साह थपिएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले बताए ।

लामो समय सुनसान बनेको खुम्बु क्षेत्र सरकारले हवाइ उडान खुलेसँगै खुम्बुमा पर्यटक आउने आशा गरिएको छ । मन्त्रिपरिषद्को भदौ १४ गतेको बैठकले बहराइनका राजकुमारसहितको टोलीलाई नेपालको हिमाल आरोहणका लागि अनुमतिसमेत दिइसकेको छ । झण्डै दुई महिना समयावधिको कार्यक्रमसहित नेपाल आएको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीका रूपमा लिँदै सन् २०२१ मा सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको दूतावासले जनाएको छ ।

सरकारले शरद् ऋतुका लागि हिमाल आरोहण खुला गरिसकेको छ । अहिले एक नेपाली आरोही टोलीले खुम्बु क्षेत्रमा पर्ने सात हजार १२९ मिटर उचाइको बरुन्से हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ । निरौलाका अनुसार अहिलेसम्म एक मात्र टोलीले हिमाल आरोहण अनुमति लिएको छ । बहराइनका राजकुमारसहितको आरोहण टोलीले अनुमति लिँदा दोस्रो टोली हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया