कोभिड १९ को महामारी रोकथाम र सोसँग सम्बन्धित व्यवस्थापनहरूका बारेमा प्रधानमन्त्री अनभिज्ञ रहे कि भन्ने शंका थियो । तर त्यस्तो होइन रहेछ । सो कुरा प्रधानमन्त्रीको पछिल्लो सम्बोधले प्रस्ट पारेको छ । प्रधानमन्त्रीको त्यो सम्बोधनमा भनिएअनुसार पहिलो पटक लकडाउन गरिएदेखि अहिलेसम्मै जनजीवन सामान्य हुन सकेको छैन ।
यस अवधिमा मुलुकभित्रका ६० हजारभन्दा बढीको संख्या महामारीबाट संक्रमित भइसकेका छन् भने ४३ हजारभन्दा बढी संक्रमित यस अवधिमा निको भए । देशभित्र झण्डै चार सय र देशबाहिर विभिन्न मुलुकमा कार्यरत सयौंको संख्यामा नेपालीहरूको ज्यान यो महामारीले लिइसकेको छ । संविधान दिवसको अवसरमा आएको सम्बोधन हुँदा यो सबैभन्दा पछिल्लो विवरण भनिएको हो, जसमा सबभन्दा पछिल्लो विवरण नै व्यक्त भएको छ ।
यो विवरणमा पहिलो लकडाउन भएर फेरि त्यस्तो नगरिने भनी प्रधानमन्त्री आफैँले बताएअनुसार नभएर उपत्यकामा भएको अर्कोे करिब एक महिनाको निषेधाज्ञाको चर्चा गरिएको छैन । किन लकडाउन गरियो, किन खोलियो र फेरि किन निषेध गरियो तथा फेरि किन खोलियो भन्नेचाहिँ यो सम्बोधनमा परेन । त्यसकारण यो ठाउँमा सरकारले त्यस्तो बन्दको औचित्य पुष्टि गर्न चाहेको देखिएन ।
प्रधानमन्त्री आफैँले भनेका छन्, गत सालको चैत ११ गते पहिलो पटक लकडाउन गर्दा त्यसबखत संक्रमितहरूका दुईवटा मात्र केस पहिचान भएका थिए । माथि उल्लेख भएको विवरणअनुसार त्यो लकडाउन र त्यसपछिको बन्दका समयमा यो संक्रमण बढेर ६० हजारभन्दा माथि पुग्दाको कारण सरकारको कमजोरी हो कि नागरिकको भन्ने खुलाइएन । यसले प्रधानमन्त्रीसमेत मौन रहेका भन्ने ठाउँ दियो ।
तर प्रधानमन्त्रीले विगतमा आफ्ना सम्बोधनमा भनेका कुरा सम्झाउँदै भनेका छन्, यी सबै सम्बोधनमार्फत गरिएका काम र गर्ने कामका बारेमा आम देशवासीसँग सम्वाद गरेँ, सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय–समयमा हात धुने मात्रै होइन, आफ्नो आन्तरिक रोगप्रतिरोधी क्षमता वृद्धि गरी सिङ्गो मुलुकलाई ‘निरोगी नेपाल अभियान’मा संलग्न हुनुपर्नेमा जोड दिएँ । त्यसपछि उनले यसको परिणाम सुखद आएको बताए । उनले भने, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरू, सबै प्रकृतिका कामदार र कर्मचारीहरू, तीनवटै तहमा कार्यरत जनप्रतिनिधिहरू, विज्ञहरू, राजनीतिक दल तथा आम नागरिकहरूको महामारी नियन्त्रण रोकथाम र उपचारको यस राष्ट्रिय अभियानमा सक्रिय संलग्नता रह्यो, जुन खुशीको कुरा हो ।’ सम्बोधनको यो अंशले बुझाउन खोजेको कुरा हो, यो महामारी नियन्त्रणमा आइसक्यो । तर यो सत्य थिएन । उनले यस्तो सम्बोधन गरेका दिन मात्रै संक्रमणको दर सरदरमा एक हजारले बढेको थियो । यो भयावह अवस्थाको विस्तार हो ।
एउटै सम्बोधनमा एक ठाउँमा विवरणको जानकारी गराइएको छ र अर्को ठाउँमा भयावहताको अवस्थालाई लुकाउन खोजिएको छ । प्रधानमन्त्रीले भने हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा छन् । परीक्षणको दैनिक क्षमता २३ हजार पाँच सयभन्दा माथि छ भने किन प्रत्येक दिन १० हजारको दरले मात्रै परीक्षण भइरहेको छ ? क्षमताअनुसारको परीक्षण किन भइरहेको छैन भन्ने कुराको जवाफ प्रधानमन्त्रीले दिन सक्नुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया