Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार६ वर्षपछि फेरि जनकपुर आयो रेल

६ वर्षपछि फेरि जनकपुर आयो रेल


बटुकनाथ झा
जनकपुरधाम ।
धेरै समयको प्रतिक्षापछि जनकपुर–जयनगर रेलमार्ग सञ्चालन हुने भएको छ । उक्त रेलमार्ग सञ्चालनका लागि दुईवटा रेल शुक्रबार जनकपुर आएको छ । करिब ६ वर्षपछि जनकपुरमा रेल्वे लिकमा रेल सञ्चालन भएपछि स्थानीयवासी हर्षित भएका छन् । रेलमार्ग मर्मतका लागि सन् २०१४ बाट जनकपुर–जयनगर रेल सेवा बन्द भएको थियो ।

जनकपुर–जयनगर–सीतापुर–बर्दिबास चल्ने रेल शुक्रबार जनकपुरधाम स्टेसनमा आइपुगेको हो । उक्त रेलमा आएका भारतीय अधिकारीले नेपालका अधिकारीहरूलाई रेल्वेसम्बन्धी कागजातहरू हस्तानान्तरण गरेका छन् । भारतीय अधिकारीले रेल विभागका महाप्रबन्धक गुरु भट्टराईलाई रेलसँग सम्बन्धित कागजातहरू हस्तानान्तरण गरेका हुन् ।

रेल सेवा सञ्चालनका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ चैत ४ गतेको निर्णयअनुसार रेल विभाग तथा भारत सरकारअन्तर्गतका कोकन रेलवे कर्पोरेसन लिमिटेडसँग ८३ करोड ९३ लाख ६० हजारमा दुई थान रेल किन्ने सम्झौता गरिएको थियो । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो ।

रेललाई स्वागत गर्न रेल्वे कम्पनी लिमिटेड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागको टोली जनकपुर आइपुगेको थियो । परीक्षणका क्रममा जनकपुर आइपुगेको रेल हेर्न सर्वसाधारणको भीडसमेत लागेको थियो । जनकपुर–जयनगर रेलसेवा बन्द भएको छ वर्षपछि लिग मर्मत र नयाँ रेल निर्माण गरी रेलसेवा सञ्चालनमा आउन लागेको हो । नेपाली रेल एक सय १० किलोमिटर प्रतिघण्टाको स्पीडमा कुद्ने छ । एक पटकमा करिब १३ सय यात्रु बोक्ने क्षमता रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार रेलसेवा विवाह पञ्चमीको दिनदेखि नियमित सञ्चालनमा आउनेछ ।

रेल्वे विभाग नेपालले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी भारतको मद्रासबाट बनाएर हाजिपुर–जयनगर हुँदै जनकपुरधामसम्म ल्याइएको हो । लामो समयको प्रतिक्षापछि बहुप्रतिक्षित कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट दुई सेट रेलको बगी र चारवटा इन्जिन नेपाल ल्याइएको साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया