Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा टिकटक र विच्याट डाउनलोडमा प्रतिबन्ध

अमेरिकामा टिकटक र विच्याट डाउनलोडमा प्रतिबन्ध


वासिड.टन ।
संयुक्त राज्य अमेरिकामा दुई चिनियाँ एप टिकटक र विच्याट डाउनलोड गर्न नपाइने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अन्तिम समयमा टिकटक किनबेचमा सहमति दिएमात्रै प्रतिबन्ध लाग्नेछैन । अन्यथा आइतबारबाट उक्त दुवै एप डाउनलोड गर्न नपाइने बीबीसीले जनाएको छ ।

अमेरिकी डिपार्टमेन्ट अफ कमर्सले अमेरिकामा कुनै पनि प्लेटफर्म र एप स्टोरबाट दुवै एप डाउनलोड गर्न प्रतिबन्ध लगाइने बताइसकेको छ । ट्रम्प प्रशासनले अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने र अमेरिकीहरुको गोप्य विवरण चीन पठाउने आरोप लगाउँदै एपमाथि प्रतिबन्ध लगाउनलागेको हो । तर चीनले भने दुवै आरोपको खण्डन गर्दै आएको छ ।

दुईमध्ये विच्याट आइतबारबाट पूर्णतया प्रतिबन्धित हुनेछ भने टिकटक १२ नोभेम्बरसम्म प्रयोग गर्न सकिनेछ । त्यसपछि भने टिकटक पनि प्रतिबन्धित हुनेछ । टिकटकले भने उक्त आदेशप्रति दुःख व्यक्त गरेको छ । उसले ट्रम्प प्रशासनलाई सबै पारदर्शिता देखाउने प्रतिबद्धता पनि दोहो-याएको छ ।

कम्पनीले अन्यायपूर्ण निर्णयको कानुनी उपचार खोज्ने पनि बताएको छ । आवश्यक प्रक्रियाविनै हचुवामा प्रतिबन्ध लगाइएको टिकटकले आरोप लगाएको छ । त्यस्तै चिनियाँ कम्पनी टेन्सेन्टको विच्याटले पनि अमेरिकी कदमलाई दुर्भाग्य भनेको छ । तर विवाद समाधानका लागि अमेरिकी सरकारसँग छलफल गर्ने र दीर्घकालीन समाधान खोज्ने उसले बताएको छ ।

अगस्ट महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई कम्पनीलाई प्रतिबन्धित गर्ने गरी कार्यकारी आदेश जारी गरेका थिए । उनले अमेरिकी कम्पनीलाई टिकटक किन्न ४५ दिनको समय दिएका थिए । माइक्रोसफ्टले टिकटक किन्न धेरै रुचि देखाए पनि अब यस प्रक्रियाबाट बाहिरिसकेको छ । अहिले अमेरिकी कम्पनी ओरेकल र टिकटकबीच अमेरिकी व्यवसाय खरिदबिक्रीको साझेदारी गर्नेबारे छलफल चलिरहेको छ । यदि ओरेकलले कम्पनीसँग साझेदारी गरे ट्रम्पले त्यसलाई प्रमाणित गरे मात्रै टिकटकमाथि प्रतिबन्ध लाग्नेछैन । राष्ट्रपति ट्रम्पले गत शुक्रबार टिकटकबारे चाँडै सम्झौता हुनसक्ने बताइसकेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया