Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीले मन्त्रीहरू हटाउने

प्रधानमन्त्री ओलीले मन्त्रीहरू हटाउने


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका केही मन्त्री परिवर्तन गर्ने भएका छन् । आइतबार बसेको नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्री परिवर्तन कसरी गर्ने भनेर नेताहरुसँग सुझाव लिएका थिए । ओलीले सुझाव लिए पनि मन्त्री भने आफैंले परिवर्तन गर्ने छन् । पूर्वमाओवादीबाट मन्त्री बनाउनका लागि प्रचण्डसँग नाम मागिए पनि पूर्वएमालेका नेताहरुलाई मन्त्री बनाउने विषयमा भने प्रधानमन्त्रीले आफैँले निर्णय लिने बनाइएको छ ।

नेकपाको सचिवालय बैठक पहिलोपटक पूर्वमाओवादीको पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा बसेको थियो । ओली उक्त पार्टी कार्यालय गएकामा पूर्वमाओवादी कार्यकर्ताले खुसी व्यक्त गर्दै बल्ल पार्टी एकता भएको रुपमा सामाजिक सञ्जालमा प्रचार गर्दै फोटोहरु हालेका थिए । पार्टी एकता भए पनि ओलीले पूर्वमाओवादी कार्याकर्तालाई राजनीतिक कार्यकर्ताको रुपमा मान्दैनन् ।

आइतबारको बैठकमा प्रधानमन्त्रीले सुझाव मागे पनि मन्त्रिपरिषद्का सदस्यहरु परिवर्तनबारे कुनै निर्णय भएन । बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजनाबारे पनि बैठकमा छलफल भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।

यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको जनाइको छ । बैठक सोमबार अपराह्न पुनः बस्नेछ । सोमबारको बैठक भने प्रधानमन्त्री निवास बालुवाटरमा बस्नेछ । स्थायी कमिटीको गत बैठकमा अध्यक्षद्वयबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारितपछि विवाद टुङ्गिएको थियो ।

स्थायी कमिटीको सो बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टी काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो । सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा तयारीका लागि आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक तय गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया