Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाउदी अरबद्वारा श्रम भिसा खुल्ला

साउदी अरबद्वारा श्रम भिसा खुल्ला


काठमाडौं ।
कोभिड १९ को कारण साउदी अरबले बन्द गरेको भिसा सेवालाई खुल्ला गर्ने निर्णय गरेको छ । नेपालस्थित साउदीअरबको काउन्सुलर विभागका अनुसार बिहीबारदेखि श्रम, भिजिट र आवासीय भिसा दिनलागेको हो । योसँगै नेपाली युवाहरु कामको लागि साउदी जानसक्ने भएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अनुसार साउदीले श्रम भिसा दिने निर्णय गरेसँगै कोभिडका कारण रोकिन पुगेका युवाहरु कामको लागि साउदी जान पाउने भएका छन् ।

विभागले भिसाको म्याद लकडाउन अवधिमा सकिएको हकमा भने उक्त भिसा नयाँ निवेदन र मेडिकल रिपोर्टसहित निवेदन दिन आग्रह गरेको छ भने म्याद सकिएको हकमा भने विद्युतीय प्रणालीमार्फत प्रक्रिया अघि बढाउन सकिने बताइएको छ । यस्तै भिजिट भिसा प्राप्त गरेको हकमा भने नयाँ निवेदन दिन आग्रह गरेको छ ।

कोभिडकै कारण साउदीमा रहेका नेपालीहरु फर्किने क्रम जारी रहेको अवस्थामा नेपाली कामदार लैजाने तयारीमा उसले भिसा दिने निर्णय गरेको हो भने संघले भने कोभिड नै भनेर काम नगरी बस्नसक्ने अवस्था नरहेको हुँदा सो निर्णय गरेको बताएको छ । विभागले जारी गरेको सूचनामा मान्यता प्राप्त मेनपावरहरुलाई श्रम, भिजिट र आवसीय भिसा दिनलागेको जानकारी गराएको छ ।

त्यसैगरी यसअघि साउदी सरकारले विदामा घर आएका वा पुनः आगमन (रि–इन्ट्री) भिसामा आएकाहरुको हकमा भने अब कम्पनीले साउदी जान अनुमति दिएको कागजात (नो अब्जेक्सन लेटर) कम्पनीबाट लिनुपर्ने बताएको थियो । कम्पनीले यो लेटर नदिएको खण्डमा पुनः आगमनको भिसा भए पनि यात्रा नगर्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको थियो । यस्तै विदामा साउदी गएका वा पुनः आगमन भिसा भएका तर नेपाल सरकार, वैदेशिक रोजगार कार्यालयले प्रदान गरेको श्रम स्वीकृतिको म्याद सकिन लागेकाहरुले श्रम स्वीकृति लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

वैदेशिक रोजगार विभागका अनुसार लकडाउन अर्थात् चैत महिनामा साउदी अरब जानको लागि भन्दै श्रम स्वीकृति माग नभएको बताइएको छ । त्यसैगरी चैतपछिको महिनाहरुमा भने युवाहरु साउदी जानको लागि श्रम स्वीकृति लिएको पाइन्छ । भदौमा मात्रै साउदीका जानका लागि ५५ जना युवाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा धेरै यूएईका लागि सात सय ७७ पुरुष र ६५ जना महिलाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

यस्तै कतारका लागि दुई सय ५५ जना पुरुष र दुई जना महिला गरी दुई सय ५७ जना, ओमानका लागि ४१ जना, बहराइनका लागि ५६ जना, कुवेतका लागि २५ जनाले श्रम स्वीकृति लिएका छन् भने मलेसिया जानका लागि ३३ जना, अफगानिस्तानका लागि १० जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै जापानका लागि १६ जना, अस्टे«लियाका लागि एक जना, बेल्जियमका लागि एक जना, माल्दिभ्सका लागि ३८ जना, बहराइनका लागि सात जना, क्यानडाका लागि आठ जना, साइप्रसका लागि १५ जना, चेक रिपब्लिकका लागि ४ जना, मालीका लागि एक जना, माल्टाका लागि पाँच जना, नेदरल्याण्डका लागि तीन जना, पोल्याण्डका लागि १४ जना, पोर्चुगलका लागि १३ जनाले श्रम स्वीकृति लिएका छन् । कोरोना भाइरसको महामारीका कारण तथा भिसा अवधि समाप्त भएका कारण साउदीबाट १० हजार आठ सय ५८ जना स्वदेश फर्किएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया