Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्युत् प्रणालीको समस्या समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन

विद्युत् प्रणालीको समस्या समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन


काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले खराब मौसमका कारण विद्युत् वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित सबै उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि भनेका छन् । ‘जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्’, मन्त्री पुनले भने, ‘नियमित विद्युत् सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔँ, नियमित विद्युत् पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौँ, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौँ ।’
मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकविहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिएका थिए । ‘समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्’, मन्त्री पुनले भने, ‘जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमानदारीपूर्वक गरौँ, नियोजित आशंका आफैँ हटेर जान्छन् ।’

मन्त्री पुनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत् अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गरे । मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने÷जाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे ।

ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत् पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताएका थिए । सचिव घिमिरेले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत् उपलब्ध गराउने काममा मन्त्रालय सधैँ गम्भीर रहेको स्पष्ट गरे ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रवीणराज अर्यालले विद्युत् प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिए । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैँ समाधान भएर जाने जानकारी दिए । प्राधिकरणका कर्मचारीले रातदिन नभनी समस्या हटाउँदै विद्युत् सुचारु गरिरहेको उनको भनाइ थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया