Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयातको कमीले सबै शीर्षकका राजस्वमा मार

आयातको कमीले सबै शीर्षकका राजस्वमा मार


काठमाडौं ।
कोरोना भाइरस संक्रमण महामारी कारण विश्वको व्यापार सहज नभएको अवस्थामा यसको असर नेपालमा समेत परेको छ । व्यापारीहरुले भारतलगायत तेस्रो मुलुकबाट सामग्री आयात गर्नसकेका छैनन् । आयातमा कमी हुँदा राजस्व संकलनमा समेत असर परेको देखिएको छ ।

राजस्वको मुख्य स्रोत भनेकै व्यवसायीहरुले भारतलगायत तेस्रो मुलुकबाट आयात गर्ने सामग्रीबाट उठ्ने भन्सार महशुल दर हो । सहज अवस्थामा दैनिक करिब दुई अर्बबराबरको राजस्व संकलन हुने भए पनि हाल भने त्यो सम्भव नरहेको भन्सार विभागले जनाएको छ । यसका साथै विभागले मूल्यअभिवृद्धि, अन्तःशुल्क, सडक सुधारलगायतका शीर्षकमा समेत रकम संकलन गर्ने गर्छ ।

विभागले चालू आर्थिक वर्षको दुई महिना (साउन÷भदौ) अवधिमा ४७ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । यो कुल लक्ष्यको ९४ दशमलव ३३ प्रतिशत हो भने उक्त अवधिमा ५० अर्ब ७१ करोड रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य रहेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा राजस्व संकलन ६० अर्ब ३४ करोड २३ लाख २० हजार थियो भने गत आवको तुलनामा चालू आवको सोही समयमा १२ अर्ब ५० करोड रुपैयाँले राजस्व संकलनमा कमी आएको छ । साउनमा २२ अर्ब ८४ करोड ६९ लाख राजस्व संकलन रहेकोमा भदौमा भने राजस्व संकलनमा वृद्धि हुँदै २४ अर्ब ९८ करोड ८२ लाख छ ।

यता व्यापारतर्फ भने दुई महिनाको अवधिमा गत आवको सोही समयको तुलनामा २२ प्रतिशतले अर्थात् ५० अर्ब ६५ करोड ७४ लाखले आयातमा कमी आएको छ । चालू आवमा आयात एक खर्ब ७८ अर्ब ८४ करोड रहेकोमा गत आवको सोही समयमा आयात दुई खर्ब २९ अर्ब ५० करोड रहेको थियो ।

यस्तै मुलुकको व्यापार घाटालाई सहयोग पु-याउने क्रममा निर्यातमा भने वृद्धि भएको छ । उद्योगीहरुले सीमित उद्योगहरु सञ्चालन गरेको अवस्थामा समेत निर्यातमा भने गत आवको तुलनामा वृद्धि भएको पाइन्छ । साउन र भदौमा गरी निर्यात गत आवको तुलनामा १० प्रतिशतले अर्थात् एक अर्ब ९४ करोड १२ लाखले वृद्धि भएको छ । चालू आवमा निर्यात २० अर्ब ४४ करोड ३० लाख रहेकोमा गत आवको सोही समय अर्थात् दुई महिनाको अवधिमा निर्यात १८ अर्ब ५० करोड १८ लाख रहेको थियो ।

यस्तै सोही अवधिमा व्यापारघाटा २५ प्रतिशत अर्थात् ५२ अर्ब ५९ करोड ८६ लाखले कमी आएकोे छ । दुई महिनाको अवधिमा मुलुकको व्यापारघाटा एक खर्ब ५८ अर्ब ४० करोड रहेकोमा गत आवको सोही अवधिमा मुलुकको व्यापारघाटा दुई खर्ब ११ अर्ब १८ लाख रहेको छ ।

त्यसैगरी साउन र भदौमा वैदेशिक व्यापारतर्फ भने २० प्रतिशत अर्थात् ४८ अर्ब ७१ करोड ६२ लाखले कमी आएको छ । चालू आवको साउन र भदौमा वैदेशिक व्यापारको स्थिति एक खर्ब ९९ अर्ब २८ करोड ९३ लाख रहेको छ भने गत आवको सोही समयमा वैदेशिक व्यापारको स्थिति दुई खर्ब ४८ अर्ब ५५ लाख रहेको थियो ।
यस्तै आयातनिर्यात सूचकांकमा समेत चालू आवको दुई महिनाको अवधिमा २९ प्रतिशतले कमी आएको छ । चालू आवको दुई महिनामा नौ प्रतिशत रहेकोमा गत आवको सोही समयमा १२ प्रतिशत रहेको थियो ।

यता चालू आवको दुई महिनाको अवधिमा आयात सेयरमा तीन प्रतिशतले कमी आएको छ । चालू आवमा ९० प्रतिशत रहेकोमा गत आवको सोही समयमा ९३ प्रतिशत रहेको थियो । चालू आवको साउन र भदौमा निर्यात सेयरमा भने ३७ प्रतिशतले वृद्धि भएको छ । दुई महिनाको अवधिमा १० प्रतिशत रहेको निर्यात सेयर गत आवको सोही समयमा सात प्रतिशत रहेको थियो ।

विभागका अनुसार नेपालको सयभन्दा बढी मुलुकसँग व्यापार हुने गरेको छ भने यसमध्ये धेरैजसो मुलुकसँग नेपालले गर्ने व्यापारमा घाटा व्यहोरेको छ । मुलुकमा कृषि उपजहरु पर्याप्त उत्पादन नहुने, औद्योगिक कच्चा पदार्थ उत्पादन नहुने, उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको खेती नहुनु तथा खनिज पदार्थहरु उत्खनन गर्न नसक्नुको कारणले गर्दा नेपालले अन्य मुलुकसँगको व्यापारमा घाटा व्यहोर्नुपरेको सरोकारावालाहरु बताउँछन् ।

उनीहरुले सरकार तथा निजी क्षेत्रले उद्योग चलाउनको लागि आवश्यक कच्चा पदार्थ मात्र अर्थात् कृषिजन्य कच्चा पदार्थ मात्र मुलुकमा उत्पादन गर्ने हो भने मुलुक आत्मनिर्भर बनी वैदेशिक व्यापारको सूचकांक मुलुकको पक्षमा हुने बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया