Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविवादमै अल्झियो कालिञ्चोक गाउँपालिका

विवादमै अल्झियो कालिञ्चोक गाउँपालिका


सुबास बस्नेत
दोलखा ।
दोलखाको उत्तरी क्षेत्रमा रहेको कालिञ्चोक गाउँपालिकाले पालिकाको केन्द्रलगायतका विषयमा पटक–पटक विवाद झेल्दै आएको छ । स्थानीय निर्वाचन भएको चार वर्ष बितिसक्दा पनि पालिकाले स्थायी केन्द्र टुङ्गो लगाउन नसक्दा गाउँपालिका कामकाज नै रोकिन थालेका छन् । हाल गाउँपालिकाका अस्थायी केन्द्र नै दुई ठाउँमा रहेका छन् । पालिकाका केन्द्रको विवादले कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन ।

चालू आर्थिक वर्ष सुरु भएको तीन महिना बित्न लाग्दासमेत बजेट नल्याएको भन्दै स्थानीय युवाहरूले आइतबार कालिञ्चोक गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । कानुनअनुसार असारमा नै सार्वजनिक गरिसक्नुपर्ने बजेट चालू आर्थिक वर्ष सुरु भएको तीन महिना बित्न लाग्दासमेत ल्याउन नसकेको भन्दै युवाहरूले गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् । ‘कालिञ्चोकका जनता के भन्छन्, विकास बजेट ले भन्छन्’ भन्ने मात्र नारा लगाउँदै करिब तीन सय युवाहरूले आइतबार कार्यालय घेराउ गरेको स्थानीय निरज आचार्यले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठकबीचको गाउँपालिकाको स्थायी केन्द्र विवादले बजेट पास नगरेपछि स्वस्फूर्त रूपमा युवाहरूले नेपालको झन्डासहित पालिका कार्यालय घेराउ गरेको स्थानीयहरूको भनाइ छ । सार्वजनिक सम्पत्तिलाई पेवा ठानेर विकास बजेटलाई बन्धक बनाएको भन्दै युवाहरूले १० बुँदे ज्ञापनपत्र समेत बुझाएको स्थानीय बालकृष्ण आचार्यले जानकारी दिए ।

केही दिनभित्र बजेट पास गरी सार्वजनिक नगरे युवाहरूले थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । २०७७ असार २३ गते गाउँ परिषद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भए पनि समय अभावको कारण स्थगित परिषद् अहिलेसम्म बस्न सकेको छैन । बजेट नआएका कारण गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा नियमित वितरण गर्नुपर्ने औषधि खरिद हुन नसकेर सकिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया