Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदेशदर्शनद्वारा पर्यटक बससेवा सुरु

देशदर्शनद्वारा पर्यटक बससेवा सुरु


काठमाडौं ।
देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बस सेवा सुरु गरेको छ । पछिल्लो समय विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै छ महिना लामो बन्दाबन्दी र निशेषधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

यसअघि दिवा सेवामार्फत पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका बाबा एडभेन्चर ट्राभल्स, बेन्चमार्क ट्राभल्स र दीपज्योति एडभेन्चर ट्राभल्सले देशदर्शन बस सेवा प्रालिमार्फत १६ वटा पर्यटक बसले पर्यटकलाई दिवा तथा रात्रिकालीन सेवा प्रदान गरेका हुन् । झण्डै १२ करोड रुपैयाँको लगानीमा सुरु भएको बससेवा असोज १ देखि नै सुरु भइसकेको छ ।

प्रालिका अध्यक्ष श्रीकान्त आचार्यले मुख्य–मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गर्न लागेको बताए । ‘कोभिड–१९ पछि पर्यटकीय बस पूर्णरूपमा सुरक्षित भएको महसुस गराएर बससेवा सञ्चालन गरेका छौँ’, उनले भने । आन्तरिक तथा बाह्य पर्यटक बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइज गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाइएको अध्यक्ष आचार्यले बताए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो संक्रमणका कारण स्थगन गरिएको थियो । देशदर्शन बस सेवा प्रालिले काठमाडौँ–पोखरा दिवा तथा रात्रि, काठमाडौँ–जनकपुर रात्रि, काठमाडौँ–वीरगञ्ज रात्रि, काठमाडौँ–लुम्बिनी दिवा तथा रात्रि, काठमाडौँ–चितवन दिवा, चितवन–पोखरा दिवा र काठमाडौँ–मुक्तिनाथ दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्नलागेको प्रालिका सञ्चालक प्रह्लाद लोहनीले बताए ।

उक्त बससेवा काठमाडौँको बौद्धबाट सुरु भएर अन्त्यमा सोह्रखुट्टे भएर छुट्नेछ । हाल काठमाडौँदेखि मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झण्डै एक सय पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेको कम्पनीको भनाइ छ । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।

पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् । रातको समयमा भने ग्यारेजमा शुल्क तिरेर राख्नुपर्ने बाध्यता छ । कोभिड–१९ को संक्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीनदेखि चार हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु-याउँदै आएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया