Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोनाका कारण वीरगञ्ज महानगरको विकास निर्माणका योजनाहरू प्रभावित

कोरोनाका कारण वीरगञ्ज महानगरको विकास निर्माणका योजनाहरू प्रभावित


सन्तोष पौडेल
बीरगञ्ज ।
कोरोना महामारीको कारण वीरगञ्ज महानगरको विकास निर्माणका योजनाहरू प्रभावित भएको छ । गत चैतदेखि भदौसम्म वीरगञ्जमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएर विकराल रूप लिँदा उद्योग–व्यापारसँगै विकास निर्माणमा पनि नकारात्मक असर परेको छ ।

महानगरको विभिन्न योजनाका कामहरू अहिले ठप्प छन् । उक्त योजनाहरू कात्तिकपश्चात् मात्र सुरू हुने देखिएको छ । गत आव २०७६÷०७७ मा वीरगञ्ज महानगरको करिब १८ करोड रूपैयाँ फ्रिज भएर महानगरकै खातामा बसेको छ । सरकारले गत वर्षको बजेट फिर्ता लिएको छैन । आगामी पुस मसान्तभित्र काम गरी फछर्योट गर्ने तयारीमा महानगर छ ।

महानगरका लेखा अधिकृत रूपनारायण राउतका अनुसार वीरगञ्ज महानगरले केन्द्र सरकारबाट पाएको १५ करोड र प्रदेश सरकारबाट पाएको तीन करोड गरी कुल १८ करोड रूपैयाँ खर्च गर्न नसकेर फ्रिज भएको हो । गत आवमा वीरगञ्ज महानगरले चार अर्ब ७२ करोड ७८ लाख २६ हजारको बजेट विनियोजन गरेकोमा एक अर्ब ८५ करोड ५८ लाख ३६ हजार रूपैयाँ खर्च गरेको थियो । जसमा चालूतर्फ एक अर्ब २१ करोड ७२ लाख र पुँजीगततर्फ ६३ करोड ८६ लाख १४ हजार खर्च भएको उनले बताए । गत वर्ष केन्द्र सरकारबाट महानगरले ससर्त अनुदानतर्फ चार शीर्षकमा रकम पाएको थियो ।

संघीय सरकारबाट हस्तान्तरित कार्यक्रममा ७१ करोड ५० लाख, समपुरकमा तीन करोड २४ लाख, विशेषमा दुई करोड र समानीकरणमा ४४ करोड १४ लाख गरी कुल करिब ७७ करोड केन्द्र सरकारबाट अनुदान प्राप्त गरेको थियो । जसमा समानीकरणको ४४ करोड रकमबाहेक तीनवटा शीर्षकको रकम फ्रिज भएको हो ।

त्यस्तै, तीन शीर्षकको ७७ करोडमध्ये गत आवमा कुल ६२ करोडको मात्र खर्च भएको उनले स्पष्ट पारे । त्यसैगरी, प्रदेश २ सरकारबाट पाएको तीन करोडमध्ये सबै रकम फ्रिज भएको लेखा अधिकृत राउतको भनाइ छ । अवस्था जटिल बन्यो, काम नभएर बजेट फ्रिज भयो, उनले भने, सरकारले आगामी पुस मसान्तभित्र काम गरी फछ्र्योट गर्ने योजना ल्याउँदै छ ।

आगामी चार महिनामा काम भयो भने महानगरको खातामा फ्रिज भएको रकम फिर्ता जाँदैन, यदि सो अवधिमा पनि भएन भने रकम फिर्ता जान्छ । वीरगञ्ज महानगरले गत आवमा आन्तरिक स्रोत राजस्व बाँडफाँड समेतबाट करिब ५४ करोड रूपैयाँ खर्च गरेको जनाएको छ । गत आवको अन्तिम चौमासिकमा विभिन्न वडामा सडक, नाला, विद्यालय, कल्भर्ट, धर्मशालालगायतका निर्माण योजना त्यसै रकमबाट भएको जनाइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया