Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटिबानका बसको टिकट अनलाइनमार्फत बुकिङ्ग गर्न सकिने

टिबानका बसको टिकट अनलाइनमार्फत बुकिङ्ग गर्न सकिने


काठमाडौं ।
नेपालमा नै पहिलोपटक टुरिष्ट यातायात व्यवसायीहरुले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने भएका छन् । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिबान)ले आफ्ना सम्पूर्ण बसहरुको टिकट अनलाइनमार्फत बिक्री गर्ने भएको हो ।

टिबानले अनलाइन टिकट बिक्रीको लागि इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (ईसीआरसी) प्रालिसँग गत बिहीबार सम्झौता गरेको छ । ईसीआरसीसँगको सम्झौतापछि टिबानले आफ्ना नेपालभर सञ्चालन हुने टुरिष्ट बसहरुको टिकट अनलाइनमार्फत नै बुकिङ्ग गरि बिक्री गर्न सक्नेछ ।

टिबानका अध्यक्ष ईश्वर प्रसाद उपाध्याय तथा ईसीआरसीका अध्यक्ष संजीत पौडेलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौतापछि टिबानमा आबद्ध कम्पनीका पर्यटन सार्वजनिक यातायातको रुपमा सञ्चालनमा रहेका सवारी साधनहरुको टिकट अनलाइन तथा एपबाटै बुकिङ्ग गर्न सकिनेछ ।

पछिल्लो दिनमा कोभिड १९ को महामारीले गर्दा नेपालको पर्यटन सेवा संकटग्रस्त भएको सन्दर्भमा यात्रुहरुलाई सुरक्षित र सहजरुपमा पर्यटन सार्वजनिक यातायातका साधनहरु उपलब्ध गराउने उद्देश्यका साथ यो सम्झौता भएको टिबानले जनाएको छ । ‘हाम्रो एसोसिएसनअन्तरगत सञ्चालनमा रहेका सम्पूर्ण पर्यटन सार्वजनिक यातायातका साधनहरु सरकारी मापदण्डअनुसार स्वास्थ्य प्रोटोकल पालना गर्दै सञ्चालन गरिरहेका छौँ र सम्झौतापछि अनलाइनबाटै टुरिष्ट बसको टिकट उपलब्ध गराउने छौँ’, टिबानका अध्यक्ष उपाध्यायले भने ।

कोभिड १९ पछि सम्पूर्ण सेवाहरु अनलाइनमा गइरहेको सन्दर्भमा पयर्टन सेवा पनि अनलाइनमा आधारित भएर भरपर्दो र विश्वसनीय सेवा दिन तयार भएको सन्देश दिन चाहेको उनले बताए ।

‘हरेक सेवाहरु अनलाइनमा आधारित भइरहेको बेला अब टुरिष्ट बसको सेवा पनि डिजिटलमा गएको छ, सम्झौतापछि यात्रुहरुलाई सहजरुपमा भरपर्दो सेवा सूपथ मूल्यमा डिजिटल प्रविधिमार्फत उपलब्ध गराउन सकिनेछ’, ईसीआरसीका अध्यक्ष सञ्जीत पौडेलले भने । एसोसिएसनले यात्रु तथा पर्यटकहरुलाई आवश्यकताअनुसार विभिन्न स्थानहरुमा जानका लागि पर्यटन सार्वजनिक यातायात सेवा उपलब्ध गराउँदै आएको छ ।

सम्झौताअनुसार दशैंको लागि टिबानका पर्यटक सार्वजनिक यातायातका साधनहरुको अग्रिम बुकिङ्ग अनलाइन सिस्टममार्फत सुरु गरिनेछ । सुरुवाती चरणमा पर्यटक सार्वजनिक यातायातको सेवा काठमाडौंदेखि पोखरा, नारायणघाट, लुम्बिनी, जनकपुरमा उपलब्ध हुनेछ भने क्रमशः अन्य सहरहरुमा पनि सेवा बिस्तार गरिने टिबानले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया