काठमाडौं ।
कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको छ महिनाभन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यावसायिक क्षेत्र धराशायी भएको भन्दै निजी क्षेत्रले अब लकडाउन नगर्न सरकारसँग आग्रह गरेको छ । राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वको एक प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटी मुलुकले अब थप अनिश्चितकालीन बन्द थेग्न नसक्ने भन्दै यसको विकल्पमा ध्यान दिन आग्रह गरेको हो ।
पहलका अध्यक्ष कुशकुमार जोशीले सरकारले लकडाउन खुकुलो पारेसँगै विस्तारै अर्थतन्त्रले गति लिन सुरु गरेको बताए । कोभिडले निम्त्याउनसक्ने जोखिम समाजमा केही वर्षसम्म रहनसक्ने विज्ञहरुले अनुमान गरेकाले सम्भावित जोखिम न्यूनीकरण गरी व्यावसायिक क्रियाकलापलाई सुरक्षित एवं वैज्ञानिक रुपमा सञ्चालन गर्न निजी क्षेत्र प्रतिवद्ध रहेको उनको भनाइ थियो । यसमा सरकारको ठोस सहयोगको आवश्यकता रहेको जोशीले बताए ।
मुलुकको सामाजिक तथा आर्थिक क्षेत्र थप धराशायी हुन नदिन अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा सुरुवाती चरणदेखि नै पहलले जोड दिँदै आएको उनले बताए । उनले महामारी सुरु हुनासाथ अत्यावश्यकीय वस्तुसेवा लगायत सम्पूर्ण क्षेत्र क्रमशः सुचारु गर्दै जानुपर्ने आवश्यकता महशुस गरी पहलले तत्कालै कोभिड १९ का लागि ‘आधारभूत व्यावसायिक योजना पूर्वतयारी एवं सञ्चालन योजना’ सार्वजनिक गरी आम उद्योग व्यवसाय सञ्चालनको आधार तयार गरेको बताए ।
साथै उनले स्वास्थ्य सुरक्षा सामग्री सरकारलाई हस्तान्तरण गरेको, क्षेत्रगत रुपमा सबै क्षेत्रमा प्रोटोकल निर्माणमा सहयोग एव प्रेरित गरिरहेको र हाल स्तरीय प्रोटोकल निर्माणको प्रक्रियामा रहेकोे जानकारी दिए । यसको कार्यान्वयनका लागि सरकार, जनस्वास्थ्य अधिकृत तथा राष्ट्रिय व्यावसायिक पहल सम्मिलित अनुगमन टोली गठन गर्ने, उक्त प्रोटोकलको पालना भए नभएको अनुगमन/मूल्यांकन गरी प्रमाणित गर्ने व्यवस्था मिलाई यसलाई मुलुकभरका सवै स्थानीय निकायहरुमार्फत लागू गर्न उनले सरकारसँग अनुरोध गरे ।
पीसीआर परीक्षणलाई नियमावली बनाई मितव्ययी र पारदर्शीरुपमा अगाडि बढाउनको लागि सरकारसँग आग्रह गर्दै अध्यक्ष जोशीले सरकारी सेवा प्रवाह हुने क्षेत्रलाई थप सुधार गरी व्यवस्थित बनाउनपर्ने, सबै निकाय खासगरी जनसम्पर्क बढी हुने कार्यालयहरु प्रोटोकल तयार गरी त्यसको पूर्णपालना गर्नु गराउनुपर्ने, सम्भव भएसम्म सरकारी कार्यमा अनलाइन सेवालाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विप्रेषणमा आधारित नेपाली अर्थतन्त्र, पर्यटन क्षेत्र, सेवा व्यापार, यातायात क्षेत्र, निर्यात व्यापार, रोजगारी कटौती लगायत साना, मध्यम तथा ठूला सबै खालका व्यवसाय धराशायी भएको बताउँदै समग्र अर्थतन्त्रको सूक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालीन तथा दीर्घकालीन योजना, राहत तथा पुनरुत्थानका कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
पहलका महासचिव सुरेन्द्रवीर मालाकारले विभिन्न समस्याका बीच अघि बढिरहेको नेपालको औद्योगिक व्यावसायिक क्षेत्रमा कोभिडले थप नयाँ गम्भीर चुनौती सिर्जना गरेको बताउँदै यसको समाधानमा सरकार तथा निजी क्षेत्रको ठोस सहकार्यको आवश्यकता रहेको औल्याए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निजी क्षेत्रबाट प्राप्त महत्वपूर्ण सुझावलाई स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक लिएको र यसको कार्यान्वयनका लागि सम्बन्धित सबै निकायसँग सहकार्य गरी अघि बढ्ने बताए । सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा नरहेको उनले बताए । सीमित स्रोत र साधनका बाबजुद सरकारले अधिकतम सेवा पु-याउन प्रयासरत रहेको भन्दै आमनागरीकले निर्धारित मापदण्डको पालना गर्न सहयोग गर्नुपर्ने बताए ।
प्रतिनिधिमण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं राष्ट्रिय व्यावसायिक पहलका कोषाध्यक्ष दिपक मलहोत्रा, रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी एवं होटल एसोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया