Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई नै कोरोना पुष्टि

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई नै कोरोना पुष्टि


वासिड.टन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएका छन् । बिहीबार चुनावी कार्यक्रमबाट फर्केका ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पुष्टि भएपछि गरिएको परीक्षणमा राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पको रिपोर्ट पनि पोजिटिभ आएको हो ।

संक्रमित भएसँगै ह्वाइट हाउसमै बसेका ट्रम्पलाई ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि अमेरिकी सेनाको विशेष अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई शुक्रबार राति वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उनका विभिन्न औषधि मिश्रित खोप दिइएको चिकित्सकहरुले जनाएका छन् । उनको उपचारमा संलग्न डा. कनलीले जारी गरेको विज्ञप्तिका अनुसार सावधानी अपनाउनका लागि रेजेनेरोन पोलीक्लोनल एन्टिबडी मिश्रणको ८ ग्राम’ खुवाइएको छ । उक्त औषधि शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको उनको भनाइ छ ।

राष्ट्रपति कार्यालयबाट अस्पतालतर्फ प्रस्थान गर्ने क्रममा उनी मास्क लगाएको अवस्थामा देखिएका थिए । उनी राष्ट्रपति कार्यालयबाट अस्पतालसम्म हेलिकोप्टरमा गएका हुन् । अस्पताल जानुअघि उनले दिएको भिडियो सन्देशमा आफूले आराम नै महसुस गरिरहेको तर थप सुरक्षित र सुनिश्चित हुन अस्पताल जान लागेको बताएका छन् ।

अस्पताल पुगेपछि पहिलो ट्विट गर्दै शुक्रबार राति उनले लेखेका छन्, ‘मलाई राम्रो भइरहेको छ, सबैलाई धन्यवाद छ । माया छ ।’ अमेरिकामा राष्ट्रपति चयनका लागि निर्वाचन हुन गइरहेका बेलामा उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति ट्रम्प संक्रमित भएका हुन् । उनले आफू कोरोनाभाइरसबाट संक्रमित भएको शुक्रबार सार्वजनिक गरेका थिए ।

उनी बिहीबार मध्याह्न एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि संक्रमित भएको बताइएको छ । उनीसँगै उनकी पत्नी मेलानिया पनि संक्रमित भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामान्य नै रहेको भिडियोमार्फत जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले आफू अस्पतालभित्रै रहे पनि काम भने गरिरहने योजना बनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले उपराष्ट्रपतिलाई कार्यवाहकको जिम्मेवारी दिएका छैनन् । उनी अहिले ७४ वर्षका छन् । यो उमेर समूह कोरोना संक्रमितहरुका लागि अत्यन्त खतरापूर्ण उमेर समूह मानिन्छ ।

विश्वमै सबैभन्दा धेरै मानिसहरु कोरोनाभाइरसबाट संक्रमितहरु रहेको मुलुक अमेरिकामा राष्ट्रप्रमुखलाई नै संक्रमण भएपछि थप त्रास फैलिएको छ । अमेरिकामा अहिलेसम्म दुई लाख पाँच हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । यसैबीच, ट्रम्पलाई विश्वभरका नेताहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।

चीन, रुस, भारत, दक्षिण कोरिया, बेलायत, जर्मनी, नेपाल, पाकिस्तान, उत्तर कोरिया, ब्राजिल, इजरायल, फ्रान्सलगायतका देशका राष्ट्र तथा सरकार प्रमुखहरुले ट्रम्प दम्पतीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । ट्रम्प दम्पतीसहित उनका चुनावी प्रचार प्रमुख, उनका पार्टीका माथिल्लो सदनका दुई सदस्य, सल्लाहकारलगायतलाई पनि कोरोना संक्रमण भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया