Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअसहज परिस्थितिमा पनि सेजको विकास

असहज परिस्थितिमा पनि सेजको विकास


काठमाडौं ।
असहज परिस्थितिका बाबजुद विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को विकासले निरन्तरता पाएको छ । कोभिडको कारण कहिले खुल्ला र कहिले बन्दाबन्दीको बीच पनि भैरहवा सेज तथा पाँचखाल सेजको विकासक्रम जारी रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका सूचना अधिकारी सुन्दर थापाले भैरहवा सेजमा नयाँ उद्योग थप हुने क्रम जारी रहेको तथा पाँचखालमा भने भौतिक संरचना निर्माणको कामहरु भइरहेको बताए ।

‘भैरहवा सेजामा यस आर्थिक वर्षमा करिब तीन/चारवटा उद्योग थप हुनेछन्’, उनले भने, ‘पाँचखाल सेजमा भने भवन निर्माणको काम जारी रहेको छ । यदि कोभिडको असर कम हुँदै गएमा भने सेजको विकासमा सकारात्मक ढंगले अघि बढ्नेछ ।’

त्यसैगरी सिमरा सेजमा भने गार्मेन्टको समस्या समाधान गर्ने तथा अन्य उद्योगहरु समेत आउन दिने वातावरण मिलाउने तयारी भएको बताइएको छ । गार्मेन्ट उद्योगीहरुले भाडादर महँगो भएको भन्दै सिमरा सेजमा आउन चाहेका छैनन् । यसरी असामान्य अवस्थामा पनि सेजमा उद्योग तथा उद्योगीहरु आउने क्रम भने चलिरहेको बताइएको छ भने स्वदेशी उद्योगी तथा व्यवसायीमार्फत भैरहवा सेजमा स्थापनाकालदेखि केही महिना अघिसम्म चार अर्ब चार करोड ५० लाख ६ हजार २ सय १८ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

करिब २० वटा उद्योग स्थापना गर्ने भन्दै उद्योगी तथा व्यवसायीहरुले भैरहवा सेजमा उद्योग दर्ता गराइसकेका छन् भने उनीहरुले चार अर्ब चार करोड ५० लाख रुपैयाँभन्दा बढी रकम लगानी गर्ने समेत बताउँदै आएका छन् । २० वटा उद्योगका लागि करिब १ लाख २० हजारभन्दा बढी वर्गमिटरको क्षेत्रफल प्रयोग गर्ने बताइएको छ ।

सेजअन्तर्गत चुनढुंगा उत्पादन गर्ने शक्ति मिनरल्स प्रालिका महाप्रबन्धक लक्ष्मण ठकुरीले सेजअन्तर्गत उत्पादन सुरु गर्ने शक्ति मिनरल्स प्रालि पहिलो भएको बताँउदै आएका छन् । शक्ति मिनरल्स उद्योगले मात्र भैरहवा सेजमा उत्पादन तथा निर्यात गरेको छ ।

त्यसैगरी न्युमेटल, पञ्चकन्या, न्योनो हर्बल, सिद्धार्थ पाइप, ग्रो वेल इनोभेसन लगायतका उद्योगहरु स्थापना गर्ने भन्दै भैरहवा सेजमा दर्ता भएका छन् । यस्तै न्यूमेटल उद्योगले सेजमा रहेर स्टिलका भाडाहरु उत्पादन गर्ने प्राधिकरणले जनाएको छ । ८५ करोड १० लाख रुपैयाँ लगानी रहेको सो उद्योग १७ हजार ९ सय ९ वर्गमिटरमा निर्माण हुनेछ । उद्योगले १ सय ३० जनालाई रोजगारी दिने जनाएको छ ।

प्राधिकरणले सेजमा बिजुली, सडक, पानी, गोदामलगायतको व्यवस्थापन गर्ने बताउँदै आएको छ । पछिल्लो समय भैरहवा सेजामा भने सबस्टेसन निर्माण नहुँदा समस्या भएको थियो भने पाँचखालमा भवन, बिजुली, सडक, गोदामलगायतका संरचना निर्माणको क्रम जारी रहेको छ ।

देशमा चुलिँदै गएको व्यापारघाटालाई न्यूनीकरण गरी निकासीको प्रवद्र्धनात्मक विकास गर्ने उद्देश्यले सरकारले १५ माघ २०६० मा सेजको स्थापना तथा विकास गर्ने बताएको थियो । पछिल्लो समय सरकारले सेजको जिम्मेवारी कार्यकारी निर्देशकको रुपमा बलराम रिज्याललाई प्रदान गरेको छ । भदौ दोस्रो सातामा मन्त्रिपरिषद् निर्णय गर्दै रिज्याललाई सेजको जिम्मेवारी दिएको हो जसले गर्दा सेजको विकासमा सहयोग पुगेको छ ।

विशेष आर्थिक क्षेत्र ऐन २०७३ अनुसार १८ असोज २०७३ मा प्राधिकरण स्थापना भएको हो । निर्यात प्रवर्द्धन, व्यापार घाटा घटाउने, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, विदेशी लगानी र प्रविधि भित्र्याउने लगायतका उद्देश्यका साथ सेजको स्थापना गरिएको हो । सोही उद्देश्यलाई सहजताका साथ पूरा गर्नका लागि भनेर व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ विशेष आर्थिक क्षेत्र ऐज २०७३ को पहिलो संशोधन समेत गरिएको छ ।

संशोधनसँगै सेजमा रहेका उद्योगले उत्पादनको ६० प्रतिशत निर्यात गरे पुग्ने, पहिलो पाँच वर्ष शतप्रतिशत र त्यसपछिका वर्षहरुमा ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएको छ । सुरुवातमा प्रतिवर्गमिटर १५० रुपैयाँ भाडादर कायम गरिएकोमा हाल २० रुपैयाँ रहेको छ भने न्यूनतम लगानी पाँच करोडलाई घटाएर दुई करोडमा झारिएको छ । भैरहवाका साथै विराटनगर, सिमरा, पाँचखाल, गोर्खा, भैरहवा, जुम्ला, धनगढीमा सेजको स्थापना गर्ने सरकारको उद्देश्य रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया