Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्याङ्जाका पहिरो पीडितलाई राहत वितरण

स्याङ्जाका पहिरो पीडितलाई राहत वितरण


स्याङ्जा ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा पहिरोमा परी मृत्यु भएका तथा घाइते भएकाहरुको परिवारलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी राहत रकम हस्तान्तरण गरेकी छिन् । मन्त्री अर्यालले पहिरो पीडितको घरमै पुगेर नेपाल सरकार र सहकारी अभियानको तर्फबाट नगद १८ लाख ५ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेकी हुन् ।

मन्त्री अर्यालले वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका केही दिनअघि गएको पहिरो पीडितलाई सहयोग हस्तान्तरण गरेकी हुन् । गत असोज ८ गतेको पहिरोमा परी मृत्यु भएकी वालिङ नगरपालिका–१४ की माया नेपालीको परिवारलाई १० लाख २० हजार प्रदान गरिएको छ ।

राहत रकम नेपाल सरकारको तर्फबाट सात लाख र मन्त्रालयको पहलमा तीन लाख रकम उपलब्ध गराइएको हो । असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको आठ जना परिवार र बहिनी उमाकला गरी नौ जनाको मृत्यु भएको थियो । यसैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका–४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई पनि राहत प्रदान गरेकी छिन् ।

असोज ८ गते मृत्यु भएका १७ वर्षीय विष्णु दमैको परिवालाई केन्द्र सरकारको तर्फबाट दुई लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गरिएको छ । यसैगरी पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५÷५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको छ । यसैगरी गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई सहकारी संघका तर्फबाट २०/२० हजार र बिस्थापित चार परिवारलाई १५/१५ हजार राहत प्रदान गरिएको छ ।

यस्तै वालिङ नगरपालिका–११ मा पहिरोबाट मृत्यु भएका दुर्गाबहादुर थापाको परिवार तथा घाइतेहरुलाई दुई लाख ५० हजार, घाइते मुना थापालाई २० हजार, नारयणी सिञ्जाली १० हजार, दिलबहादुर परियारलाई १० हजार रुपैयाँ राहत रकम उपलब्ध गराईएको छ । मन्त्री अर्यालको संयोजनमा नेपाल सरकार, प्रदेश सरकार तथा राष्ट्रिय सहकारी बैंक र काठमाडौं जिल्ला सहकारी संघ समेतको सहयोगमा उक्त रकम हस्तान्तरण गरिएको मन्त्रीका स्वकीय सचिव बुद्ध घर्तीले जानकारी दिए ।

सरकारको तर्फबाट १२ लाख पाँच हजार, काठमाडौं जिल्ला सहकारी संघको संयोजनमा काठमाडौंमा विभिन्न सहकारी संस्थाहरु र राष्ट्रिय सहकारी बैंकको तर्फबाट छ लाख रुपैयाँ गरी जम्मा १८ लाख पाँच हजार रुपैयाँ स्याङ्जाका विभिन्न ठाउँमा पहिरोबाट पीडित भएकाहरुलाई हस्तान्तरण गरिएको हो । जिल्ला सहकारी संघ स्याङ्जाको अनुरोधमा जिल्ला सहकारी संघ काठमाडौं, काठमाडौंका विभिन्न सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकमार्फत पहिरो पीडितलाई ६ लाख राहत सहयोग गरिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया