विश्व शिक्षक दिवस र नेपाल
विश्वनाथ खरेल
प्रत्येक वर्षको अक्टोवर ५ तारिखका दिन विश्व शिक्षक दिवस मनाइन्छ । यसको लागि सन् १९६६ मा पेरिसमा एक अन्तर सरकारी सम्मेलन भएको थियो । यसैलाई नै आधार मानेर ५ अक्टोवर १९९४ देखि विश्व शिक्षक दिवसको रूपमा मनाइँदै आएको थियो । जसमा शिक्षणको हक र हितको साथसाथै स्वतन्त्रताको लागि एउटा सन्धिमा हस्ताक्षर भएको थियो ।
वास्तवमा यस सन्धिले शिक्षकहरूको अधिकार र जिम्मेवारी, भर्ना, रोजगार, सिकाइ र शिक्षण वातावरणसम्बन्धी सिफारिसहरू गरेको थियो । त्यसरी नै सन् १९९७ मा युनेस्कोले फेरि उच्च शिक्षासम्बन्धी शिक्षकहरूको स्थितिसम्बन्धी सिफारिसहरूसहितको एउटा सम्मेलन सम्पन्न गरेको थियो । यो दिन युनेस्कोद्वारा प्रत्येक वर्ष शिक्षाको पेसालाई मर्यादित र प्रोत्साहित गर्न मनाइन्छ ।
त्यसरी नै विश्वका एक सयभन्दा बढी देशहरूमा शिक्षकका पेसागत संघसंस्थाको सहभागितामा मनाइने यस दिवसमा उत्कृष्ट शिक्षकलाई सम्मानका साथै शिक्षा क्षेत्रमा देखिएका जल्दाबल्दा मुद्दाबारे उजागर र बहस गरिने परम्परा छ । युनेस्को र अन्तर्राष्ट्रिय श्रम संगठनले संयुक्तरूपमा शिक्षकहरूको सेवा–सुविधाको स्तर र आधार घोषणा गरेको थियो । जब कि शिक्षक दिवस विभिन्न देशहरूमा विभिन्न कार्यक्रमहरूको साथ मनाइने गरिन्छ ।
मूलतः युनेस्को र अन्तर्राष्ट्रिय श्रम संगठनले संयुक्तरूपमा शिक्षकहरूको सेवा सुविधाको स्तर र आधार घोषणा गरेको छ । तसर्थ सन् २०२० को विश्व शिक्षक दिवसको महत्व अनि अर्थ अन्य वर्षहरूभन्दा निकै पृथक छ, यसैकारणले यस वर्षको विश्व शिक्षक दिवसलाई संकटको नेतृत्व अनि भविष्यको पुनर्कल्पनासँग समानान्तर राखिएको हो । कतिपय देशहरूमा आफ्नो राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरूको योगदानका दिनहरूमा पनि यो दिवस मनाउने गरेको पाइन्छ ।
यसैक्रममा आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दै गुणस्तरिय शिक्षा प्रदान गरेर विद्यार्थीहरूलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पु-याउन मदत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालबालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् ।
आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरूलाई सम्झिन आवश्यक छ जसले हामीलाई कालोपाटीमा चक र डस्टर धँस्दै वर्णमाला सिकाए । ‘क’बाट कछुवादेखि ‘ज्ञ’बाट ज्ञानीसम्म सिकाए । ‘ए’फर एप्पलबाट जेड फर जेब्रासम्म सिकाए । ज्ञान, सीप र आचरणसहितको शिक्षामा लगानी गरेका मुलुकहरूको आर्थिक अवस्था मजबुत देखिन्छ ।
मुलुकको संविधान २०७२ ले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हक, सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सरकारी घोषणालाई साकार पार्न गुणस्तरीय जीवनोपयोगी शिक्षाको सुनिश्चितता पहिलो शर्त हो । सर्वसुलभ गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि विद्यार्थीको उपलब्धिलाई आफ्नो सफलता ठान्ने शिक्षक हुनुपर्छ । शिक्षकको योग्यता, क्षमता र दक्षता जाँच्ने कसी विद्यार्थी उपलब्धिस्तर नै हो ।
विकसित मुलुकहरू जस्तैः जापान, कोरिया, सिंगापुर, अमेरिका र युरोपीय मुलुकहरूले गुणात्मक एवं बजारको मागअनुसार शिक्षा र सिकाइलाई एकैसाथ लगेका हुनाले आज ती देशमा शिक्षा क्षेत्रबाट उत्पादित जनशक्तिहरू धेरै गुणात्मक पाइन्छ । यी देशहरूले शिक्षालाई सन्तुलित रूपमा ज्ञान, सीप र आचरणसहित बनाएका छन् । साथै, उनीहरूले एक्काइसौं शताब्दीको शिक्षाको प्रारूपअनुरूप आधारभूत विषय, सूचना प्रविधिसहितको प्राविधिक विषय, सिर्जनात्मक तथा नवीनतम, समस्या समाधान र जीवनोपयोगी सीप एवं सञ्चारजस्ता विषयहरू समग्र शिक्षातर्फ अघि बढेका छन् ।
उनीहरूको मुख्य लक्ष्य भनेको विश्व बजारमा प्रतिस्पर्धी क्षमतासहित कार्य गर्नसक्ने जनशक्ति उत्पादन गर्नु नै हो । त्यसैले, कसरी पूर्ण क्षमतावान् जनशक्ति उत्पादन गरी समग्र देश विकासमा मानव पुँजी परिचालन गर्ने भनेर दृढ अठोटका साथ अघि बढेका छन् । कोभिड–१९ महामारीले त एक्काइसौं शताब्दीको शिक्षामा सूचना प्रविधि र डिजिटल टेक्नोलोजीको महत्व थप उजागर गरेको छ ।
तर, कतिपय देशहरूमा आफ्नो राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरूको योगदानका दिनहरूमा पनि यो दिवस मनाउने गरेको पाइन्छ । नेपाल र भारतमा भने गुरुपूर्णिमाको दिनमा पनि शिक्षकहरूको सम्मान गर्ने चलन परम्परादेखि चल्दै आएको छ ।
यसको साथसाथै सामाजलाई सकारात्मक दिशामा डो-याउन शिक्षकका लागि समयसापेक्ष विभिन्न सुविधा, तालिम तथा प्रविधिको ज्ञान दिने गरेको सरकारले जनाएको छ । अपितु देशमा स्थायी, अस्थायी, करार र राहत गरी झण्डै तीन लाखको हाराहारीमा शिक्षक छन् । यसमध्ये एक लाख सात हजार स्थायी शिक्षक रहेको शिक्षा विभागले जनाएको छ ।
अस्थायी र निजी स्रोेतका शिक्षकहरूले भने विभिन्न सेवा, सुविधा नपाएको गुनासो गर्दै आन्दोलन गरिरहेका छन् । सन् २०२० सम्म विश्वभरमा प्राथमिक शिक्षाको पहुँच पु-याउन एक करोड २६ लाख प्राथमिक तहका शिक्षक आवश्यक रहेको युनेस्कोले जनाएको छ ।
अन्त्यमा भन्नुपर्दा एउटा चिनियाँ उखान शिक्षा क्षेत्रमा धेरै प्रचलनमा आएको छ– ‘शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ । शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ । शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ । शिक्षक बस्यो भने विद्यार्थी सुत्छ । शिक्षक सुत्यो भने विद्यार्थी मर्छ ।’ यसबाट शिक्षामा शिक्षक र विद्यार्थीहरूबीच कस्तो सम्बन्ध रहेको हुन्छ भन्ने कुरालाई स्पष्ट रूपमा देखाएको पाइन्छ ।
अभिभावकहरूले पनि आफ्ना छोराछोरीले विद्यालयमा के–कसरी शिक्षा हाँसिल गरिरहेका छन् भन्ने विषयमा चासो दिन जरुरी छ । समयअनुकुलको व्यवहारिक तथा वैज्ञानिक पाठ्यक्रम, पाठ्यपुस्तकका साथै शिक्षण विधिमा सुधार गर्नु आजको आवश्यकता हो ।
त्यसैले राज्यले शिक्षाको समग्र विकासको लागि राष्ट्रव्यापीरूपमा प्राज्ञिक बहस, छलफल तथा अन्तरक्रिया गरी उपयुक्त रायहरूलाई उपयोग गर्दै शिक्षामा सुधार गर्न ढिला गर्नु हुँदैन । अतः मानवलाई मानव बनाउने शिक्षा– समाजमा श्रमको शोषण छ । श्रम गर्ने एउटा फाइदा खाने अर्कै छ । यसले मानवलाई दानव बनाएको छ ।
यसको अन्त्यका लागि श्रम र शिक्षा जोड्नुपर्छ । व्यक्तिको सम्पूर्णताको विकासमा जोड दिनुपर्छ । तल्लो कक्षादेखि नै बहु प्राविधिक शिक्षाको मर्मलाई प्रयोग गर्नुपर्छ । अतः राष्ट्रको शिक्षामा धेरै राम्रा प्रयासहरू पनि भएका छन् । तर, आशातितरूपमा गुणात्मक जनशक्ति उत्पादनमा सफलता मिल्न भने सकेको छैन ।
केही सरकारी र निजी विद्यालयहरूबाट उत्पादित जनशक्तिलाई छाड्दा अधिकांश उत्पादित जनशक्तिहरू बजारमा प्रतिस्पर्धीरूपमा प्रस्तुत हुन सकिरहेका छैनन् । शिक्षामा पहुँच, लैंगिक समानता र भौतिकरूपमा शिक्षालय संख्या उल्लेख्यरूपमा वृद्धि भएको पाइन्छ । तथापि, शिक्षा प्रणालीले समग्र राष्ट्रिय शिक्षाको उद्देश्य पहिचान गर्न सकेको भने छैन ।
प्रत्येक वर्षजस्तो आउने शिक्षा नीतिले सहीरूपमा रणनीतिक दिशानिर्देश गरेको देखिँदैन । तसर्थ विद्यार्थी भएको कारणले विद्यालय खुल्ने र शिक्षा क्षेत्रमा रोजगार सिर्जना हुने भएकोले विद्यार्थीहरूलाई प्रमुख रोजगारदाताको रूपमा व्यवहार गरिनु पर्छ ।
विद्यार्थी वनस्पतिको एक दाना बीउजस्तै हो, त्यसैले यदि उपयुक्त मलजल हावापानी पाएमा फस्टाउँछ । त्यस्तै विद्यालयमा पनि बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने वातावरण बनाउन सके भोलिको योग्य नागरिक बनाउन सकिन्छ । विद्यार्थीलाई माछा मारेर खुवाउनुको सट्टा माछा मार्न सिकाउने स्वावलम्बी पौरखी खालको शिक्षा दिइनु पर्छ ।
गुरुको गरिमा शिष्यले प्राप्त गर्ने शिक्षा र संस्कारमा भर पर्ने वास्तविकतालाई मध्यनजर राखेर स्वयं शिक्षक, सरकार र सरोकार पक्ष संवेदनशील र चनाखो रहनु बुद्धिमानी ठहर्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया