Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदशैं-तिहारमा व्यापार कम हुने संकेत

दशैं-तिहारमा व्यापार कम हुने संकेत


काठमाडौं ।
दशैँ र तिहार नजिकिँदै जाँदा बजारमा चहलपहल बढे पनि सामान्य अवस्थामा जस्तो बजार चालू हुनसकेको छैन । कोभिड–१९को कारण सीमित मानिसहरु बजारसम्म पुग्दा यस वर्षको दशैँमा अघिल्लो वर्षहरुझैँ व्यापार नहुने आंकलन व्यवसायी तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गरेको छ ।

व्यापार नहुने देखिएपछि व्यवसायी र व्यापार कम्पनीहरुले अघिल्ला वर्षहरुझैँ दशैँ तिहारका लागि खसी, बोका तथा च्याङ्ग्राहरु आवश्यकताअनुरुप काठमाडौंमा भित्र्याउने बताएका छन् । लिमिटेडले दशैंका लागि दुई हजारवटा खसीबोका तथा च्याङग्रा ल्याउने तयारी गरेको छ । लिमिटेडकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले पहिलो चरणमा हेटौंडा, दाङ र मुस्ताङबाट खसी तथा च्याङग्रा ल्याउने बताइन् ।

‘पहिलो चरणमा हेटौँडा र दाङबाट खसी बोका तथा मुस्ताङबाट च्याङग्रा ल्याउनेछौँ’, उनले भनिन्, ‘खसी र च्याङ्ग्रा क्रमशः हजार÷हजार वटा गरी दुई हजारवटा ल्याउन लागिएको हो ।’ दशैँ नजिकिएसँगै लिमिटेडले खसी तथा च्याङ्ग्रा आयात गर्नको लागि हाल बोलपत्र आह्वान सेमत गरेको छ । पहिलो चरणमा खसी, बोका तथा च्याङ्ग्रा ल्याएपछि माग आएमा दोस्रो चरणमा पनि आयात गरिने लिमिटेडले जनाएको छ ।

‘कोभिडको कारण मासुजन्य पर्दाथको माग कति हुन्छ अहिले भन्नसक्ने अवस्था छैन’, सुवेदीले भनिन्, ‘माग भएमा पुनः मासुजन्य पदार्थ आयात गर्नेछौँ ।’ लिमिटेडले मासुजन्य पदार्थमा भने प्रतिकिलो ग्राम १० रुपैयाँ छुट दिनेछ । लिमिटेडले मासुजन्य पदार्थ मात्र नभएर चामल, चिनी, नुन, सिमी (गेडा), दाललगायतमा समेत छुट दिने निर्णय गरेको छ ।

बजार मूल्य नियन्त्रण गर्नको लागि मासुजन्य पदार्थमा छुट दिएको सुवेदीको भनाइ रहेको छ । उनले बजारमा कति उपभोक्ता आउँछन्, त्यसको लेखाजोखाभन्दा पनि सेवा दिने क्रममा गुणस्तरीयता प्रदान गर्नको लागि छुटको व्यवस्था गरिएको बताए । यस्तै लिमिटेडले आयात गरेको खसीबोका तथा च्याङ्ग्राले मात्र बजार नधान्ने उनीहरुको भनाइ छ ।

‘हामीले मात्र आयात गरेको मासुजन्य पदार्थले बजार धान्ने हाम्रो उद्देश्य होइन’, सुवेदीले भनिन्, ‘निजी क्षेत्रलाई पनि व्यवसाय सञ्चालन गर्ने अधिकार छ । त्यसैले गर्दा हातेमालो गर्दै अघि बढ्ने हो अर्थात् निजी क्षेत्रले समेत खसी बोका तथा च्याङ्ग्रा बिक्रीवितरण गर्दा बजारको माग पूर्ति हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

यता निजी क्षेत्र अर्थात् काठमाडौं चौपाया खरिद बिक्री प्राइभेट लिमिटेडले पनि दशैं, तिहारको लागि खसीबोका , च्याङ्ग्रा आयात गर्ने तयारी गरेको जानकारी दिएको छ । लिमिटेडका अधिकारीका अनुसार कोभिडको कारण यसअघिका दशैँ तिहारमा जसरी मासुजन्य पदार्थ बिक्री हुनेछैन तर बजारको आवश्यकताअनुसार भने मासुजन्य पदार्थ ल्याइनेछ । लिमिटेडले दशैँ तिहारको लागि करिब ५०/५५ हजार खसी तथा च्याङ्ग्रा ल्याउने बताएको छ ।

व्यवसायी प्रदिप गिरीले कोभिडको कारण लामो समय बन्द हुदाँ सर्वसाधारणको आर्थिक अवस्था कमजोर हुनु पुग्दा समेत मासुजन्य पदार्थको प्रयोगमा कमी आउने बताए । ‘सर्वसाधारणको आम्दानीका स्रोतहरु घटेको छ, त्यसैले गर्दा खर्चमा कमी गर्नेछन्’, व्यवसायी गिरीले भने, ‘जसले गर्दा अघिल्ला वर्षहरुमा जस्तो गरी सर्वसाधारणले मासुजन्य पदार्थको प्रयोग बढी नगर्ने सम्भावना प्रबल हुन पुग्दा मासुको बिक्रीमा कमी आउनेछ ।’

व्यसायी गिरी करिब १० वर्षदेखि मासुजन्य पदार्थ बिक्री वितरण गर्दै आएका छन् । सरकारी र निजी दुवै क्षेत्रका अधिकारीहरु बन्दाबन्दीमा काठमाडौंबाट बाहिरिएका मानिसहरु काठमाडौं नफर्किनु तथा यहाँ रहेका सर्वसाधारण समेत गाउँ जानुले यस वर्षको चाडपर्वमा अन्य व्यवसायजस्तै मासुजन्य व्यवसाय समेत प्रभावित बन्ने उनीहरुको भनाइ छ । यस्तै व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुहरुको व्यवसाय केही मात्रामा भए पनि सञ्चालन भए पनि तयारी पोशाकहरुको खरिदबिक्री समेत प्रभावित बन्नपुगेको बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया