Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकका थप तीन नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकका थप तीन नयाँ शाखारहित बैंकिङ सेवा


काठमाडौं ।
ग्लोबल आईएमई बैंकले थप तीन नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकका अनुसार पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको हो । यी तीन शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या दुई सय २५ पुगेको छ ।

पाल्पा जिल्लाका रैनादवी छहरा गाउँपालिका वडा नं. ८, सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा स्थानीय छवि सरा सिंजाली, रौतहटको जिल्लाको कटहरीया नगरपालिका वडा नं. ५, कटहरीयामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा स्थानीय महमद जलालुदीन हकर र गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं. ६, अर्जेमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा स्थानीय भरत पराजुलीलाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, युटीएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको दुुई सय ५९ शाखा सञ्जालसहित दुुई सय ३४ एटीएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुुई सय २५ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा तीन अर्ब आठ करोड ८० लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब ७६ करोड १९ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा दुुई खर्ब १२ अर्ब ३१ करोड ५३ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८९ अर्ब ३८ करोड ८६ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ अर्ब १९ करोड २० लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको बितरणयोग्य नाफा भने एक अर्ब ७३ करोड २८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा एक दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ४३ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले एक खर्ब २० अर्ब आठ करोड ८४ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब आठ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब २४ करोड २३ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया