Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगऐतिहासिक एवं पर्यटकीय स्थल चौदण्डीगढी

ऐतिहासिक एवं पर्यटकीय स्थल चौदण्डीगढी


डा. माधव अधिकारी
नेपाल आफ्नो भौगोलिक अवस्थितिको कारणले पर्यटकहरूको आकर्षणको केन्द्र रहेको छ । त्यसमध्ये उदयपुर जिल्लाको चौदण्डीगढी एक हो । विक्रम संवतको १५औं शताब्दीमा रुद्रसेनका छोरा मुकुन्द सेनले पाल्पामा एउटा सबल राज्य खडा गरेका थिए । उनैका ६ भाइ छोराहरूको कचिङ्गलमा परेर पाल्पा राज्यलाई छोराहरूको अंशमा छ टुक्रा गर्नुपरेको थियो । समयको फेरले गर्दा त्यही राज्य पनि टुक्रिँदै, चोइटिँदै जाँदा पूर्वतिर पाल्पादेखि टुक्रिएको मकवानपुरले पुनः टुक्रामा परेर चौदण्डीगढी हुनपुग्यो भने चौदण्डीबाट विजयपुर धरानसम्म पुग्नुप¥यो । विसं १७८० तिर चौदण्डीगढी प्रखर अस्तित्वमा आएको थियो ।

मकवानपुरका राजा माणिक सेनका सन्तान जगतसेनले चौदण्डीगढी दरबार बनाएर राज्य सञ्चालन गरेका थिए भन्ने भनाइ रहेको छ । कमला नदी र कोसी नदीको बीचमा स्थापना भएको नयाँ राज्य कालान्तरमा गोर्खाली राजा पृथ्वीनारायण शाहको नेपाल विस्तार अभियानका क्रममा चौदण्डी पनि नेपाल राज्यभित्रै गाभिनपुगेको थियो । १६ जुलाइ १७७३ का दिन पृथ्वीनारायण शाहले चौदण्डीमाथि विजय प्राप्त गरेका थिए । चौदण्डी गाउँविकास समिति साबिकदेखि सञ्चालन हुँदै आएको थियो । २०७३ सालमा राज्य पुनर्संरचना हुँदा साबिक बेल्टार बसाह नगरपालिकामा चौदण्डीसहित अन्य गाउँहरू मिसाई चौदण्डीगढी नगरपालिकाकै नामाकरण भएको पाइन्छ ।

चौदण्डीगढी एउटा सुन्दर ऐतिहासिक एवं पर्यटकीयस्थलको रूपमा रहेको छ । यो ठाउँबाट पूर्वमा मकालु हिमाल, धनकुटाको पाख्रीबास, हिले, पात्तलेपानी, सुनसरीको इटहरी, मोरङको विराटनगरलगायत भोजपुरको केही भाग समेत अवलोकन गर्न सकिन्छ । पश्चिमतर्फ खोटाङको सुनापतल डाँडा आदि दृश्यावलोकन गर्न सकिने, उत्तरतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथा, चिसापानी, सोखरे डाँडा, दक्षिणतर्फ चौदण्डीगढी नगरपालिकाको सवै वडा, बेला तरी, कोसीटप्पु वन्यजन्तु आरक्ष, चुरेपर्वत श्रेणी साथै, सप्तरी, सिराहा आदि दृश्यावलोकन गर्न सकिन्छ । चौदण्डीगढीमा केही दीर्घजीवि वरपीपलको वृक्ष छ, जुन स्थानीयका अनुसार करिब तीन सय ५० वर्षभन्दा माथि भएको अनुमान गरिएको छ । ती वृक्षहरू पनि हेर्नलायक पुरातात्विक ऐवं ऐतिहासिक उपजको रूपमा रहेको छन् ।

विश्वमा सूचना र सञ्चारको जगतमा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बद्लिदो आर्थिक परिवेशलाई आत्मसाथ गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गरेको अवस्था देखिन्छ ।

देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेशमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ वैकल्पिक व्यवसायका रूपमा विकास गर्नु उपयुक्त देखिन्छ ।

तुलनात्मकरूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिवाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट नेपालले आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट नेपाली जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।

नेपाल करिब २१ दशमलव ६ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि रहेको एक विकासोन्मुख देश हो । पशुपतिनाथ विराजमान, भगवान गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रूपमा मात्र विश्वमा परिचित नभई जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको देशका रूपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको संगमस्थल रहेको नेपाल हिन्दु तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्राम स्थलको रूपमा रहेको छ । यो देश विभिन्न जनजाति र समुदायहरूका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मिहिनेती जनताहरूको साझा फूलबारी हो ।

नेपाल प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीय स्थल हुँदा छुट्टै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन ।

नेपालमा पर्यटकीय विकासमा प्रमुख आधार भनेका यहाँका प्राकृतिक एवं सांस्कृतिक सम्पदा हुन् खासगरी विश्वको सर्वेच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनासूलु, लाम्टाङलगायतका उच्च शिखरहरूका आधार क्षेत्रमा पदयात्रा तथा हिमाल आरोहणमा पर्यटकहरूको आकर्षण देखिन्छ । पदयात्रा पर्यटनमा टी हाउस ट्रेकको रूपमा परिचित लगभग एकाधिकार प्राप्त नेपालको पर्यटकीय क्षेत्रका पदमार्गहरूले समेत अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रतिस्पर्धा गर्नुपरेको छ ।

भुटान, भारत, तिब्बत, युक्रेन, ग्वाटेमाला, पेरुलगायतका देशले आ–आफ्नो देशका पर्यटकीय क्षेत्रमा टी हाउस ट्रेकलाई विकास र प्रवर्द्धन गरेको अवस्था छ । अत्कृष्ट परम्परा, मान्यता एवं चालचलनका कारण नेपाली जनजीवन साँच्चै अनौठो र रोचक रहेको छ । तिनीहरूको आस्था केन्द्र ऐतिहासिक स्थान, स्मारक, मठमन्दिर आदि थप आकर्षणको केन्द्रका रूपमा रहेको छ ।

उदयपुर जिल्लामा रहेको चौदण्डीगढी ऐतिहासिक पर्यटन केन्द्र हो तर सो क्षेत्रको उचित व्यवस्थापन, संरक्षण र प्रवद्र्धनको अभावमा अपेक्षित सफलता प्राप्त गर्न सकिरहेको छैन । गढीको उत्तरपटि पूर्वतर्फ बहाब भएको सुनकोसी नदीमा जलविहार साथै जंगली जनावर, चरा, पुतलीलगायतका जीवजन्तुको अवलोकन गर्न सकिन्छ । उदयपुर जिल्लामा रहेका विभिन्न ऐतिहासिक स्थानहरूमध्ये चौदण्डीगढीको पर्यटन विकासमा अर्को महत्वपूर्ण आधारको रूपमा रहने सम्भावना छ कि छैन भनी अध्ययन विश्लेषण गर्नु आजको आवश्यकता हो ।

पर्यटन विकासका प्रचुर सम्भावना वोकेको भनाइको आधारमा चौदण्डीगढी क्षेत्रले पर्यटन विकासको अवधारणालाई कसरी आत्मसाथ गर्नुपर्ने हो निक्र्यौल हुनुपर्ने देखिन्छ । यसका लागि योजनाबद्ध दिगो पर्यटन विकास कार्यक्रममार्फत मात्र सफलता हासिल गर्न सकिने गुन्जाइस रहेकोले त्यस्तो दीर्घकालीन योजना पनि सम्बन्धित क्षेत्रका विज्ञको सुझावको आधारमा कार्यान्वयन गर्नु आवश्यक हुनसक्तछ ।

नेपालको पूर्वाञ्चलको प्रदेश १ मा अवस्थित उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका भू–बनोट प्राकृतिक सुन्दर र ऐतिहासिक, सांस्कृतिक समृद्धिका दृष्टिले अद्वितीय रहेको छ । यो चौदण्डीगढी मनोरम प्राकृतिक सुन्दरता, वातावरणीय एवं जैविक विविधतासहित विभिन्न प्रजातिका जीवजन्तु र वनस्पतिले भरिपूर्ण छ । मनोरम सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वका संगम स्थल चौदण्डीगढी हो । चौदण्डीगढी नेपालको ऐतिहासिक थलोको रूपमा रहेको पाइन्छ । यहाँको परम्परागत जिवनशैली र सभ्यताको प्रतिनिधित्व गर्दै आएको सांस्कृतिक र ऐतिहासिक धरोहर चौदण्डीगढी हो ।

सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण चौदण्डीगढीले आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।

यस नगरपालिकाको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा नगरमा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । नगरका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू बेल्टार बजारभन्दा टाढा तथा नगरको कुनाकाप्चा र अविकशित क्षेत्रमा छरिएर रहेका छन् र त्यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था छैन ।

यो व्यवस्था कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट यहाँका बासिन्दाले खासरूपमा फाइदा लिनसकेको स्थिति छैन । चौदण्डीगढी नगरका लागि विशेष पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यस नगरको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरनगर क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ ।

चौदण्डीगढी नगरपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । नगरले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, सहासिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीयस्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी श्रृजना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस चौदण्डीगढी नगरपालिका क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ ।

विगतमा यस क्षेत्रको पर्यटन विकासको लागि गरेको प्रयासका बाबजुद पनि पर्यटक आगमनमा केही वृद्धि भएको पाइन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हरेक वर्ष सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसले सार्थकता पाउनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया