Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमित २५ हजार नजिक

कोरोना संक्रमित २५ हजार नजिक


काठमाडौं ।
मुलुकभर कोभिड–१९ का सक्रिय संक्रमित २५ हजार नजिक पुग्नलागेको छ । मंगलबारसम्म २२ हजार सात सय नौ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २५ हजारभन्दा बढी संक्रमित भएमा नेपालका अस्पतालहरुले धान्न नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये १३ हजार पाँच सय ९१ होम आइसोलेसन र नौ हजार एक हजार १८ संस्थागत आइसोलेनसमा छन् । चार हजार दुई सय २१ जना क्वारेन्टिनमा छन् ।

हालसम्म १० लाख ९९ हजार दुई सय ६७ नमूना पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । दुई सय ४३ सङ्क्रमितको आईसीयू र ४० सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम पूर्व र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट चार महिला र पाँच पुरुष गरी नौ जनाले ज्यान गुमाएका छन् । सुनसरीमा एक, काठमाडौंमा दुई, ललितपुरमा तीन र चितवनमा एक जना ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ५९ देखि ७७ वर्ष उमेर समूहका छन् ।

यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ६३ पुगेको छ । कुल सङ्क्रमितमध्ये शून्य दशमलव ६२ प्रतिशतको ज्यान गएको मन्त्रालयले जनाएको छ । विश्वभर तीन करोड ५७ लाख २८ हजार दुई सय १९ जना कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये १० लाख ४६ हजार चार सय १९ को ज्यान गएको छ भने दुई करोड ६८ लाख ८८ हजार नौ सय ४१ कारोनामुक्त भएका छन् ।

यस्तै, नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ । पछिल्लो मंगलबार एक हजार पाँच सय ५१ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ९० हजार आठ सय १४ पुगेको हो । पछिल्लो २४ घण्टामा ११ हजार ४७ नमूना परीक्षण गर्दा मुलुकभर एक हजार ४२ पुरुष र पाँच सय नौ महिलामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा काठमाडौँमा सात सय ८३, ललितपुरमा एक सय १८ र भक्तपुरमा एक सय १६ गरी उपत्यकामा मात्र एक हजार १७ सङ्क्रमित थपिएका छन् । रुपन्देहीमा ९६, चितवनमा ८१, बाँके र दाङमा ३४/३४, मोरङमा २७, काभ्रेपलाञ्चोकमा २४, कैलाली र गोरखामा २०/२०, सुनसरीमा १९, महोत्तरीमा १५, नवलपरासी पूर्वमा १३, धनुषामा १२, कालिकोट र सिरहामा १०/१० सङ्क्रमित फेला परेका छन् ।

यसैगरी नवलपरासीमा नौ, सर्लाहीमा सात, प्यूठान, मकवानपुर र रौटहटमा छ/छ, बैतडी, स्याङ्जा, धादिङ र नुवाकोटमा पाँच/पाँच, पाल्पा र झापामा चार/चार, उदयपुरमा तीन, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, रामेछाप, पर्सा, बारा, सप्तरी, इलाम र धनकुटामा दुई/दुई, डडेल्धुरा, डोटी, बझाङ, बर्दिया, रोल्पा, म्याग्दी, लमजुङ, बाग्लुङ, तनहुँ, दोलखा, खोटाङ र ताप्लेजुङमा एक÷एक सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कुल दुई हजार तीन सय ४० जना कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म ६७ हजार पाँच सय ४२ जनाले कोरोनालाई जितेका छन् । कोरोनामुक्त भई डिस्चार्ज हुनेको प्रतिशत सात सय ४३ पुगेको छ ।यसैबीच, सुदूरपश्चिम प्रदेशमा कोभिड–१९बाट मंगलबारसम्म कुल सङ्क्रमित हुनेमध्ये झण्डै ८६ प्रतिशत अर्थात् छ हजार छ सय जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्कका अनुसार मंगलबारसम्म कुल सङ्क्रमित सात हजार छ सय ६१ जना पुगेका छन् । यही असोज १ गतेसम्म कुल सङ्क्रमित छ हजार पाँच सय २८ जना रहेकोमा तीमध्ये ८७ प्रतिशत अर्थात् पाँच हजार सात सय १४ जना डिस्चार्ज भएका छन् । मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो २० दिनमा निको हुने दर एक प्रतिशतले घटेको देखिन्छ । असोज महिना लागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट असोज १ गतेसम्म १२ जनाको मृत्यु भएकोमा पछिल्लो २० दिनमा थप छ जनाको मृत्यु भएपछि मंगलबारसम्म मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

यस्तै, कर्णालीमा दैनिक कोरोना सङ्क्रमणमुक्त हुनेभन्दा सङ्क्रमित हुनेको सङ्ख्या दोब्बरले बढ्दै जान थालेको छ । मंगलबार सङ्क्रमित हुनेको सङ्ख्यालाई हेर्दा निको हुनेभन्दा शतप्रतिशत बढी सङ्क्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार एकै दिन ७९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तातोपानी नाका बन्द
सिन्धुपाल्चोक, सात कामदारमा कोरोना देखिएपछि सोमबारदेखि खुलेको नाका मंगलबारदेखि पुनः बन्द भएको छ । बाढी तथा पहिराको कारण करिब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक दिनमै पुनः बन्द भएको हो । भन्सार सामग्री लोड अनलोड गर्ने मजदुरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि चीनले नाका बन्द गरेको हो । चीनतर्फ सामग्री लोड अनलोड गर्न गएका ३३ मजदुरको स्वास्थ्य परीक्षण गर्दै स्वाब सङ्कलन गरिएकामा सात जनामा सङ्क्रमण देखिएपछि चीनले एकतर्फी रुपमा बन्द गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।

नेपालमा परीक्षण गर्दा ती मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आए पनि चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकाले अर्को सोमबारसम्मका लागि आयातनिर्यात बन्द गरिएको हो । सबै चालक र मजदूरको पाँचपाँच दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलसनमा राखेर उपचार गरिँदै छ । ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा कोरोना पोजिटिभ देखिएपछि सीमा नाका बन्द गरिएको हो ।

यही असोज १३ गते नेपाल–चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा कोरोना भाइरस नियन्त्रण गर्ने शर्तमा नाका खुलाउने सहमति भएको थियो । खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दशैँअघि काठमाडौं पु¥याउने योजनानुसार दुवै देशको सहमतिमा नाका खुलेको थियो । आइतबार बेलुकीदेखि सोमबार बिहानसम्म चीनको खासाबाट १२ कन्टेनरबाट लत्ताकपडा, तयारी कपडासहित केही तयारी सामग्री तातोपानी भित्रिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया