Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुमा चालू आर्थिक वर्षमा ५६ वटा विद्यालय भवन निर्माण हुने

सोलुखुम्बुमा चालू आर्थिक वर्षमा ५६ वटा विद्यालय भवन निर्माण हुने


महेन्द्र शाही
सोलुखुम्बु ।
चालू आर्थिक वर्ष २०७७–०७८ मा सोलुखुम्बुका ५६ वटा विद्यालय भवन निर्माण हुने भएका छन् । जिल्लाका आठवटा स्थानीय तहमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत उक्त विद्यालय भवनहरू निर्माण हुने भएका हुन् । निर्माण गरिने विद्यालय भवनहरूमा सबैभन्दा बढी सोलुदुधकुण्ड नगरपालिकाका र थुलुङ दुधकोसी गाउँपालिकामा ११–११ वटा रहेको जिल्ला आयोजना कार्यान्वय एकाइ (शिक्षा) सोलुखुम्बुका प्रमुख प्रेम खरेलले जानकारी दिए ।

त्यस्तै नेचासल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकामा सात–सातवटा विद्यालय भवन निर्माण हुने खरेलको बताए । त्यस्तै चालू आर्थिक वर्षमा माप्य दुधकोसी गाउँपालिमा छवटा, लिखुपिके गाउँपालिकामा चार र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा तीनवटा विद्यालय भवन निर्माण हुने जनाइएको छ ।

यसैबीच जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले चालू आर्थिक वर्षमा ३८ वटा शौचालय र ३३ वटा खानेपानी समेत निर्माण हुने कार्यालयले जनाएको छ । आर्थिक वर्षभित्र सक्ने गरी अहिले यी आयोजनाको निर्माण सुरु हुने चरणमा रहेको कार्यालय प्रमुख खरेलले बताए । विद्यालय, शौचालय र खानेपानी आयोजनामा गरी ४० करोड ८३ लाखको बजेट खर्च हुने खरेको भनाइ छ । जिल्लाका सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिकामा छ–छवटा शौचालय निर्माण हुने जनाइएको छ । त्यस्तै नेचासल्यान, माप्य र सोताङ गाउँपालिकामा पाँच–पाँचवटा शौचालय निर्माण हुनेछन् ।

महाकुलुङ र लिखुपिके गाउँपालिकामा चार–चारवटा तथा खुम्बु पासाङ ल्हामु गाउँपालिकामा तीनवटा शौचालय निर्माण गरिने प्रमुख प्रेम खरेलले जानकारी दिए । आयोजनामार्फत सञ्चालन हुने खानेपानी आयोजनामा थुलुङ दुधकोसी गाउँपालिकामा सातवटा, सोलु दुधकुण्ड नगरपालिकामा छवटा र नेचा सल्यान गाउँपालिकामा पाँचवटा खानेपानी आयोजना निर्माण गरिनेछ । त्यस्तै महाकुलुङ, लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा तीन–तीनवटा तथा सोताङ गाउँपालिकामा चारवटा र माप्य दुधकोशी गाउँपालिकामा दुईवटा आयोजना निर्माण हुने प्रमुख खरेलको भनाइ छ ।

यसैबीच जिल्ला कार्यान्वयन एकाइमार्फत गत आर्थिक वर्षमा सञ्चालन भएका २२ वटा विद्यालय भवन अन्तिम चरणमा पुगेको जिल्ला कार्यान्वयन एकाइका प्रमुख प्रेम खरेलले बताए । त्यस्तै २४ वटा शौचालय पनि अहिले निर्माण सम्पन्न हुने चरणमा रहेको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा नै सम्पन्न गर्ने योजना भए पनि कोरोनाका कारण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया