Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमहामारीमा नागरिक भिडाउने नेता

महामारीमा नागरिक भिडाउने नेता


कोरोनाको माहामारीमा सतर्क रहन, भिडभाड नगर्न केही दिन होसियारीपूर्वक जोगिन भन्दै सरकार दैनिक र कतिपय अवसरमा त दिनको चार पटक समेत अपिल गरिरहेको छ । तर यता सरकार भने जे–जे गर्दा भिडभाड बढ्छ र कोरानाको संक्रमण विस्तार हुन मदत पुग्छ त्यही–त्यही काम गरिरहेको छ ।

कोरोना व्यापक भइरहेको बेला पछिल्लो समय नागरिकहरू हजरौंका संख्यामा सडकमा निस्कन बाध्य भएका छन् । त्यसको पछिल्लो उदाहरण हो रूपन्देहीको आन्दोलन । यसमा कर्फ्यू नै लाग्यो तर आन्दोलन रोकिएन । कारण थियो प्रदेश ५ को राजधानीका विषयमा । यतिबेला यो काम नगरेको भए पनि देशमा केही बिग्रिनेवाला थिएन । अस्थायी राजधानीमै सबै काम चलिरहेकै थिए । यता राजधानी कहाँ राख्न उपयुक्त हुन्छ भन्नेबारे सुझावसहितको प्रतिवेदन दिन गठन भएको समितिले त्यस्तो प्रतिवेदनसमेत नदिई एक्कासी राजधानी सार्न खोज्दाको विवाद थियो यो । जसले सडक र सदनमा चरम रूप लियो ।

समाज नै विभाजित भएको यो मुद्दामा प्रदेश नं ५ को गरिमामय अवस्था समेतलाई ओझेलमा पर्ने काम भयो । एर्कातिर प्रदेशको संसद एक प्रकारले युद्ध मैदानजस्तो बन्यो । राजधानी सार्ने कुराले मान्छेलाई सडकमा त ओराल्यो नै प्रदेश संसद् पनि पीडित बन्यो । संसद्मा आन्तरिक मामिला तथा कानुन मन्त्रीले सम्बोधन गर्ने क्रममा प्रयोग गरको भाषा असहिष्णु, अमर्यादित रहेको भन्दै नेपाली कांग्रेसको प्रदेश ५ सचेतकले त्यो रेकर्डबाट हटाउन माग गरिन् ।

यिनै मन्त्रीको उत्तेजक भनाइका कारण संसद तोडफोडमा प-यो । नेपाली कांग्रेसका सांसदहरूलाई घिसारेर निकालिहाल भन्ने मन्त्रीको निर्देशनले यस्तो उग्ररूप लियो, त्यसपछि बैठक नै बस्न सकेन । सडकमा पनि यस्तै भयो । यसले राजधानी जहाँ भए पनि यस्तो महामारीको बेला यससँग लडिरहेका जनतालाई आपसमा लड्न उत्प्रेरित गरेको बुझाउँछ । त्यस दिनको संसद्को एउटा झलक विपक्षको यो विज्ञप्तिले पनि बताउँछ । त्यसमा भनिएको छ– नेपालको संविधान र संसदीय व्यवस्थामा बहुमतको सरकार, सत्ता र प्रतिपक्षको संसद् भन्ने मान्यता र संसद्को समेत धज्जी उडाउने गरी सभामुखलाई साक्षी राखेर अशोभनीय र अमर्यादित शब्द प्रयोग गरिएको प्रति खेद प्रकट गर्दछौँ ।

खेद त कोरोना महामारीप्रति हुनुपर्ने थियो । तर अवस्था कस्तो भयो भने दुईवटा दल आपसमै भिड्न लागे । त्यसै पनि जनता सडकमा यसरी नै विभाजित भएर एकअर्काप्रति प्रहार गरिरहेका थिए । आजको अवस्थाको सवाल हो, स्थानीय जनतालाई यसरी भिडन्तमा उतार्ने काम कसले ग¥यो ? के यो काम महामारी साम्य भएपछि गर्दा पनि हुने थिएन ? यतिबेला सबैतिरको एउटै आरोप छ केन्द्रीय नेतृत्वले अतिराजनीति गरेका कारण यो स्थिति आएको हो ।

त्यसै पनि प्रदेशका राजधानीलाई शीर्ष नेताहरूले आफ्नो गोजीबाट नगद बाँडेजसरी बाँड्दै आएका थिए । केन्द्रको नेतृत्व कुनै न कुनै विवाद झिकेर आफ्नो असफल नेतृत्वको रक्षा गर्न चाहन्छ भन्ने कुरा यो ठाउँमा पनि देखियो । जसका कारण प्रदेश ५ को स्थायी राजधानी विवादले बुटवलको सडक र प्रदेशसभामा यस्तो हंगामा भयो । यसको दोष नेतृत्वले लिनुपर्छ । तर ऊ आफैँ रमिते भएको अवस्था झनै दुःखदायी बनेको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया