Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा २५ हजार नाघे सक्रिय संक्रमित

नेपालमा २५ हजार नाघे सक्रिय संक्रमित


काठमाडौं ।
नेपालमा कुल सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा माथि पुगेको छ । देशैभर बुधबार तीन हजार चार सय ३९ जना कोरोनाका संक्रमित थपिएसँगै कुल सक्रिय संक्रमितको संख्या २५ हजार सात पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार छ सय ८४ संक्रमित थपिएको जानकारी दिए । उपत्यकामा काठमाडौँमा एक हजार दुई सय ९६, भक्तपुरमा ९५ र ललितपुरमा दुई सय ९३ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १४ हजार दुई सय नौ नमूना परीक्षण भएको थियो । हालसम्म ११ लाख १३ हजार चार सय ८५ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा एक हजार एक सय २६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या जम्मा ६८ हजार छ सय ६८ रहेको छ । यो जम्मा संक्रमितमध्ये ७२ प्रतिशत हो । देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या चार हजार एक सय ६४ रहेको छ । देशभर सक्रिय संक्रमितमध्ये १० हजार पाँच सय ९६ संस्थागत आइसोलेसन र १४ हजार चार सय ११ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशअनुसार संस्थागत आइसोलेसनमा सक्रिय संक्रमित प्रदेश १ मा पाँच सय ४६, प्रदेश २ मा तीन सय ३३, वाग्मती प्रदेशमा सात हजार नौ सय आठ, गण्डकी प्रदेशमा चार सय ४१, लुम्बिनी प्रदेशमा आठ सय ४२, कर्णाली प्रदेशमा तीन सय ५२ र सुदूरपश्चिम प्रदेशमा एक सय ७४ रहेका छन् । त्यस्तै होम आइसोलेनमा प्रदेश १ मा एक हजार आठ सय ४७, प्रदेश २ मा पाँच सय ३०, वाग्मती प्रदेशमा नौ हजार एक सय ७२, गण्डकी प्रदेशमा पाँच सय ६५, लुम्बिनी प्रदेशमा एक हजार चार सय ७४, कर्णाली प्रदेशमा तीन सय १५ र सुदूरपश्चिम प्रदेशमा पाँच सय आठ रहेका छन् ।

२ सय ३३ आईसीयूमा : यसैबीच, देशभर गरी दुई सय ३३ संक्रमित आईसीयूमा उपचाररत छन् । प्रदेश १ मा २७, प्रदेश २ मा १४, वाग्मती प्रदेशमा १२७, गण्डकी प्रदेशमा छ, लुम्बिनी प्रदेशमा ४१, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा एक जना आईसीयूमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै भेन्टिलेटरमा प्रदेश १ मा चार, प्रदेश २ मा दुई, वाग्मती प्रदेशमा २५ र लुम्बिनी प्रदेशमा छ गरी जम्मा ३७ जनाले उपचार गराइरहेका छन् । मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा आठ सय ९६ कल प्राप्त भएको पनि डा गौतमले बताए ।

चुनौती थपिँदै छ : प्रवक्ता गौतम : प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत देशभरमा संक्रमितको संख्या दैनिक बढिरहँदा बिरामीले आफूलाई पायक पर्ने स्थानमा अस्पतालको शय्या नपाउने अवस्था भएको बताए । उपत्यकामा पछिल्लो समयमा चुनौती अझै थपिरहेको उनको भनाइ छ । सार्वजनिक स्थानमा भीडभाड बढ्नु, मास्कको सही प्रयोग हुन नसक्नुलगायतका हाम्रो व्यवहारका कारण जोखिम बढ्दै गएको उनले औँल्याए ।

धेरै नागरिकले दशैँ, तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा कोरोना बिर्सिएजसरी घरबाहिर निस्कन थालेको उनले बताए । कतिपयले सामान्य रुघाखोकी लाग्नासाथ अस्पताल गएको भन्दै उनले थप लक्षण देखिए मात्रै अस्पताल जान पनि सुझाव दिए । उनले भने, ‘सास फेर्न गाहे हुने, पिसाब फेर्न गाहे हुने वा पिसाब नै नहुने भएमा मात्रै अस्पताल जानुपर्छ ।’

सात जिल्लामा बढी र तीन जिल्लामा शून्य संक्रमित : बुधबारसम्म देशभरका ७७ जिल्लामध्ये सात जिल्लामा संक्रमित पाँच सय बढी छन् भने तीन जिल्लामा शूून्य रहेको छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । त्यस्तै संक्रमितको संख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ र सोललुखुम्बु छन् ।

आईसीयूको संख्या बढाइने : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसियुको सङ्ख्या बढाइने बताएका छन् । आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा मुख्यमन्त्री पौडेलले हाल गम्भीर प्रकृतिका बिरामीहरू देखापर्न थालेकोले आईसीयुको संख्या बढाउनुपर्ने अवस्था आएको बताए ।

पौडेलले प्रदेश सरकारले आइसोलेसन कक्षहरुको निर्माण एवं सञ्चालन गरिरहेको जानकारी दिँदै कोरोना नियन्त्रणका लागि सरकार जिम्मेवार भएर लागेको धरणा राखे । अन्य जिल्लामा संक्रमण कम भए पनि अहिले संघीय राजधानी समेत रहेको काठमाडौँमा कोरोनाबाट थप संकट उत्पन्न हुन सक्नेतर्फ सचेत हुनुपर्ने भन्दै पौडेलले संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेकोमा जोड दिए ।

पौडेलले काठमाडौंको बढ्दो संक्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा क्वारेन्टाइन र आइसोलेसन निर्माण गरी काम गरिरहेको जानकारी दिए । कार्यक्रममा कोरोना संक्रमणका कारण शिक्षा क्षेत्र समस्याग्रस्त बनेको विषयमा छलफल भएको थियो । छलफलका क्रममा समितिका सदस्य जीवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसँग समन्वय र सहकार्य हुने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया